नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख २८ गते । बागलुङको निसीखोला र ढोरपाटनका १८ घरबास स्थापना र स्तरोन्नतीका लागि सहयोग गरिएको छ । घरबासमार्फत पर्यटक भित्र्याउनका लागि बागलुङको ढोरपाटन र निसीखोलाका १८ घरबास स्थापना तथा स्तरोन्नतीका लागि ४५ लाख रुपियाँ अनुदान सहयोग प्रदान गरिएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकाको पाखाथर सामुदायिक घरबासलाई विस्तार गर्न र निसीखोला गाउँपालिकाको बुढाथोक गाउँमा बुढाथोक नाखा सामुदायिक घरबास सञ्चालनमा ल्याउन प्रति घरबास दुई लाख ५० हजार रुपियाँका दरले सहयोग गरिएको हो ।
पर्यटन प्रवर्धनका लागि निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा विवाईसी बागलुङद्वारा सञ्चालित दिगो पर्यटन प्रवर्धन परियोजनाले अहिलेसम्म १८ घरबासलाई स्थापना र स्तरोन्नतीका सहयोग गरेको हो ।
युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा पर्यटकमैत्री घरबास सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ३० घरबास स्थापना र विस्तार गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म १८ घरबासलाई अनुदान प्रदान गरिएको विवाईसी बागलुङको दिगो पर्यटन प्रवर्धन परियोजनाका टिम लिडर अमर थापाले जानकारी दिनुभयो ।
ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० घरबास व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने योजना अनुसार अहिले निसीखोलाको चार घरमा बुढाथोक नाखा सामुदायिक घरबास र ढोरपाटन नगरपालिकास्थित पाखाथर सामुदायिक घरबासस्थित १४ घरलाई घरबास सञ्चालनका लागि आवश्यक सामाग्री खरिदका लागि सहयोग प्रदान गरिएको थापाले बताउनुभयो ।
हाल सञ्चालनमा रहेका घरबासलाई व्यवस्थित गराउने र नयाँ घरबास सञ्चालनमा ल्याउन उत्प्रेरणा गर्ने परियोजनाको लक्ष्य रहेको छ । घरबासमा आवश्यक पर्ने लत्ताकपडादेखि विस्तारा, कुर्सी, टेबल, ग्यास चुलो, सिलिण्डर, थाल, सरसफाई र कचौरादेखि विभिन्न ४० प्रकारका सामाग्री खरिदका लागि एक घरलाई दुई लाख ५० हजारका दरले सहयोग गरिएको हो । उनिहरुलाई उद्यमशिलता तथा घरबास सञ्चालनको तालिम समेत प्रदान गरिएको छ ।
घसबास स्तरोन्नतीमा आवश्यक सामग्री खरिदका लागि प्राप्त अनुदानले स्थानीय महिलाहरु घरबास सञ्चालनका लागि अग्रसर भएको पाखाथर सामुदायिक घरबासका अध्यक्ष पुनम बुढा मगरले जानकारी दिनुभयो । घरबास पहिलै दर्ता भएपनि दिगो पर्यटन प्रवर्धन परियोजनामार्फत दुई घरबासबाट विस्तार भएर १४ घरमा पुगेको बुढा मगरको भनाइ छ ।
घरबासका कारण घाँस दाउरा र पशु चौपायमा मात्रै सिमित यहाँका महिलाहरु घरबासमार्फत आय आर्जनमा जुट्न थालेको ढोरपाटनकै स्थानीय महिला चन्दा अदैले जानकारी दिनुभयो । युवालाई होटल म्यानेजमेन्ट, टुरिस्ट गाइड, बेकरी कफी बनाउने, आलु चिप्स बनाउन सहकारीमार्फत प्रशोधन केन्द्र निर्माण, ढोरपाटनमा सिकार आरक्षमा पर्यटक सूचना केन्द्र निर्माण लगायतका काम भइरहेको दिगो पर्यटन प्रवर्धन परियोजनाले जनाएको छ ।