• २३ कात्तिक २०८२, आइतबार

बाइपोलार डिस्अर्डरको पीडा

blog

जीवन सरल रूपमा बिताउन मानिसमा मानसिक स्वास्थ्यको अहम् भूमिका रहन्छ तर केही मानिस विभिन्न किसिमका कडा मानसिक रोगबाट प्रताडित बन्छन् । त्यसमध्येको एक हो बाइपोलार एफेक्टिभ डिस्अर्डर । 

यो रोगले मानिसलाई निकै पीडा दिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२१ मा तीन करोड ७० लाख मानिस यस रोगले पीडित थिए । बाइपोलार रोग भनेको बिरामी कहिले अत्यन्त खुसी हुने त कहिले अत्यन्त दुःखी हुने अवस्था हो । यसलाई मुड डिस्अर्डर पनि भनिन्छ । 

यसमा रोगमा बिरामी स्थिर मनस्थितिमा रहन सक्दैन । बिरामी कहिले मेनिया त कहिले डिप्रेसनबाट पीडित हुन्छ । यसमा बिरामीको व्यक्तित्व परिवर्तन भइरहन्छ । यो एक दीर्घरोग हो र उपचार नगरे मानिस मानसिक रूपमा चरम विक्षिप्त बन्न सक्छ ।

टाइप वान बाइपोलार डिस्अर्डर वा मेनियाको बेला मानिस अत्यधिक उत्साहित हुन्छ । ऊ धेरै महत्वाकाङ्क्षी बन्छ । उसमा अति धेरै मानसिक र शारीरिक बल उत्पन्न हुन्छ । उसमा जे काम पनि गर्न सक्छु भन्ने अन्धो आत्मबल विकास भएर आफू श्रेष्ठ मान्छे हो भन्ने भ्रम जाग्दछ । 

उसले जोखिमयुक्त काम गर्न थाल्छ । उसले यथार्थ धरातल भुल्छ । यो बेलामा ऊ साइकोसिस अवस्थासँग जुधिरहेको हुन्छ । मेनिया पनि सामान्य वा अति उग्र किसिमको हुन सक्छ ।  । हामीले सुनेका वा देखेका छौँ कसैलाई देउता वा हनुमान चढ्छ । यो भनेको उग्र किसिमको मेनिया हो । 

टाइप टु बाइपोलार डिस्अर्डर वा डिप्रेसनको बेला मानिस अति निराश र हतास बन्छ । उसलाई आफ्नो जिन्दगी बेकार लागेर मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ । बाइपोलार डिप्रेसन आत्महत्याको एक प्रमुख कारण हो । यो बेलामा मानिसलाई अरूसँग सङ्गत गरेर मिलेर बस्न अत्यन्त अप्ठेरो हुन्छ । उसलाई केही र कुनै कामप्रति इच्छा लाग्दैन । यो बेलामा मानिस अत्यन्त पीर मानेर रुन्छ । सानो कुरामा पनि पीर मान्छ र धेरै नै आत्तिन्छ । डिप्रेसन पनि मन्द वा कडा किसिमको हुन सक्छ । 

बाइपोलार डिस्अर्डर निम्तनुका कारणमा दिमागमा सेरेटोनिन र डोपामिन जस्ता रसायनको कमी, मस्तिष्कमा विद्युतीय आवेगमा गडबडी, दुर्घटनाबाट मस्तिष्कमा असर, जैविक संरचनामा खोट, वंशाणुगत, अस्वस्थ पारिवारिक वा सामाजिक परिस्थिति, चरम महत्वाकाङ्क्षा, जीवनका विविध आरोह अवरोहमा धेरै असफलता, कसैको मृत्यु वा विछोडको पीडा, क्रूर यातना आदि हुन्छन् । 

मानिस तुरुन्त खुसी त तुरुन्तै निराश हुने, साना साना कुरामा पनि झगडा गर्ने वा रिसाउने, धेरै शङ्का गर्ने, विचलित भएर पढाइ वा जागिर बिचमै छोड्ने, सामान्य जिम्मेवारी पनि लिन नसक्ने, बल वा दिमागको फुर्ती गर्ने, व्यक्तिगत सरसफाइमा कम ध्यान दिने जस्ता यसका लक्षण हुन्छन् । 

यस रोगबाट पीडित प्रायः मानिस आर्थिक क्षेत्रमा अनुत्पादक हुने हुँदा घरको अवस्था कमजोर र दयनीय देखिन्छ । आर्थिक मात्र होइन मानिसको शारीरिक, सामाजिक, घरजम, पढाइ, व्यक्तित्व विकासका पक्ष पनि रुग्ण हुन सक्छन् । पारपाचुके निम्तनुमा यो रोग पनि ठुलो कारक बन्न सक्छ ।

उचित औषधी उपचार र परामर्शबाट यो रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । बाइपोलार डिस्अर्डरको उपचारका लागि लिथियम संसारभर वरदान साबित भएको छ । चिकित्सकले यस रोगमा लिथियम नै चलाउँछन् र योसँगै अन्य सहायक औषधी पनि प्रयोग गर्न सक्छन् । 

यो रोग नियन्त्रणका लागि परिवार, समाज र व्यक्ति स्वयं पनि क्रियाशील बन्नै पर्छ । बिरामीलाई माया र हेरचाह आवश्यकता हुन्छ । यो रोग लागेका मानिसलाई मानसिक दबाब दिनु हुन्न, गाली गर्ने वा अपशब्द बोल्नाले उनीहरूलाई असह्य पीडा हुन्छ र रोग बढ्ने सम्भावना रहन्छ । 

–युवामञ्च