पूर्वमा सप्तरीदेखि पश्चिममा पर्सासम्मका आठ जिल्लालाई मधेश प्रदेश कायम गरिएको छ । भौगोलिक हिसाबले समतल भू–भागमा अवस्थित मधेश प्रदेश आर्थिक दृष्टिले समृद्ध प्रदेशमा विकसित हुन सक्ने सम्भावित प्रदेशका रूपमा रहेको छ तर मधेश प्रदेशको आर्थिक अवस्था सुखद छैन । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेशको आर्थिक वृद्धिदर मात्र १.६९ प्रतिशत रहने अनुमान छ ।
अपार आर्थिक सम्भावना भएर पनि यो प्रदेशले अपेक्षित आर्थिक विकास गर्न सकेको छैन । यो प्रदेश सामाजिक विकासमा समेत सबैभन्दा पछाडि रहेको छ । यस प्रदेशमा मानव विकासको सूचकाङ्क कमजोर छ । साक्षरता दर सबैभन्दा कम ६३.५ प्रतिशत मात्रै रहेको छ । मधेश प्रदेशमा शौचालयको सुविधा नभएको घरपरिवारको सङ्ख्या पनि सर्वाधिक एक लाख ३९ हजार २१० छ । प्रदेशगत रूपमा बालबालिकामा हल्का र मध्यम खालको रक्तअल्पता (एनिमिया) को दर मधेश प्रदेशमा सबैभन्दा बढी छ ।
तथ्याङ्क हेर्दा शिक्षा र स्वास्थ्य जस्ता विषयमा समेत मधेश प्रदेश अत्यन्तै कमजोर रहेको देखिन्छ । समग्रमा भन्दा यो प्रदेशले सम्भावना भएर पनि विकास गर्न सकेको छैन । यस प्रदेशमा विकासको गति अत्यन्त सुस्त रहेको छ । यस प्रदेशका बासिन्दाको जीवनस्तर जुन स्तरमा उठ्नुपर्ने हो, त्यो स्तरमा उठ्न सकेको छैन । केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार आव २०७९/८० मा मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ८७५ डलर रहने अनुमान छ । मधेश प्रदेशको प्रतिव्यक्ति आय सातै वटा प्रदेशको तुलनामा सबैभन्दा कम रहेको छ । गरिबीको तीव्रता सबैभन्दा बढी मधेश प्रदेशमै छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आव २०७९/८० मा मधेश प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३५.२ प्रतिशत, ११.३ प्रतिशत र ५३.५ प्रतिशत रहने अनुमान रहेको छ । यस तथ्याङ्कले कृषिमाथिको निर्भरता कम हुँदै गएको र सेवा क्षेत्रको आकार बढ्दै गएको देखाएको छ तर उद्योग क्षेत्रको अवस्था सन्तोषजनक नरहेको देखाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा सात वटै प्रदेशमध्ये मधेश प्रदेशबाट सबैभन्दा धेरै उजुरी दर्ता हुने गरेको पाइएको छ । आव २०७८/७९ मा मधेश प्रदेशमा ५३ करोड ३४ लाख ७४ हजार बेरुजु देखिएको छ । मधेश प्रदेशका स्थानीय तहमा आव २०७८/७९ मा दुई अर्ब १३ करोड ७२ लाख एक हजार अनियमितता भएको देखिएको छ । तसर्थ मधेश प्रदेशमा सुशासन कायम गर्नु र भ्रष्टाचार नियन्त्रण गर्नु प्रमुख चुनौतीका रूपमा रहेको छ तर यसतर्फ प्रदेश सरकार र स्थानीय तहहरूले खासै ध्यान दिन सकेको देखिँदैन । यसमा सुधारको खाँचो छ, त्यसतर्फ खासै ध्यान दिएको देखिँदैन ।
यस प्रदेशमा चुरे क्षेत्र पनि छ । जहाँ जडीबुटी, जङ्गलदेखि पानीको अपार स्रोत छन् । सहरी क्षेत्रका सडकमा जताततै थुप्रिएको फोहोर व्यवस्थापन गरेर वातावरणीय प्रदूषणलाई नियन्त्रण गरी प्रदेशलाई सुन्दर र आकर्षक प्रदेशका रूपमा विकास गर्न सकिन्छ । मधेश प्रदेशमा धार्मिक तथा सांस्कृतिक पर्यटनको पनि राम्रो सम्भावना रहेको छ । मधेश प्रदेशमा रहेका सिम्रौनगढ, गढीमाई, जलेश्वर, जनकपुर, सल्हेश फूलबारी र छिन्नमस्ता जस्ता ऐतिहासिक एवं धार्मिक महìवका तीर्थस्थललाई धार्मिक तथा सांस्कृतिक पर्यटनका रूपमा विकास गर्न सकिन्छ ।
