• १३ साउन २०८१, आइतबार

कुखुरा पालेर मनग्य कमाउँदै सेवानिवृत्त सैनिक

blog

कृषि पेसामा रमाउनुभएका कृषक वसन्तबहादुर खड्का । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ असोज १५ गते । नेपाली सेनाबाट सेवा निवृत्त एक जनाले लेयर्स कुुखुरा पालेर अण्डा बिक्री गरी मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । आम्दानी गर्नेमा भानु नगरपालिका–६ मूलपानीका वसन्तबहादुर खड्का हुनुहुन्छ ।

अण्डा उत्पादन गरी उहाँले आफ्नो दुई छोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुभएको छ । एक छोरीलाई डाक्टर र अर्की छोरीलाई इन्जिनियरिङ पढाउनुभएका उहाँले धेरै युवाहरु गाउँमा जमिन बाँझो राखेर विदेश गए पनि आफू पेसाबाट सन्तुष्ट रहेको बताउनुभएको छ ।  

बिहान ५ बजे उठेर सङ्कलन भएका अण्डाहरु क्रेटमा राखेर मिलाउने र कुखुरालाई दानापानी खुवाउने, स्कुटरमा राखेर तनहुँको सदरमुकाम दमौलीमा अण्डा बेच्ने उहाँको दैनिकी छ । पेन्सन पाकेपछि थुप्रै मानिसहरु गफ गरेर र आराम गरेर समय खेर फाल्छन् । तर खड्का बिहान सबैरेदेखि साँझसम्म कृषिकर्ममा बिताउनुहुन्छ । 

यो दैनिकीप्रति आफूलाई गर्व लागेको उहाँको भनाइ छ । पेन्सनको रकम र नपुगे जग्गा बिक्री गरेर आफ्ना सन्तानलाई अध्ययनको खर्च जोहो गर्न सक्ने हुँदा परिश्रम गर्न बाध्यता छैन, तर कृषिकर्ममै रमाएको उहाँले बताउनुभयो ।   खड्काले तीन हजार अण्डा उत्पादन गर्ने कुखुरा पाल्नुभएको छ । 

नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिनुभएका खडकाले तीन हजार कुखुराबाट मासिक करिब नौ लाखको अण्डा बिक्री गरी मासिक एक लाख बचत गर्दै आउनुभएका छ । 

सरकारले दाना तथा अनुदान दिने हो भने वास्ताविक कृषक लाभान्वित हुने खड्काले बताउनुभयो । कागजपत्र मिलाएर अनुदान लिने र फर्म बन्द गर्दा राज्यको लगानी खेर गइरहेकाले अनुदान दिने तरिका परिवर्तन गर्नु राम्रो हुने उहाँले बताउनुभयो । 

फर्ममा एक करोड रुपियाँ लगानी गरेको खड्काले जानकारी दिनुभयो । सरकारले मकैखेतीलाई प्रोत्साहन गरेर गाउँमा बाँझो जामिन खेती गर्ने हो भने दानामा आत्मनिर्भर बन्न टेवा पुग्ने खड्काको भनाइ छ ।  

सरकारले सर्वसुलभ रुपमा ऋणको व्यवस्था गर्ने उत्पादित सामानको उचित मूल्यमा बिक्रीको व्यवस्थापन गर्न सरकारले ध्यान दिने हो भने जमिन बाँझो हुने क्रम रोकिने, देश खाद्यान्नमा आत्मनिर्भर र युवाहरुले स्वदेशमै रोजगारी पाउने उहाँको भनाइ छ । 

खड्काले ३५ रोपनी जमिनमा कृषिकर्म गर्नुभएको छ । पाँच रोपनी जमिनमा कुखुराको लागि संरचना बनाउनुभएको छ । १८ वर्ष नेपाली सेनाको जागिरपछि उहाँले कृषि पेसामा लाग्नु उपयुक्त भएको बताउनुभयो ।