• १५ वैशाख २०८२, सोमबार

मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

blog

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । तस्बिर : रासस

काठमाडौँ, वैशाख १४ गते । ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उहाँहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रूपमा सहकार्य गरिरहनुभएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । मह जोडीका रूपमा उहाँहरूको सहकार्यले आज वैशाख १४ गते ४५ वर्ष पूरा भएको छ । करिब आधा दशकसम्म निरन्तर रूपमा जोडी बनेर दर्शकको मन जित्नसक्नु र आफ्ना लागि एउटा सम्मानित पहिचान स्थापित गर्नसक्नु नै उहाँहरू दुईको इमानदारिताको उदाहरण हो ।

यो ४५ वर्षको सहकार्यमा मह जोडी बनेर काम गर्दा दुवै कलाकारले नामसँगै दाम पनि कमाउनुभयो । तर, जति लाभ हुन्छ, त्यति नै लोभ बढ्ने सम्भावना पनि हुन्छ । यसको प्रभाव पनि यो जोडीले हावी हुन् दिएनन् । फलतः सहकार्यको झण्डै आधा दशक कला साधनामा समर्पित भई दर्शकसहित आम नेपालीको मन जित्न मह जोडी सफल भएको देखिन्छ ।

यसै सन्दर्भमा अभिनेता आचार्यले आफुलाई भाग्यमानी पुस्ताका रूपमा बुझ्नुभएको छ । किनकी कलाकारिताको दौरानमा उहाँहरूले प्रविधिगत र राजनीतिक धेरै परिवर्तनलाई नजिकबाट बुझ्न पाउनुभयो । “हामीले रङ्गमञ्चमा प्रहसन गर्यौं, क्यासेट बनायौँ, टेलिभिजनका लागि शृङ्खला बनायौँ, चलचित्रमा पनि काम गरायौँ, त्यसकारण पनि म र मदन दाई भाग्यमानी पुस्ता बन्न पुग्यौँ । हामीले सबै माध्यममार्फत् आफ्नो कामलाई देखाउने मौका पायौँ । अहिले पनि हामीले पुराना कामलाई अत्याधुनिक प्रविधिमा रूपान्तरण गरेर ‘डिजिटल’ रूपमा उपलब्ध गराएका छौँ”, अभिनेता आचार्यले भन्नुभयो ।

उहाँले मह जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया रहेको बताउनुभयो । “दर्शकले हामीलाई एकसाथ हेर्ने इच्छा नराख्नु भएको भएँ हामीले यत्रो यात्रा पार गर्न सम्भव थिएन । अनि हामीलाई परिवारले सधैँ सहयोग गरेर अगाडि बढ्न मद्दत गर्‍यो । हाम्रो सम्बन्धमा उनीहरू हाबी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवै नाम दियो, एउटा स्थान बनायो । एकअर्कासँग कहले आरिस (इगो) राखेनौँ, सधैँ दर्शकको भावनाअनुरूप प्रस्तुत भइरह्यौँ”, अभिनेता आचार्यले भन्नुभयो ।

यसैगरी, अभिनेता श्रेष्ठले मिलेर काम गरेमा त्यसले सफलता दिने बताउनुभयो । उमेरका हिसाबले ७५ वर्ष पुग्नुभएका अभिनेता श्रेष्ठले चलचित्रसहित विज्ञापनमा अझै सक्रिय भई काम गरिरहनुभएको छ । उहाँले कामका सिलसिलामा कहिले त्यसको लाभ–हानि हाबी हुन् नदिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी कहिले पैसाको पछाडि लागेनौँ, काममै केन्द्रित भयौँ । त्यसले हामीलाई नाम र दाम दुवै दियो । फेरि दुवैको नाम र काअम एउटै छ, त्यसकारण पनि हामीले सोच्नुपर्ने केही थिएन । हामीमा इमानदारिता छ, सद्भाव छ, सदैव एकअर्काको राम्रो भएको हेर्न र सुन्न चाहन्छौँ, त्यसैले यति लामो समयसम्म मह जोडीका रूपमा यात्रा तय गर्न सकेका हौँ ।”

उहाँले स्वास्थ्यले साथ दिएसम्म आफूहरू एकसाथ काम गरिरहने बताउनुभयो । पछिल्लो समय दुवै जनाले एकसाथ चलचित्र ‘महापुरुष’ मा काम गर्नुभएको थियो । त्यसपछि अभिनेता आचार्यले ‘महाजात्रा’, ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ मा अभिनय गरिसक्नुभएको छ । यस्तै अभिनेता श्रेष्ठले पनि ‘पहाड’ र ‘परान’ नामक चलचित्रमा काम गर्नुभएको छ । छुट्टिएर चलचित्रको छायाङ्कन गर्दा होस् वा भोजमा, जहाँ जाँदा पनि एकलाई देखेपछि अर्कालाई खोज्नु स्वाभाविक छ । “मलाई हरिजी खोइ भनेर सोध्नु भयो भने यही त छन् नी, म भित्रै छन् भनेर भन्ने गरेको छु । कार्यक्रममा मात्र होइन चलचित्रको छायाङ्कनमा पनि सोधिरहनु हुन्छ”, अभिनेता श्रेष्ठले भन्नुभयो ।