मधेश प्रदेशमा अवस्थित जनकपुर, राजविराज र वीरगन्ज जस्ता ठुला र व्यापारिक सहरलाई शैक्षिक र स्वास्थ्य उपचार हबका रूपमा विकास गर्न सकिन्छ । स्तरीय स्वास्थ्य सेवा विस्तार र शैक्षिक गुणस्तरमा सुधार गर्न सके मधेश प्रदेशले सीमावर्ती भारतीय बिरामी र विद्यार्थीलाई सजिलै आकर्षित गर्न सक्ने अत्यन्त सम्भावना रहेको छ । यहाँको उर्वर भूमि कृषिका लागि त्यतिकै उपयुक्त छ । तरकारी र फलफूलदेखि प्रमुख खाद्यान्न बालीहरू धान, मकै, गहुँलगायत दलहन र तेलहन बालीहरूसमेत प्रशस्त मात्रामा उत्पादन गर्न सकिन्छ । प्रदेश सरकारको आर्थिक सर्वेक्षण अनुसार यो प्रदेशमा नेपालकै सबैभन्दा बढी सिञ्चित जमिन २८.६८ प्रतिशत रहेको देखिन्छ । सामूहिक वा सहकारी कृषि प्रणाली अवलम्बन गरी सम्पूर्ण कृषियोग्य जग्गालाई उपयोगमा ल्याई उत्पादन अभिवृद्धि गर्न सकिन्छ । मधेश प्रदेश समतल भूमिमा रहेकाले सतह र भूमिगत जलस्रोत प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गरेर सिँचाइको विकास र विस्तार गरी खाद्यान्न बाली, माछापालन तथा फलफूलका नयाँ नयाँ जातहरूको विकास गर्दै कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिन्छ । कृषि उत्पादनमा आत्मनिर्भर बन्दै कृषिबाटै जनताको जीवनस्तर उकास्न सकिन्छ ।
मधेश प्रदेशबाट वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या धेरै रहेकाले पुँजी, प्रेरणा, आत्मविश्वास र उन्नत प्रविधिसहित स्वदेश फर्किएका युवालाई कृषि व्यवसायमा आकर्षित गर्न सक्नु पर्छ । कृषिलाई प्रविधिमैत्री, व्यावसायिक, उच्च प्रतिफलदायी एवं मर्यादित पेसाका रूपमा विकास गरी युवा जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्न सकिन्छ । यसले रोजगारी वृद्धि गर्नसमेत मद्दत पु¥याउने छ ।
औद्योगिक कलकारखानाका लागि मधेश प्रदेश अत्यन्त उपयुक्त स्थल हो । समतल भूभाग रहेकाले यातायात तथा औद्योगिक पूर्वाधार निर्माण गर्न तुलनात्मक सहजता रहेको, मुलुकको कुल जनसङ्ख्याको करिब २०.९७ प्रतिशत जनसङ्ख्या बसोबास गर्ने भएकाले औद्योगिक उत्पादन र खपतका लागि बजारका साथै श्रमबजारको समेत लाभ रहेको, कृषियोग्य भूमिको प्रचुरता तथा वैदेशिक व्यापारका लागि प्रस्थान बिन्दुसमेत भएको कारणले मधेश प्रदेशमा कृषिका अतिरिक्त औद्योगिक क्षेत्रको विकास र आर्थिक क्रियाकलाप वृद्धिको उत्तिकै सम्भावना रहेको छ ।
परम्परागत सिपमा आधारित धार्मिक एवं सांस्कृतिक महत्वका वस्तुहरूमा आधारित उद्योगहरूलाई प्रवर्धन गरी स्थानीय जनताको आयआर्जन बढाउन तथा राजस्व परिचालनलाई फराकिलो बनाउन सकिन्छ । मुलुकको सबभन्दा बढी जनघनत्व भएकाले सस्तो श्रम आपूर्ति हुने हुँदा मधेश प्रदेशमा उद्योगहरू स्थापना गरी उत्पादन बढाउन सकिन्छ । उत्पादित वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमता बढ्न गई कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढ्ने देखिन्छ ।
मधेश प्रदेशमा पूर्व–पश्चिम राजमार्ग र सो मार्गबाट उत्तर दक्षिण जोड्ने फराकिला सडकलगायत सङ्घीय राजधानी काठमाडौँ तथा पहाडी जिल्लाहरू जोड्ने सडक सञ्जाल रहेकाले यहाँ दुध, माछा, मासु र अन्न जस्ता कृषिमा आधारित उद्योगहरू स्थापना गर्नु उपयुक्त हुने देखिन्छ । यहाँ उद्योग, कलकारखानाहरूको स्थापना गर्न सके बर्सेनि थपिने लाखौँ श्रमिकका लागि मुलुकभित्रै रोजगारीका अवसर सजिलै सिर्जना गर्न सकिन्छ । यसरी नै मधेश प्रदेशलाई समृद्ध बनाउन सकिन्छ ।