प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), वैशाख १५ गते । रौतहटको राजपुर नगरपालिका कार्यालयले रातो बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ । सो अभियान अन्तर्गत आइतबार ३४ वटा रातो बाँदर नियन्त्रणमा लिएर जङ्गलमा छाडिएको नगर प्रमुख डाक्टर राजिक आलमले बताउनुभयो ।
नगरपालिकाको वडा नं. ९ बैरियाका किसानहरूले लगाएको मकै बाली लगायत अन्य बालीहरूलाई रातो बाँदरले नष्ट गर्न थालेपछि नगरपालिकाले तालिम प्राप्त बाँदर नियन्त्रणमा लिने टोली खटाइ बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको नगर प्रमुख आलमले बताउनुभयो ।
यसअघि नगरपालिकाले १८ वटा रातो बाँदर नियन्त्रणमा लिएर जङ्गलमा छाडेको थियो । बर्सेनी रातो बाँदरको आतङ्कबाट खेतबारीमा लगाइएको बाली जोगाउन यहाँका किसानलाई बिहानदेखि बेलुकासम्म चौकीदारी गर्नुपर्ने अवस्था रहेको तथा बाँदरलाई धपाउन, लखेट्न र पक्रन कानुनी रूपमा बाटो नभए पछि त्यसका लागि बारम्बार नेपाल सरकार वन तथा वातावरण मन्त्रालय तथा कृषि समितिमा समेत छलफल गरेको नगर प्रमुख डाक्टर आलमले बताउनुभयो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले देशैभरि लागु हुने गरी जङ्गली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो।
रातो बाँदर पक्रिए त्यो बाँदर सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष वा संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा मातहत नजिकको कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।