उहाँ दुईको कम्पनी ‘मह सञ्चार’मा २०६० सालदेखि जोडिनुभएका निर्देशक प्रदीप भट्टराई पारिवारिक सदस्य झैँ देखिनुहुन्छ । सामान्य सहयोगीका रूपमा शृङ्खलामा काम गर्न जोडिनुभएका निर्देशक भट्टराईले धेरै शृङ्खलामा मुख्यसहायक निर्देशक र केही शृङ्खलामा निर्देशक नै भएर काम गर्नुभयो । चलचित्रकै सन्दर्भमा ‘शत्रु गते’ र ‘महापुरुष’ मा मह जोडीलाई निर्देशक भट्टराईले निर्देशन गर्नुभएको छ ।

“उहाँ दुई मेरा लागि जीवित भगवान् झैँ हुनहुन्छ । उहाँहरुको कर्म जस्तो छ, व्यवहार पनि त्यस्तै छ । मलाई त कर्म सिकाउने गुरू नै उहाँहरू हुनहुन्छ, मैले जे भने पनि उहाँहरूका लागि शब्द कम नै हुन्छ, मलाई एउटा छोराकै रूपमा माया गर्नुहुन्छ”, निर्देशक भट्टराईले भन्नुभयो ।

मह जोडी एकसाथ नदेखिँदा सधैँ प्रश्न गर्ने गरिएको निर्देशक भट्टराईले देख्नु, सुन्नुभएको छ । टेली शृङ्खलामा काम गर्दा होस् वा चलचित्रमा दुई एकसाथ नदेखिँदा प्रश्न तेर्सिनु स्वाभाविक हो । र, उहाँले मह जोडीलाई ‘दुईमै एक र एकमै दुई’ देख्नुभएको छ । जहाँ ‘म’ त्यहाँ ‘ह’ पनि हुने बुझाइ निर्देशक भट्टराईको छ । त्यसकारण मह जोडीलाई शीर्ष भूमिकामा लिएर गज्जबको चलचित्र बनाउने रहर उहाँको छ ।

“उहाँहरूको क्षमतासँग म नजिकदेखि परिचित छु, त्यसैले एउटा गज्जबको चलचित्र बनाउने रहर छ । कथा पनि सोचिरहेको छु, किनकी उहाँहरूप्रति दर्शकको अपेक्षा बढेको छ, म आफैँ पनि अभिनय गराउनकै लागि गराउने पक्षमा छैन । त्यसकारण उहाँहरूलाई पर्दामा देखाउन पाउँदा म पनि दर्शक झैँ खुसी हुन्छु”, निर्देशक भट्टराईले भन्नुभयो ।

हास्य कलाकारका रूपमा चिनिनुभएका मह जोडी अहिले आफूलाई फरक भूमिकामा प्रस्तुत गरिरहनुभएको छ । अभिनेता आचार्यले अभिनय गर्नुभएको ‘भूठान’ मा एक दृश्यमा मात्र हाँसेको देख्न पाइन्छ । ‘बलिदान’ पछि पूर्णतया गम्भीर भूमिकामा अभिनेता आचार्य प्रस्तुत हुनुभएको छ । यसअगाडि अभिनेतामा हुने नवरसमध्ये हास्यरस हावी हुँदा उहाँहरू हास्य कलाकारका रूपमा बढी प्रस्तुत हुनुभएको निर्देशक भट्टराईले बताउनुभयो ।

“उहाँ दुई नै पूर्ण कलाकार हुनुहुन्छ । हामीले शृङ्खलामै केही फरक र भिन्न काम गरेका छौँ । मैले उहाँहरूमा अभिनेतामा हुने सबै गुणलाई देखेको थिएँ, त्यही भएर नै ‘महापुरुष’ चलचित्रमा केही भिन्न रूपमा प्रस्तुत गरेँ । अहिले दर्शकले पनि विस्तारै बुझ्दै हुनहुन्छ, उहाँहरू सबै किसिमका भूमिका गर्नसक्ने लोकप्रिय एवं सर्वस्वीकार्य कलाकार हुनहुन्छ”, निर्देशक भट्टराईले भन्नुभयो । 

गत वर्षमात्र मह जोडीले विदेश र नेपालमा ‘मह जात्रा’ गरेका थिएँ । आउँदो समयमा पनि सँगै काम गरी सहकार्यलाई निरन्तरता दिने पक्षमा उहाँहरू हुनुहुन्छ । छोटो समयमा नाता–सम्बन्ध टुट्ने अहिलेको जमानामा वरिष्ठ कलाकार श्रेष्ठ र आचार्यको दोस्ती र सहकार्यले ४५ वसन्त पार गर्नु एकअर्काप्रतिको इमानदारिता र सम्मान नै हो । रासस