अङ्ग्रेजी शब्द हनीको अर्थ मह भन्ने बुझिन्छ भने ट्र्याप भन्नाले जालमा पार्ने भनेर बुझिन्छ । मह जस्तै मिठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्र्यापमा पारिन्छ भने त्यसलाई सामान्य बुझाइमा हनी ट्र्याप भनिन्छ । यो शब्द हेर्दा र सुन्दा जति सरल र सूक्ष्म देखिन्छ त्यति सरल नभई अति नै बृहत् र फराकिलो भएको पाइन्छ । यसलाई नेपाली मर्म अनुसार मह जस्तै गुलियो मायाजालमा पारेर स्वार्थ पूरा गर्ने आपराधिक कार्यसमेत भन्दा फरक पर्दैन ।
हामीले हनी ट्र्याप भन्ने विषय कहाँ प्रयोग भएको छ भनी विगतलाई नियाल्ने हो भने प्रहरीले कुनै घटना वा व्यक्तिलाई अनुसन्धान गर्दा अनुसन्धानको क्रममा प्रमाण सङ्कलन गर्नका निमित्त शङ्कास्पद व्यक्तिलाई कुनै किसिमको प्रलोभन देखाई हनी ट्र्यापमा पारेको पाइन्छ । त्यस्तै गरी राजनीतिज्ञहरूले आफ्नो स्वार्थ अनुरूपको राजनीतिक लाभ लिनको लागि कसैलाई परिपञ्चमा पार्नु परेको खण्डमा यसको प्रयोग गरेको पाइन्छ । हाल आएर देशको परिस्थिति, सामाजिक कुरीति, महँगाइ, कमजोर आर्थिक हैसियत, साक्षरताको कमीको कारण छिट्टै सजिलो तरिकाले आर्थिक आम्दानी गर्ने हेतु हनी ट्र्याप गर्ने प्रविधि बढेको छ । विदेशतिर नियाल्ने हो भने स्क्यामरले राम्रो जागिर दिलाइदिने नाउँमा, राम्रो घर वा कोठा खोजिदिने नाउँमा, घरमै बसी–बसी सजिलो तरिकाले आम्दानी गराइदिने नाउँमा, भारी रकमको चिठ्ठा पारिदिएको भन्ने बहानामा यसलाई प्रयोग गरेको पाइन्छ । हामीकहाँ कसैलाई अनैतिक वा अवैध यौन व्यवहारमा फसाएर आर्थिक लाभ लिनका लागि यसको प्रयोग भएको पाइन्छ ।
अनुचित लाभ लिनका लागि सामाजिक सञ्जालका माध्यमले कुनै व्यक्तिको गोप्य रूपमा सम्पूर्ण जानकारी सङ्कलन गर्दछन् । सङ्कलन गरेको जानकारी अनुरूप कस्तो व्यक्तिलाई जालमा फसाउने भनेर अनौपचारिक योजना बनाउँछन् । विशेष गरी बढी सम्पन्न भई आर्थिक रूपमा बलियो भएका र पारिवारिक बन्धनमा परेका विवाहित व्यक्तिहरू उनीहरूको छनोटमा पर्दछन् । यी कार्य गर्नका लागि केवल एक मात्र व्यक्ति नभई एकै सङ्गठनमा विभिन्न थरीका व्यक्तिहरूको मिलेमतो रहेको पाइन्छ । भित्री रूपमा काम गर्नका लागि जे–जस्ता व्यक्तिहरू समावेश भए पनि बाहिरी रूपमा देखा पर्ने व्यक्ति भने रूप–रङमा निकै नै लोभ लाग्दा, मनमोहक नै हुन्छन् । ती सङ्गठित व्यक्तिले परिचालन गरेको हनी–सुन्दर व्यक्तिले प्रारम्भमा सामाजिक सञ्जालकै माध्यमबाट उनीहरूको छनोटमा परेको अपरिचित व्यक्तिसँग साथी बनाउने बहाना गर्दै साथीको नाताबाट सम्बन्ध अगाडि बढाउँछ । साथीको रूपमा अगाडि बढाएको सम्बन्धलाई बिस्तारै प्रेममा परिणत गर्दछ र सो प्रेम सम्बन्धलाई प्रगाढ बनाउने नाउँमा शारीरिक सम्बन्धको प्रलोभन देखाई बिस्तारै शारीरिक सम्बन्ध कायम राख्छ । तत्पश्चात् उक्त व्यक्ति ट्र्यापमा परेको छ भनी ढुक्क भएर उनीहरूबिच भएको नाटकी प्रेमको माध्यमबाट बन्धनमा पारेको व्यक्तिलाई ब्ल्याकमेल सुरु गर्दछन् र उनीहरूबिच भएको प्रेम सम्बन्ध अन्ततः आर्थिक कारोबारद्वारा समाप्त गर्दछ ।
हनी ट्र्याप गर्ने व्यक्तिले आर्थिक कारोबारको विषयलाई अगाडि बढाउनका निमित्त आफ्नो पारिवारिक नातागोताका व्यक्ति हुन् भनी अन्य सदस्यलाई समावेश गरेर पैसाको सौदाबाजी गर्ने गर्दछन् । पैसाको सौदाबाजी गर्दा दुई जनाबिच भएको वार्तालाप, कतै होटल वा कहीँ बसेको भए त्यसको अडियो तथा भिडियो रेकर्ड गरी राखेको छ भन्दै तर्साउँछन् ।
उनीहरूको मागबमोजिमको कार्य नगरेमा वा मागेको रकम नदिएमा प्रहरीमा जाने धम्की दिन्छन् । प्रहरीलाई सम्पूर्ण प्रमाण पेस गरी जबरजस्ती करणीको मुद्दा लगाएर जीवनभर कारागारमा कुहाइदिने अनि पारिवारिक जीवनलाई समेत तहसनहस बनाइदिने भनी नकारात्मक परिणामहरूको धम्की दिन्छन् । त्यसैले छिट्टै निर्णय गरी पैसा दिनु भनी दबाब दिन्छन् । त्यसरी दबाबका साथै धाकधम्की आइसकेपछि ट्र्यापमा पर्ने व्यक्ति आफ्नो पारिवारिक जीवन बचाउन र आफ्नो नाजायज तथा गोप्य सम्बन्धबाट छुटकारा पाउनका निमित्त उनीहरूले बोलेबमोजिमको रकम तिर्न तयार भएको पाइन्छ ।
