रामकृष्ण बोहरा
बागलुङ, वैशाख २८ गते । काठेखोला गाउँपालिका का किसानले उत्पादन गरेका कृषि उपजको संकलन तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले अक्षेते बजारमा कृषि उपज संकलन तथा वितरण केन्द्र निर्माण गरिएको छ । गाउँपालिका र हेफर इन्टरनेशनल नेपाल को साझेदारीमा उक्त केन्द्र निर्माण गरिएको हो ।
६० लाख रुपियाँ लागतमा निर्माण गरिएको संकलन केन्द्रमा काठेखोला गाउँपालिकाको ७० प्रतिशत र हेफर नेपालको ३० प्रतिशत लगानी रहेको छ । २०८१ मंसिर १३ गते सम्झौता गरी एमके ट्रेडर्सले भवन निर्माण गरेको हो । आगामी जेठ १५ गतेभित्र केन्द्र सञ्चालनमा ल्याउने गाउँपालिकाले तयारी गरेको छ ।
अगुवा कृषकहरूको पहलमा बजार व्यवस्थापन समिति गठन गरी केन्द्र सञ्चालन गरिनेछ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारणसँगै सहज बजारीकरणमा समेत केन्द्र प्रभावकारी हुने गाउँपालिकाको अपेक्षा छ ।
बिवाइसी बागलुङको व्यवस्थापन तथा हेफर र काठेखोला गाउँपालिकाको आर्थिक साझेदारीमा सञ्चालित कृषि तथा पशुमा आधारित साना किसान उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत यो केन्द्र निर्माण गरिएको परियोजना संयोजक चुडामणि उपाध्यायले जानकारी दिनुभयो ।
केन्द्रमार्फत दूध, गेडागुडी, फलफूल र तरकारीलगायतका सामग्री संकलन गरी ग्रेडिङ, लेबलिङ र प्याकेजिङपछि बजारीकरण गरिनेछ ।
उहाँका अनुसार केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादनको उचित मूल्य पाउने र बिचौलियाको प्रभाव कम हुने अपेक्षा गरिएको छ ।
उपाध्यायले भन्नुभयो, “संकलन केन्द्रमार्फत सहकारी र व्यापारीसँग सीधा सम्पर्क हुँदा बिचौलियाको भूमिका घट्नेछ र किसानले परिश्रमको उचित मूल्य पाउनेछन् ।”
कार्यक्रमअन्तर्गत किसानलाई कृषि औजार, बीउबिजन वितरण, तालिम, सशक्तीकरण तथा व्यवसायिक योजना निर्माणमा सहयोग हुँदै आएको छ ।
गाउँपालिका अध्यक्ष राजु थापाले गाउँका उत्पादनलाई सहरसम्म पु¥याउन केन्द्र निर्माण गरिएको बताउनुभयो ।
उहाँका अनुसार गाउँमा उत्पादन हुने नाङ्लो, डाली, मकैको भुसाबाट बन्ने सामग्री संकलन गरी ‘काठेखोला कोसेली घर’ सञ्चालन गर्ने तयारी गरिएको छ ।
सभासमारोह तथा मेला–महोत्सवमा अतिथिलाई उपहारस्वरूप स्थानीय उत्पादन प्रयोग गर्दै आयातित वस्तु विस्थापित गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले बाँस, निगालो तथा स्थानीय कच्चा पदार्थबाट बनेका सामग्रीलाई प्रवद्र्धन गर्दै कोसेली घरमार्फत बिक्री गर्ने योजना अघि सारेको छ ।
यसैगरी बाँसको सिन्की, सिस्नोको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवाको क्यान्डी, जुस तथा अचारजस्ता सामग्री पनि कोसेली घरमा राखिनेछ ।
गाउँपालिकाले तरकारी खेती विस्तारका लागि मिनी किट अनुदान कार्यक्रम, चिया, अलैँची, ओखर, टिमुर, आलु र सुन्तला खेतीको पकेट क्षेत्र विकास गर्दै आएको छ ।