• १५ वैशाख २०८२, सोमबार

प्रचण्डद्वारा बाँकेमा राप्ती नदीको कटान र तटबन्धको स्थलगत निरीक्षण

blog

बाँकेको राप्ती सोनारी ७ मा रहेको राप्ती नदीको कटानको निरीक्षण गर्नुहुँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख १४ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बाँकेको राप्ती नदीको कटानको स्थलगत निरीक्षण गर्नु भएको छ । 

माओवादी केन्द्रले सञ्चालन गरेको तराई मधेश जागरण अभियान अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरमा आयोजित कार्यक्रममा सहभागी हुन त्यहाँ पुग्नु भएका पूर्व प्रधानमन्त्री प्रचण्डले राप्ती सोनारी ७ मा राप्ती नदीले गरेको कटान तथा तटबन्धको स्थलगत निरीक्षण गर्नुभएको हो । 

पूर्व मन्त्री माओवादी स्थायी समितिका सदस्य महेश्वर गहतराज अथक, पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी, पूर्व लुम्बिनी प्रदेशमन्त्री कृष्ण केसी नमुना र वडा नम्बर सातका वडाध्यक्ष रामलखन थारूले राप्ती नदीले गर्दै आएको कटान, डुबान र तटबन्ध निर्माण नहुनुका बारेमा अध्यक्ष प्रचण्डसमक्ष जानकारी गराएका थिए । 

कटान तथा तटबन्धको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले तत्काल तटबन्धको काम पूरा गरेर सो क्षेत्रका जनतालाई डुबान र कटानको त्रासबाट जोगाउन निर्देशन दिनुभएको छ । 

उहाँले तत्काल हुनसक्ने क्षतिको न्युनीकरणका लागि उपलब्ध बजेटबाट काम अघि बढाउन तटबन्ध निर्माण आयोजना प्रमुखलाई निर्देशन दिँदै थप बजेटका लागि आफूले पनि पहल गर्ने प्रतिबद्धता समेत सो अवसरमा व्यक्त गर्नुभएको छ । 

राप्ती सोनारी ७ मा राप्ती नदीमा तटबन्ध निर्माण नहुँदा राप्ती सोनारीको वडा नम्बर ७ फत्तेपुर र नरैनापुर क्षेत्र प्रभावित हुँदै आएको छ । तटबन्ध नहुँदा सो क्षेत्रका सात भन्दा बढी गाउँका सयौं जनता त्रसित छन् । 

पटकपटक सो तटबन्धको निर्माणका लागि स्थानीय बासिन्दाले माग गर्दै आएपनि सुनुवाइ नभएको वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारूले बताउनुभयो ।