गएको साउन २८ गते एक अनलाइन समाचारले एउटा समाचार दिएको थियो । समाचार अनुसार भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा एक जना महिलालाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । उक्त मुद्दामा महिलाले आफू अविवाहित भएको भनी विवाह गर्ने नाटक गरेकी थिइन् । ती महिलाले पहिला नै चार वटा यस्तै नाटकीय विवाह गरिसकेको भनी उनका श्रीमान्ले पत्ता लगाएका रहेछन् । विवाहको समयमा केटाले २५ तोला सुन र करिब १५ लाख रुपियाँ खर्च पनि गरेका रहेछन् । विवाहपश्चात् ससुरा र बुढाको श्रीसम्पत्ति उनले आफ्नो बनाइछन् ।
त्यसपछि केही सम्पत्ति आफ्नो ऋण तिर्न भनी बेच्न लगाएर बाँकी रहेको रकम आफ्नो हातमा पारी उनी जापान गइछन् अनि श्रीमान्लाई डिभोर्स गर्न दबाब दिइछन् । त्यसपछि उनको श्रीमान्ले उनीविरुद्ध भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता गराएका रहेछन् । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट ती महिला कसुरदार होइनन् भन्न नसकिने भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । यस अवस्थामा उनी त्यस आदेशलाई नमिलेको भनी विभिन्न तहको अदालत पुगे पनि सोही आदेश सदर भएको छ । त्यसपश्चात् उनी थुनामा नै बस्न बाध्य भएकी रहिछन् । आफू थुनाबाट बाहिर निस्कन नपाएपछि आफूउपर मुद्दा दिई थुनाउने श्रीमान्लाई वैवाहिक बलात्कारको आरोप लगाई मुद्दा दायर गरिएको थियो । त्यस्तै गरी, जिल्ला प्रहरी परिसर ललितपुरले यही गएको साउन महिनामा हनी ट्र्यापको उजुरीकै कारण चार जना व्यक्ति समातेको समाचार आएको थियो ।
वास्तवमा यस्ता प्रकृतिका घटना राजधानीमा मात्र नभई नेपालको विभिन्न जिल्लामा भइरहेको पाइन्छ । यसरी ठगी गर्न नहुने भनी मुलुकी अपराध संहिता २०७४ ले विभिन्न कानुनी प्रावधानको व्यवस्था गरेको छ । जस्तै– मुलुकी अपराध संहिता २०७४ दफा २५३ ले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने भनेको छ । आपराधिक लाभ (एक्सटर्सन) भनेको कसैले कुनै व्यक्तिलाई निजको वा अरू कसैको कुनै क्षति पु¥याउने डर–त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरू कसैका लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको भनिन्छ भनी सोही दफामा परिभाषित गरेको छ । दफा २५३(क) मा आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अङ्गभङ्ग गर्ने वा गम्भीर चोट पु¥याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र ७० हजार रुपियाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ । २५३(ख) मा कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पु¥याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर–त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र तीस हजार रुपियाँसम्म जरिबाना र माथि उल्लिखित (क) र (ख) मा लेखिएबाहेक अन्य अवस्थामा आपराधिक लाभ लिएमा एक वर्षसम्म कैद र दस हजार रुपियाँसम्म जरिबाना भनी व्यवस्था गरेको छ ।
कानुनमा विभिन्न थरीका व्यवस्था भए पनि गुलियो मायाजालमा पारेर अपराध गर्ने समूह जताततै तीव्र रूपमा फैलिरहेको देखिन्छ । त्यसको कारण के हो भन्ने बारेमा कसैको ध्यान आकर्षण भएको देखिन्न । समस्याको किनारा लगाउनका लागि वास्तवमा हामी समस्याको जरासम्म पुग्नुपर्ने आवश्यकता हुन्छ । यस विषयमा पीडितहरूको मनोविज्ञान हेर्दा उनीहरू कानुनद्वारा नै पीडित भएको भन्ने बुझाइ रहेको पाइन्छ । किनभने बारम्बार सबै जसो पीडितलाई जबरजस्ती करणी जस्तो संवेदनशील मुद्दाको आरोप लगाइदिने भन्ने धम्की र सो विषयमा पीडितले उजुरी दिन जाँदा आपराधिक कार्य कुन पक्षबाट भयो भन्ने मानक सम्बन्धित कार्यालयबाट नगरी उल्टै आफैँलाई पक्रेर कारबाही गर्ने हो कि भन्ने त्रासका कारण पीडितहरू कानुनको दायरामा आउन नखोजेको पाइन्छ । त्यस कारण जाहेरी लिने निकायदेखि लिएर कानुनको परिपालन गराउने निकायहरूले कुनै पनि महिला–पुरुषमा भेदभाव नराखी सबै खाले व्यक्तिको गुनासोलाई लिएर कारबाहीको दायरालाई फराकिलो बनाएमा समाजमा समयसापेक्ष भइरहने यस्ता किसिमका अपराध नियन्त्रण गर्न सहज हुन सक्छ ।