• १३ साउन २०८१, आइतबार

धानमा बेरुवाको प्रकोप, किसान चिन्तित

blog

बाँकेको डुडुवाको कम्दीमा लगाइएको धान खेती । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज २१ गते । बाँके र बर्दियामा लगाइएको धान खेतीमा बेरुवा, खैरे थोप्लो र सेतो झिँगाको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । बाँके र बर्दिया जिल्लालाई हेर्दैआएको कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार बाँके र बर्दियाका केही पालिकामा धानखेतीमा सो समस्या देखिएको हो । 

कृषि ज्ञान केन्द्र नेपालगन्जका बागवानी अधिकृत रामप्रकाश यादवले अहिले आएर धान खेतीमा नयाँ किराको प्रकोप देखिएपछि किसानलाई चिन्तित बनाएको बताउनुभयो । 

उहाँले बाँकेको डुडुवा गाउँपालिकाको कम्दीमा बेरुवा किराको सङ्क्रमण धेरै देखिएका छन् । धानको पातमा बेरुवाको सङ्क्रमण भएपछि लार्भामार्फत धानको पात बेरेर क्षति गरेको यादवको भनाइ छ । यसलाई समयमा नै नियन्त्रण नगरे थप क्षति हुने सम्भावना छ । 

यसैगरी बाली संरक्षण प्रयोगशाला खजुराका प्रमुख उमाशङ्कर पौडेलले बर्दियामा लगाइएको धान खेतीमा खैरे थोप्लो र सेतो झिँगाको प्रकोप देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको गेरुवा गाउँपालिका, ठाकुरबाबा र बाँसगढी नगरपालिकामा खैरे थोप्लो र सेतो झिँगाको समस्या देखिएको छ ।

प्रमुख पौडेलले रोग र किराको समस्या देखिएको स्थानमा रोग नियन्त्रणका उपायबारे किसानलाई जानकारी दिने काम भइरहेको बताउनुभयो । कृषि ज्ञान केन्द्रका अनुसार यसअघि नेपालगन्ज उपमहानगरपालिका आसपास, डुडुवा लगायतका क्षेत्रमा गबारोको समस्या देखिएको थियो ।