• २ जेठ २०८२, शुक्रबार

प्रत्येक जनताका घर घर पुगौँ : गृहमन्त्री श्रेष्ठ

blog

काठमाडौँ, असोज १४ गते । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीको तीनमहिने अभियानमा प्रत्येक जनताको घर घरमा पुग्न निर्देशन दिनुभएको छ। माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार काठमाडौँको बूढानीलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यो वा त्यो पार्टी नछुट्याई सबै जनताको घरमा पुग्न अनुरोध गर्नुभयो। 

उहाँले पार्टी नेताहरू कार्यकर्ताका घरमा मात्र नगई, सबै जनताको घर घरमा पुग्नु पर्छ भन्दै भन्नुभयो, “पार्टी नेताको घरमा मात्रै पुग्ने होइन, प्रत्येक जनताको घरमा पुग्नु पर्छ। बाटोमा निस्किएर पार्टीको झन्डा हल्लाएर एक जनाले माइकमा बोलेर पार्टीको विशेष रूपान्तरण अभियान कार्यक्रम सकियो भनेर छुट्टी पाइँदैन। प्रत्येक जनताको घरमा जानु पर्छ।” 

उहाँले राजनीतिक परिवर्तन माओवादीले ल्याएकाले यसलाई फुलाउने र फलाउनेसमेत माओवादीले गर्ने भनी जनतालाई प्रशिक्षित गर्नुपर्ने बताउनुभयो। “जनताको घरमा पुगेर यो परिवर्तन माओवादीले ल्याएकाले यो व्यवस्थालाई बलियो बनाउने जिम्मेवारी पनि हाम्रै हो भन्नुपर्‍यो,” उहाँले भन्नुभयो, “एक पटक संसद् विघटन हुँदा यो व्यवस्था खोसिन थालिसकेको थियो। त्यो बेला सबैभन्दा लड्ने ठुलो शक्ति हामी हौँ। कसरी बिफल पार्‍यौँ भन्ने कुरा सबै जनतालाई बुझाउनु पर्छ।”

उहाँले माओवादी नेतृत्वको सरकारले सुरु गरेको भ्रष्टाचारविरोधी अभियान कस्तो लागेको छ भनेर जनतालाई सोध्न अनुरोध गर्नुभयो। “हामीले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजानेलाई कारबाही गर्‍यौँ। बालुवाटारकै जग्गा खान खोज्नेलाई जेल हाल्यौँ। अरू भ्रष्टाचार र बेथितिको जरामै पुगेर छानबिन गर्न थाल्यौँ। यस अभियानबारे जनताका सुझाव माग्नुहोस्। भ्रष्टाचारीलाई कारबाही गरौँ भन्दा किन गर्‍या भन्ने कसैको हिम्मत हुँदैन।” 

उहाँले सरकारले गरेका काम फरक विचार बोक्नेले तत्काल स्वीकार नगरे पनि बिस्तारै आत्मबोध गर्ने बताउँदै सरकारले मिटरब्याजपीडितको पक्षमा कानुन निर्माण भएपछि धेरै तमसुक च्यात्नुका साथै सयौँका सङ्ख्यामा जग्गा फिर्ता गरिएको उल्लेख गर्नुभयो।

गृहमन्त्री श्रेष्ठले पार्टीलाई विशेष महाधिवेशनसम्म व्यवस्थित र क्रान्तिकारी बनाएर छाडिने दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “माओवादीलाई एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी बनाउनैपर्ने छ। माओवादीलाई रूपान्तरण र पुनर्गठन गरेर वैचारिक सांस्कृतिक रूपान्तरण गरेरै छाड्ने छौँ। अहिले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान चलाइराखेका छौँ। त्यसपछि वैशाखमा विधान सम्मेलन गर्ने छौँ। त्यसलगत्तै विशेष राष्ट्रिय महाधिवेशन गर्ने छौँ। त्यसबाट एकताबद्ध र क्रान्तिकारी पार्टी विशेष महाधिवेशनसम्म बनाउने छौँ।” 

उहाँले पार्टी पुनर्गठन र रूपान्तरण तीन चरणमा गरिने जानकारी दिनुभयो। उहाँले पहिलो चरणमा पार्टीका सबै समर्थक तथा शुभेच्छुक कहाँ जाने, त्यसपछि पार्टीको विचार, सिद्धान्त र दिशाबारे बुझाउने बताउँदै भन्नुभयो, “पार्टी नवीकरण र नयाँ सदस्यता दिइने छ। निष्क्रिय भएको 

कमिटीलाई आवश्यक परेमा पुनर्गठन गरिने छ।” उहाँले कार्यकर्ता र शुभचिन्तकबाट सुझाव लिएर पार्टी रूपान्तरणको कार्यान्वयन गरिने बताउनुभयो।