• २७ वैशाख २०८३, आइतबार

महिला सङ्घको महाधिवेशन फागुनमा

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, वैशाख २७ गते ।  नेपाल महिला सङ्घको अध्यक्षमा मीनाकुमारी खरेल नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार सभापति गगनकुमार थापाले अध्यक्षमा खरेललाई नियुक्त गर्दै १७ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी प्रदान गर्नुभएको हो । 

अध्यक्ष खरेलले फागुन १५ गतेभित्र सङ्घको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर साउन १ गतेभित्र महाधिवेशनको विस्तृत कार्यतालिका पार्टीसमक्ष पेस गर्ने जिम्मेवारी पाउनुभएको छ । 

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेपालको संवैधानिक व्यवस्था र यसको मर्म अनुसार महिलाको प्रतिनिधित्व, अर्थपूर्ण सहभागिता र सशक्तीकरणका लागि नीति, योजना र कार्यक्रम तय गर्ने जिम्मेवारी दिइएको बताउनुभयो । अध्यक्ष खरेलले नेपालको महिलासम्बन्धी सबै विद्यमान नीति, ऐन र कानुन अध्ययन गरेर पार्टीलाई आवश्यक सल्लाह, सुझाव दिने र लैङ्गिक विभेदविरुद्ध र लैङ्गिक समानताका पक्षमा अभियान सञ्चालन गर्ने तथा महिलालाई शिक्षा, स्वास्थ्य, रोजगार, व्यावसायिक तालिम र सामाजिक सशक्तीकरणमा सहयोग गर्न आवश्यक कार्ययोजना बनाउने, महिला अधिकार र महिलासम्बन्धी राष्ट्रिय–अन्तर्राष्ट्रिय चासोका विषयमा पार्टीलाई आवश्यक सल्लाह सुझाव दिने जिम्मेवारी पाउनुभएको छ । 

प्रदेश र स्थानीय सरकारलाई आग्रह 

नेपाली कांग्रेसका सभापति थापाले सङ्घीय सरकारले गरेको गलत काम प्रदेश र स्थानीय सरकारले नगर्न आग्रह गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘ग्रिन टेबल’ छलफल शृङ्खला अन्तर्गत सुकुमवासी समस्यासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सङ्घीय सरकारले गरेका कमजोरी प्रदेश र स्थानीय सरकारले दोहो¥याउन नहुने बताउनुभएको हो । 

उहाँले सुकुमवासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा कानुनभन्दा बाहिर गएर डोजर चलाउने शैली स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले डोजर चलाउने हल्ला र त्रासको पछाडि नलाग्न आग्रह गर्दै कानुन, नीति र योजनाका आधारमा मात्रै समस्या समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । उहाँले दशकौँदेखिको सुकुमवासी समस्या बल प्रयोगबाट नभई योजनाबद्ध र मानवीय ढङ्गले समाधान गर्नुपर्ने बताउनुभयो ।