• ५ पुस २०८२, शनिबार

मोबाइल व्यवसायले देशको अर्थतन्त्रलाई चलायमान बनाएको छ : सञ्चारमन्त्री खरेल

blog

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल। तस्बिरः सञ्चारमन्त्रीको निजी सचिवालय

काठमाडौँ, पुस ५ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मोबाइल व्यवसायले आर्थिकरूपमा देशलाई चलायमान बनाउने काम मात्र नगरेर सामाजिक पुलको रूपमा सम्बन्ध जोडिदिने काम गरिरहेको बताउनु भएको छ। 

नेपाल मोबाइल व्यवसायी सङ्घ काठमाडौँको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको शनिबार काठमाडौँमा उद्घाटन गर्दै मन्त्री खरेलले देशमा मोबाइल व्यवसायमा लाखौं युवा जेनजी आबद्ध भएको र लाखौं युवालाई देशमै रोजगारी सिर्जना गरेको मोबाइल व्यवसायीका समस्या सम्बोधन गर्न सरकार तयार रहेको बताउनु भयो।

“तपाईं व्यवसायीहरूले मोबाइल व्यवसाय मात्र गर्नु भएको छैन, समाजलाई परिवारलाई जोड्ने काम पनि गरिरहनु भएको छ, आमा बुवालाई छोराछोरीसँग कुरा गर्न तपाईंहरूले सिकाइरहनु भएको छ”,सञ्चारमन्त्री खरेलले भन्नुभयो।

उहाँले मोबाइल व्यवसायमार्फत् लाखौं युवा जेनजीलाई देशमै रोजगारी सिर्जना गरिरहेको भन्दै व्यवसायीका समस्यालाई सम्बोधन गर्न पहल गर्ने विश्वास व्यक्त गर्नुभयो।

सञ्चारमन्त्री खरेलले एमडिएमएस प्रणाली भित्र भ्रष्टाचारको जालो बेरिएको भन्दै जालो च्यातरेरै छाड्ने विश्वास व्यक्त गर्नुभयो। मुलुकले परिवर्तन मागेको बताउँदै उहाँले दिनहुँ दुई हजार भन्दा बढी जेनजी युवा विदेश गइरहेको अवस्थालाई सबै मिलेर रोक्नु पर्ने  उहाँको भनाइ थियो। 

उहाँले भन्नुभयो,“यो मुलुक किन बनेन भने राम्रो होइन, हाम्रो मान्छे खोजियो, व्यक्ति गुट स्वार्थ र आफ्ना मान्छे हेर्ने कारण देश नबनेको हो, अब अति भयो, भोट हाल्दा सोचौं, एक पटक खराब उम्मेदवारलाई भोट हालेर पाँच वर्ष पछुतो मान्ने अवस्था नहोस्।”


सरकारका प्रवक्ता सञ्चारमन्त्री खरेलले सरकारले सुशासन प्रवर्धन भ्रष्टाचार नियन्त्रणका साथै निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने वातावरणका लागि काम गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासङ्घका अध्यक्ष भरत भट्टराईले एमडिएमएस प्रणालीले अलमलमा पारेको भन्दै सो प्रणाली कि पूर्णरूपमा लागु गर्न कि खारेज गर्न माग गर्नुभयो। उहाँले बजारमा आएका मोबाइल तथा एसोसरिजको गुणस्तर परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा काठमाडौँ जिल्ला अध्यक्ष सुरेश बानियाँले सरकारले सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई वैध बनाउँदा नेपालको राजश्वको दायरा बढ्ने र नेपालको पैसा नेपालमा नै रहने बताउनु भयो। उहाँले नेपालमा नै कतिपय मोबाइल एसोसरिज बनिरहेको तर विदेशी सामानले प्राथमिकता पाइरहेको बताउँदै सरकारले नेपाली उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो।