• ८ मंसिर २०८१, शनिबार

पर्दामा गोर्खालीको बहादुरी

blog

विश्वभरका नेपालीले ‘गोर्खाली’ शब्दलाई आफ्नो पहिचान ठान्छन् । नेपालीमा ‘गोर्खाली’ र अङ्ग्रेजीमा ‘गोर्खाज’ शब्दले बहादुर, इमानदार, दयालु तथा मेहनतीको परिचय दिन्छ । गोर्खा शब्द विश्वका दूरदराजमा ब्रान्डका रूपमा स्थापित छ । इतिहास खोतल्ने हो भने सन् १८१६ मा नेपाल–अङ्गे्रज युद्ध अन्त्य भएपछि नेपाली ब्रिटिस तथा भारतीय सेनामा भर्ती हुन थालेको र त्यस क्रममा उनीहरूले विश्वका विभिन्न देशमा गएर आफ्नो वीरता प्रदर्शन गरेको प्रसङ्ग जोडिन्छ । सन् १८१४ देखि नै लाहोर सहरमा गोर्खा भर्ती सुरु भएपछि लाहुरे शब्द प्रचलनमा आएको इतिहास पढ्न पाइन्छ ।

भारतीय सैनिकको सर्वोच्च अधिकारी फिल्ड मार्सल साम मनेक्षाको एउटा प्रसिद्ध भनाइ छ, “यदि कसैले मर्न डर लाग्दैन भन्छ भने या त उसले झुट बोलिरहेको छ वा ऊ गोर्खाली हो ।” तेस्रो गोर्खा राइफल्समा काम गरेका प्रोफेसर राल्फ टर्नरले गोर्खाली फौजको प्रशंसा गर्दै भन्नुभएको छ, “बहादुरको पनि बहादुर, दयाको पनि दयालु, तपाईंहरू जस्तो विश्वासिलो मित्र अरू कोही छैनन् ।”

वास्तवमा यी भनाइबाट के प्रस्ट हुन्छ भने गोर्खा सैनिकमा अतुलनीय साहस र अकल्पनीय वीरता छ । सन् १८१६ देखि औपचारिक रूपमा सुरु भएको गोर्खाली फौजको इतिहास गौरवपूर्ण छ । दोस्रो विश्वयुद्धमा हिटलरको पराजयपछि गोर्खाको प्रशंसा चुलिएको पाइन्छ । गोर्खा फौजको सफलताले बनाएको उच्च शिरले विश्वभरका नेपालीलाई एकसूत्रमा बाँध्ने काम पनि गरेको छ । 

विश्वमै पृथक् र गौरवमय इतिहास बनाएको गोर्खालीका बारेमा प्रशस्त पुस्तक प्रकाशित छन् । रमाइला र घतलाग्दा किस्सा छन् । आङ नै जिरिङ्ग बनाउने साहसिक लडाइँका कथा छन् । कम्मरमा भिर्ने र हातमा नचाउने खुकुरीको बेग्लै गाथा छ । त्योभन्दा पनि धेरै रमाइला, मन छुने र गौरव लाग्ने चलचित्र बनेका छन्; जसले विश्वको चलचित्र जगत्मा भिन्न परिचय बनाएको छ । साङ्गीतिक आकाशमा गोर्खाली शब्द हजारौँ पटक गुञ्जिएका छन् । साहित्यका कृतिहरूमा हजारौँ हरफ कोरिएका छन् । साहित्यकारसमेत रहेका बेलायत निवासी पूर्वगोर्खा सैनिक भरतमणि चोङबाङ भन्नुहुन्छ, “साहित्य, सङ्गीत र चलचित्रमा गोर्खाको बहादुरीको असङ्ख्य चर्चा छ । चलचित्रमा पनि गोर्खाको वीरगाथा, सङ्घर्ष, कुशलता र विश्व जगत्बाट पाएको सम्मानको खुलेर प्रशंसा गरिएका छन् । यो हाम्रा लागि गौरवको विषय हो ।”

विसं २०७१ तिर निर्माण भएको चलचित्र ‘निसानी’ मा कार्गिल युद्धमा गोर्खाली सेनाले देखाएको बहादुरी स्पष्ट देखाइएको छ । कार्गिल युद्धको खलुबार लडाइँमा कमान्डिङ गर्नुभएका भारतीय गोर्खा ललित राईका अनुभवमा आधारित कथामाथि चलचित्रलाई विनोद सेरेङले निर्देशन र प्रेम सुब्बाले निर्माण गर्नुभएको हो । इन्डियन आइडल प्रशान्त तामाङ अभिनित चलचित्रका निर्देशक सेरेङले भन्नुभएको छ, “गोर्खालीहरूले इतिहासमा थुप्रै निसानी छाडेर गएका छन्, हामी चलचित्रकर्मीले पनि निसानी छोड्नु पर्छ, यो चलचित्र मेरो एउटा निसानी हो ।”

