काठमाडौँ, असोज १९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ठुलो परिमाणको सुन प्रकरणमा अनुसन्धान गर्न गठित आयोगलाई अदालतसहरको अधिकार रहेकाले अनुसन्धानमा कोही कसैको दबाब र प्रभाव नहुने जनाएको छ ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको कामकारबाहीबारे जानकारी गराउन बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष डिल्लीराज आचार्यले तीन महिनाभित्र अनुसन्धान सम्पन्न गरेर सुनको अवैध (पैठारी) तस्करीको नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेस गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “तस्करी भएको सुन प्रकरणबारे आयोगले बुधबारदेखि कार्य प्रारम्भ गरिसकेको छ । ठुलो परिमाणमा बरामद भएको सुनको विषयमा अनुसन्धान गर्न गठित आयोगलाई अदालतसरहको अधिकार प्राप्त भएकाले कसैको दबाब र प्रभावमा नरही सरकारले दिएको जिम्मेवारी पूरा हुन्छ ।”
अध्यक्ष आचार्यले यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हालसम्म गरेका अनुसन्धानलाई स्रोत साधनका रूपमा लिँदै विचाराधीन मुद्दा र जारी अनुसन्धानका विषयमा समेत अध्ययन अनुसन्धान हुने जानकारी दिनुभयो । उहाँले सुन तस्करी प्रकरणको अनुुसन्धानमा बुझ्नुपर्ने र अनुसन्धानमा तान्नुपर्ने सबैलाई वारेन्ट काटेर भए पनि अनुसन्धान हुने बताउनुभयो ।
पूर्वन्यायाधीशसमेत रहनुभएका आचार्यले आयोगमा गृह मन्त्रालयमातहतका पाँच जना प्रशासकीय अधिकृतसमेत अनुसन्धानमा संलग्न हुने उल्लेख गर्नुभयो । “अनुसन्धानका क्रममा सुन ल्याइएका ठाउँमा जान आवश्यक परे आयोगको टोली जान सक्छ,” उहाँले भन्नुभयो, “नेपाललाई ट्रान्जिट बनाएर भइरहेको सुन तस्करी र निकासीबारे आयोगले जाँचबुझ गर्छ ।”
गृह मन्त्रालयको पुरानो भवन परिसरमा कार्यालय राखेर काम सुरु गरेको आयोगले इलेक्ट्रोनिक सिगरेट (भेप्स) र साउन २ गते ‘ब्रेक सु’ मार्फत गरिएको सुन तस्करीलगायतका अन्य तस्करीजन्य विषयमा तथ्यगत जानकारी र सुझावका लागि सञ्चारमाध्यमबाट सूचना प्रकाशन गर्ने योजना बनाएको जनाएको छ । यस्तै आयोगले मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधारको विषयमा अध्ययन गर्ने तयारीमा रहेको जनाएको छ ।
राजस्व अनुसन्धान विभागले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको अवैध सुन विषयको छानबिन गर्न सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । आयोगका सदस्यमा पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा रहनुभएको छ ।
‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको उक्त सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम पाइएको थियो । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको उक्त सुन प्रकरणको प्रारम्भमा विभाग र पछि सरकारको निर्देशनपछि सिआइबीले अनुसन्धान गरेको थियो । सिआइबीले अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्न देखिएका व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरिसकेको छ ।