• ११ पुस २०८१, बिहिबार

सरोकारवालाको मागलाई सम्बोधन हुनेगरी विद्यालय शिक्षा विधेयक अघि बढाउनुपर्छ : कांग्रेसका प्रमुख सचेतक

blog

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शिक्षा विधेयकमाथि धारणा राख्दै सांसद रमेश लेखक । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, असोज १९ गते । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरोकारवालाहरुको चिन्ता र चासोलाई समेटेर विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै उहाँले संविधानसम्मत ढंगले सरोकारवालाहरुको मागलाई सम्बोधन हुनेगरी सो विधेयकलाई अघि बढाउनुपर्ने बताउनु भएको हो ।

प्रमुख सचेतक लेखकले सो विधेयकलाई सहमतीकै आधारमा अघि बढाउन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । सरकारले सरोकारवालाहरुसँग सम्झौता गरेर सो विधेयक ल्याएकाले त्यसलाई सहमतीकै आधारमा अघि बढाउन उपयुक्त हुने उहाँको तर्क थियो ।

‘‘सरकारले यो विधेयकलाई पर्याप्त रुपले छलफल गरेर ल्याएको छ भन्ने कुरामा हामी विश्वास गरौं । किनभने भर्खरै सम्बन्धित सरोकारवालाहरुको आन्दोलनलाई पनि सरकारले सहमतिमा टुङ्ग्याएको छ । विधेयक प्रस्तुत भएको छ । त्यसो भएको हुनाले यो विधेयकको आवश्यकता पनि धेरै ज्यादा भएको हुनाले सरोकारवाला सबैको विचारलाई समेटेर र आम नागरिकका पनि धारणाहरु बुझेर सदनले नै यसलाई अगाडि बढाउन सक्ने भएकाले यो सदनबाटै अगाडि बढाएर चाडो यसलाई किनारामा पु¥याउन उचित हुन्छ भन्ने मलाई लाग्छ ।,’’ प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘‘अर्को कुरा भनेको विभिन्न कोणबाट यो विधेयशबारे प्रश्नहरु उठेका छन् । यो विधेयक संविधानको भावना अनुरुप बन्नुपर्छ भन्ने कुरा पनि उठेको छ । र, यो विधेयकमा सरोकारवालाहरुको धेरै चिन्ता, चासो उठेका छन् । यो विधेयकलाई संविधान मूल्य, मान्यता र भावना अनुसार सरोकारवालाहरुको सबै चिन्ता र चासोलाई समेटेर सहमतीका साथ यो विधेयकलाई निष्कर्षमा पुर्‍याउनु पर्छ ।’’

प्रमुख सचेतक लेखकले सो विधेयक पारित गराउन पनि ढिलाई गर्न नहुने बताउनुभयो ।