हुन त केही पुराना नेपाली चलचित्रका केही पात्रलाई गोर्खा लाहुरेका रूपमा प्रस्तुत गरिएको छ । गोर्खाको बहादुरीलाई समेटेर चलचित्र गीत पनि सिर्जना भएका छन् । आधुनिक, पप, लोकगीतहरूमा गोर्खा सैनिकका बहादुरीलाई समेटिएका छन् । त्योभन्दा पनि चलचित्रको पूरै कथावस्तु गोर्खालीको सङ्घर्ष, बहादुरी र सफलतालाई आधार मानेर थोरै मात्र बनेका छन् । ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ बोलको गीत नेपालीको जिब्रोमा छ । ‘गोर्खा पल्टन’ चलचित्रमा समावेश यो गीत सुपरहिट नै बन्यो । ‘गोर्खा पल्टन’ चलचित्रबाट डेब्यु गर्नुभएका प्रशान्त तामाङको अभिनय गोर्खाली लाहुरेको जीवनमा आधारित छ ।

गोर्खालीहरू भारतीय र बेलायती सेनामा भर्ती भएपछि उनीहरूको भोगाइ र परिवारले भोगेका पीडा समेटिएर बनेको अर्को चलचित्र हो– ‘सोल अफ द कमान्डो’ । यस चलचित्रले पनि गोर्खालीको दुःख र भोगाइ प्रस्ट देखाएको छ । तेक्वान्दो खेलाडी साथै अवकाश प्राप्त बेलायती सैनिकसमेत रहनुभएका राजकुमार राई अभिनित यस चलचित्रले सन्तोषजनक आम्दानी गरेको थियो । तारिफ पनि राम्रै पाएको थियो । “यसमा नेपालीहरू इन्डियन र ब्रिटिस आर्मीमा जाँदा भोग्नु परेका कथा र दुःखलाई समेटिएको छ । नेपालको इतिहास थाहा नभएकाहरूलाई राम्रो जानकारी दिएको छ । गोरखकालीको मार्मिक कथा समेटिएको छ,” अभिनेता राईले भन्नुभयो । गोर्खाली फौजमा भर्ती भइसकेपछिका कथाहरू भिन्नै छन् । त्योभन्दा पनि भर्ना हुन जाँदाको सङ्घर्ष अझ पृथक् छ । ‘रुमालै छ चिनो’ मा कलेज जीवनबाट इन्डियन आर्मीमा भर्ती भएर जम्बु–काश्मिरमा लडाइँ लडेको एक नेपाली युवाको कथा हेर्दा गर्व लाग्छ । २०७५ फागुनबाट हलमा आएको यो चलचित्र दिनेश सिंह ठकुरीले निर्देशन गर्नुभएको हो ।

चलचित्रमा इतिहास खासै बिक्दैनन् । समाजको दर्पण, प्रेम–विछोड, मार्मिक जीवनभोगाइ, आधुनिक जीवनका रोमान्स समेटिएका कथाहरू बिक्छन् । ‘नालापानी’ यस्तो चलचित्र बन्यो, जसमा सन् १८१४ मा नेपाल र अङ्ग्रेजबिच नालापानी किल्लामा भएको युद्ध, नेपालीले देखाएको वीरता र साहसको गाथा चित्रण छ । युद्धमा नेपाली वीर सिपाही र सर्वसाधारणले नेपाली राष्ट्रिय स्वाभिमानलाई बचाएको कथा यहाँ छ । बलभद्र कुँवरको हिम्मत देखाइएको छ । रिमेश अधिकारीको निर्देशनमा बनेको यो चलचित्रले राष्ट्रियता, वीरगाथा, नेपाली पहिचान र गौरवगाथाको बोध गराउँछ तर चलचित्र राम्रोसँग चल्न भने सकेन । निर्माण पक्षले नेपाली इतिहास जोगाउन गरिएको प्रयास भनेर मात्रै चित्त बुझाउनु प¥यो । 

