• १२ साउन २०८१, शनिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूतबिच भेटवार्ता

blog

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका बीच भेटवार्ता । तस्बिर :सन्तोष सुवेदी

सन्तोष सुवेदी
कास्की, असोज २३ गते ।
 गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका बिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो समयदेखि मित्रवत् सम्बन्ध रहेको बताउनुभयो ।

गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको भूकम्पपछिको पुनर्निर्माण, विद्यालय निर्माण लगायतका काममा जापान सरकारले गरेको सहयोग स्मरण गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रमा सहकार्यको अपेक्षा गरेको सुनाउनुभयो ।

जापान सरकार र मातहतका दातृसंस्थाले स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको बताउनुहुँदै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको ‘हर्ट हस्पिटल’ बनाउने योजनामा सहकार्य आवश्यक रहेको बताउनुभयो ।

गण्डकी प्रदेशका केही जिल्लाहरू निकै दुर्गम रहेकाले त्यहाँ पूर्वाधार निर्माणमा सहयोगको जरुरी रहेको उहाँले सुनाउनुभयो । प्रदेशसँगको स्रोत साधनले मात्रै सबै काम गर्न सम्भव नभएको र भौगोलिक विकटताले पनि पूर्वाधार निर्माण खर्चिलो भएको उहाँले बताउनुभयो ।

‘‘विभिन्न देश र दातृ निकायहरूको सहकार्यमा प्रदेशभित्र सबै ठाउँमा विकासको गति सँगसँगै लैजानुपर्नेछ । हामी सबै देश र दातृ निकाय सँगको सुमधुर सम्बन्धमा गण्डकी प्रदेशको विकास चाहन्छौँ,’’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

विपद्को सामना गर्दै अघि बढेको जापानबाट नेपालले विपद् पूर्व तयारी र त्यसपछिको पुनर्निर्माण सिक्न आवश्यक रहेको बताउँदै उहाँले भूकम्प, बाढी, पहिरो जस्ता विपद्को क्षेत्रमा सहकार्यको अपेक्षा रहेको उल्लेख गर्नुभयो ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल एक सुन्दर देश र गण्डकी प्रदेश अझै सुन्दर रहेको बताउनुभयो । जापान सरकार र अन्तर्गतका  दातृनिकायले निरन्तर नेपालमा गर्दै आएको सहयोग निरन्तरता पाउने बताउँदै उहाँले गण्डकी प्रदेश सरकारसँग पनि सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । जापान सरकारले पनि नेपालसँग दिगो सम्बन्ध राख्न चाहेको उहाँले सुनाउनुभयो ।

भेटमा स्थानीय जिविकोर्पाजन, खाद्य सुरक्षा, कृषि, ग्रामीण अर्थतन्त्रको विकास र रोजगारी सिर्जना लगायतका विषयमापनि छलफल भएको थियो । भेटघाटमा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, प्रदेश सचिव बद्रीनाथ अधिकारी, निजी सचिव राजेन्द्र क्षेत्री लगायतको उपस्थिति थियो ।