• ५ पुस २०८२, शनिबार

रातभर जाग्राम बसेर मनाइयो भुओ

blog

रजन रावत

हुम्ला, पुस ५ गते । हिमाली जिल्ला हुम्लामा सल्लाको दियालो बालेर रातभर गीत गाउँदै भुओ पर्व मनाइएको छ। लामा समुदायबाहेक अन्य सबै जातिका स्थानीयले यसरी भुओ पर्व मनाउने गर्दै आउनु भएको हो। 

सिमकोट गाउँपालिका–२ का बमबहादुर भण्डारीले यसवर्षको भुओ पर्व धुमधामका साथ मनाइएको बताउनु भयो। प्रत्येक घरबाट कम्तीमा एक जना पुरुष परम्परागत पहिरनमा सजिएर र सल्लाको दियालो बालेर हातमा समातेर गाउँ कै पुजापाठ र रमाइलो गर्ने स्थान (चौपाडी) मा जम्मा भएर फाग, चाड्ची, चुडकिला गाउने र मानसरोवर कविलासको गुणगान गाउने गरिएको खार्पुनाथ गाउँपालिका–५ निवासी प्रकाशबहादुर शाहीले बताउनु भयो। 

यो पर्व जिल्लाभरका लामा समुदाय बाहेक अन्य सवै जातिका स्थानीयले भुओ पर्व मनाउने गर्दै आएको उहाँले बताउनु भयो। अर्को कुरा भुओ पर्व मनाउने स्थानमा घरघरबाट दाउरा लगेर पुजापाठ पनि रातभर आगो बाल्ने पनि गरिन्छ। यो स्थानमा जानु अगाडि आफ्ना कुटुम्म की छोरी चेलीसँग पानी माग्ने चलन पनि रहेको छ। 

यसरी पानी माग्दा शरिरमा लगाएको कपडा भिज्ने र आगो तापेर सुकाउने गरिन्छ। यो भुओ पर्व हुम्लामा मानिसको बसोवास सुरु भएयता देखि नै मनाउने गरिँदै आएको छ। 

बिहानसम्म युवाहरू सोही स्थानमा बस्ने र बिहान सबेरै घरमा आएर नुहाउने र आफ्ना मान्यजनसँग गएर ढोग गर्ने चलन पनि रहेको छ। घरघरमा मिठा परिकार पाक्ने र खेवाउने पनि गरिन्छ। यो दिन गाउँबाट स्थानीय कोही पनि बाहिर जाने चलन पनि छैन। कतै युवायुवती मिलेर देउडा गाउने चलन पनि रहेको छ।