२०७७ सालमा हलमा प्रदर्शन भएको किम्मत गौतमको निर्देशनमा बनेको ‘गोर्खे’ चलचित्रले गोर्खाली सैनिकको कथालाई समेटेको छ । गोर्खाली सैनिक बन्नका लागि सङ्घर्ष गरिरहेका पाँच युवाको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । भिक्टोरियन क्रस प्राप्त गर्ने पहिलो गोर्खा सैनिक कुलवीर थापाको जीवनीमा आधारित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ले पनि विश्वका विभिन्न देशमा राम्रो तारिफ कमायो । प्रदीप शाहीले निर्देशन गर्नुभएको यस चलचित्रमा कुलवीरको सङ्घर्षपूर्ण कथा छ । चलचित्रको प्रदर्शनपछि निर्देशक शाहीले भन्नुभएको थियो, “जोखिम मोलेर विश्व शान्तिका लागि लड्ने पुर्खाहरूलाई श्रद्धाञ्जली दिन यो चलचित्र बनाइएको हो । गोर्खालीहरू जति बहादुर छन्, त्यति नै दयालु हृदयका पनि छन् भन्ने देखाएका छौँ । विश्व युद्धमा घाइतेहरूलाई गोर्खा सैनिकले नै उद्धार गरेका थिए र सोही कुरा चलचित्रको विषय बनेको हो ।”


गोर्खा सैनिकको योगदान र बलिदानीपूर्ण इतिहासलाई समेटेर वृत्तचित्रहरू पनि निर्माण भएका छन् । किताब लेखिएका छन् । 

‘जित्नेहरूको हारेको कथा’ वृत्तचित्र र केसाङ छेतेनको ‘हु विल बी गोर्खाज’ उत्तिकै चर्चित छ । हलिउड र बलिउडका चलचित्रहरूमा पनि गोर्खाली सेनाको कथा र पात्र समेटिएका छन् । केही महिनाअघि निर्माण भएको ‘ड्रामा १९१५ : लिजेन्ट अफ गोर्खाज’ मा गोर्खा लाहुरेको भूमिका समेटिएको छ । 

पुस्तककै चर्चा गर्ने हो भने बेलायतका पूर्वरक्षामन्त्री जोन नटले आफ्नो पुस्तक ‘मेमोरेबल इन्काउन्टर्स’ मा गोर्खा फौजको मजाले प्रशंसा गर्नुभएको छ । कैलाश लिम्बूले आफ्नो पुस्तक ‘गोर्खा : बेटर टु डाई देन लिभ अ कावर्ड : माइ लाइफ विथ द गुर्खाज’ मा आफ्नो सङ्घर्षको कथा समेट्नुभएको छ । ब्रिटिस एयर फोर्सका जोनी गोर्खाले ‘अ गुर्खाज स्टोरी’ पुस्तकमा गोर्खा भर्तीमा हुने पक्षपातपूर्ण व्यवहार उल्लेख गर्नुभएको छ । पछिल्लो समय पूर्वगोर्खा टिम गुरुङले ‘आयो गोर्खाली’ पुस्तकमा गोर्खालीका कथाव्यथा खोतल्नुभएको छ । युद्ध साहित्यका रूपमा पनि केही कृतिहरू प्रकाशित छन्, जसले गोर्खाहरूको बहादुरीलाई सहर्ष प्रशंसा गरेको छ । 

‘गोर्खा वारियर्स’ को चर्चा

मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘गोर्खा वारियर्स’ यति बेला अन्तर्राष्ट्रिय जगत्मा निकै चर्चामा छ । सन् १९४९ मा बेलायती उपनिवेश रहेको मलाय टापुमा गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको ‘गोर्खा वारियर्स’ को हालै मात्र प्रिमियर भएको छ । बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा गत भदौको तेस्रो साता यो चलचित्र प्रिमियर भयो । 

प्रिमियरमा बेलायतका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो । निर्देशक चाम्स भन्नुहुन्छ, “अहिलेको पुस्तालाई गोर्खाली इतिहासबारे जानकारी दिन मात्र नभई नेपाल र बेलायतबिचको सदियौँ लामो गौरवपूर्ण सम्बन्धलाई यो चलचित्रले थप उजागर गर्ने छ । यो मेरो २० वर्षअघिको सपना हो । नेपाली चलचित्रकै इतिहासमा पहिलो पटक नेपाली चलचित्रलाई रेड कार्पेट प्रिमियर गर्ने मेरो सपना साकार भएको छ ।” 

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले प्रिमियरको ऐतिहासिक सफलताका लागि शुभकामना पनि दिनुभएको थियो । चलचित्र ‘गोर्खा वारियर’ लाई आगामी फागुन वा चैतमा नेपालसहित विश्वभर रिलिज गर्ने तयारी छ ।   

Author

युवराज गौतम