घोराही समाचारदाता
घोराही, असोज १४ गते । जिल्लाको दीर्घकालीन विकासका लागि रणनीतिक योजना बनाउन आवश्यक रहेको जनप्रतिनिधिले बताएका छन् । जिल्लाको समग्र विकासका लागि स्थानीय तहको भूमिका र दीर्घकालीन रणनीतिक योजनासम्बन्धी समन्वयात्मक बैठकमा सहभागी जनप्रतिनिधिले स्थानीय तह पालिकाभन्दा माथि उठेर जिल्लाको समग्र विकासका लागि साझा एजेन्डामा एकताबद्ध भएर लाग्नुपर्ने बताएका हुन्।
घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी दाङ जिल्ला भएकाले जिल्लामा नियमित हवाई सेवा आवश्यक भएको बताउनुभयो। उहाँले घोराही–तुलसीपुर चारलेन सडक निर्माण, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पतालको प्रभावकारी सञ्चालन, खेलकुद मैदान, रात्रिकालीन यातायात सेवा र पयर्टन क्षेत्रको विकासका लागि सामूहिक पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। नगर प्रमुख चौधरीले भन्नुभयो, “आफ्नो पालिका क्षेत्रमा गर्ने विकाससँगसँगै समग्र जिल्लाको विकासलाई माथि उठाउनका लागि १० वटै पालिका एकजुट हुन आवश्यक छ, विकासमा सहकार्य हुनुपर्छ।”
हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रबाट विकास निर्माणका काम नियमित रूपमा गर्दै आए पनि दीर्घकालीन रूपमा असर पार्ने योजनामा जनप्रतिनिधिको सामूहिक पहल आवश्यक रहेको उहाँको भनाइ छ। चौधरीले भन्नुभयो, “हामीले पनि कृत्रिम जलाशय, गाउँलाई सहरसँग जोड्ने सडक कालोपत्रेसँगै कृषि सुधारमा लागिरहेका छौँ। ती कामको प्रचारभन्दा घोराही–तुलसीपुर फोरलेन बाटो किन बनेन भनेर जनप्रतिनिधिले गाली खाने अवस्था छ । त्यसैले हामीबाट हुने ठुला विकास निर्माणका काममा सहकार्य र नहुने काममा सामूहिक दबाब सिर्जना गर्नतर्फ लागौँ ।”
तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले पनि विकास निर्माणका लागि सामूहिक पहल आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “म जनप्रतिनिधिका रूपमा निर्वाचित भएदेखि एयरपोर्टको विकासका लागि निरन्तर काठमाडौँ जाने र क्यानमा गएर दबाब दिने काम गरिरहेको छु तर एक्लै हुने रहेनछ। तपाईं एक्लै आएर हुँदैन, दबाबका लागि पनि जनप्रतिनिधि एक भएर आउन आवश्यक छ भन्नुहुन्छ। दाङका जनप्रतिनिधि कोही नारायणपुर, कोही देउखुरी र कोही तुलसीपुर एयरपोर्ट भनेर विभाजित छौँ। जसले गर्दा भएको एउटा एयरपोर्ट पनि चल्न सक्दैन ।”
दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले जिल्लाको समग्र विकासका लागि पहल नहुने हो भने पालिकामा जति गरे पनि जस पाउने अवस्था नरहेको बताउनुभयो। गाउँपालिका अध्यक्ष गिरीले भन्नुभयो, “हाम्रो आवश्यकता घोराही–तुलसीपुर फोरलेन सडकको छ, नियमित हवाई सेवाको छ। यसका लागि सामूहिक पहल हुन सकेको छैन। जसले गर्दा कहिले चल्ने कहिले बन्द हुने अवस्था छ। सामूहिक पहलबाट एउटा पालिकामा स्वास्थ्य, अर्काे पालिकामा शिक्षा, अर्काेमा पर्यटनलगायतका क्षेत्रको विकास गर्न सकियो भने समग्र दाङवासीलाई फाइदा हुने थियो।”