• १२ मंसिर २०८१, बुधबार

एसियाली खेलकुद : भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा

blog

काठमाडौ, असोज १९ गते । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेको छ ।

चीनको हाङझाउमा आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा भारत बङ्गलादेशलाई नौ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । बङ्गलादेशले दिएको ९७ रनको लक्ष्यलाई भारतले नौ दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । 

भारतका लागि तिलक बर्माले अविजित ५५ रनको योगदान दिनुभयो । उहाँले २६ बल खेल्दै छ छक्का र दुई चौकाको मद्दतमा अविजित ५५ रनको योगदान दिनुभएको हो । त्यस्तै कप्तान रुतुराज गायकवाडले ४० रन बनाउनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बङ्गलादेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि जाकेर अलिले सर्वाधिक २४ रनको योगदान दिए भने प्रभेज हास्साइन इमोनले २३ रन बनाउनुभयो । त्यस्तै राकिबुल हसनले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ भारतका साई किशोरले सर्वाधिक तीन विकेट लिए भने वास्ङिटन सुन्दरले दुई विकेट लिनुभयो । त्यस्तै, अरसदिप सिंह, तिलक बर्मा, रवि विस्नुइले समान एक/एक विकेट लिनुभयो । यसअघि क्वाटरफाइनल खेलमा भारत नेपाललाई २३ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । रासस