शेरबहादुर राई
ओखलढुङ्गा, असोज २१ गते । ओखलढुङ्गामा चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिएको हो ।
असोज २१ गते आइतबारदेखि आगामी मङ्सिर ३ गतेसम्मका लागि सुपथ मूल्यको पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ओखलढुङ्गाका निमित्त शाखा प्रमुख नरेन्द्र शर्माले बताउनुभयो । उक्त पसलमा विशेष गरी चामल सुपथ मूल्यमा पाइने शर्माले जानकारी दिनुभयो । जिरा मसिनो स्टिम चामलमा प्रति केजी सात रुपियाँ छुट दिइने छ । अहिले प्रति केजी ८७ रुपियाँ बजार भाउ रहेको चामल सहुलियतमा ८० रुपियाँको दरले विक्री गर्दा २५ केजीको सहुलियत पसलमा दुई हजार मात्रै पर्ने शाखा प्रमुख शर्माको भनाइ छ ।
खाद्य संस्थानमा सञ्चालन गरिएको सहुलियत मूल्य पसलको प्रभावकारी कार्यान्वयन भए–नभएको विषयमा प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीको मार्फत अनुगमन समेत हुने जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।