प्रवीण कुमार शर्मा
रौतहट, पुस ४ गते । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा रौतहटबाट जिल्ला इन्चार्ज अजय कुमार गुप्ता सहित चार जना उम्मेदवार विजयी हुनुभएको छ ।
मतगणनाको पछिल्लो परिणामअनुसार विभिन्न क्लस्टरमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएका अजय कुमार गुप्ता, आरती भण्डारी, कुन्दन प्रसाद कुशवाहा र उपेन्द्र प्रसाद साह केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । त्यस्तै केन्द्रिय लेखा आयोगको सदस्यमा रौतहटका राजकिशोर प्रसाद यादव निर्वाचित हुनुभएको छ ।
मधेसी (समावेशी) क्लस्टरबाट केन्द्रीय सदस्य उम्मेदवार हुनु भएका नेकपा एमाले रौतहट जिल्ला इन्चार्ज गुप्ताले १ हजार ८१४ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । त्यसैगरी मधेशी महिला क्लस्टरबाट उम्मेदवारी दिनु भएका नेकपा एमाले मधेश प्रदेशका उप महासचिव आरती भण्डारीले १ हजार ६३० मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो ।
त्यस्तै मधेसी (समावेशी) क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएका कुन्दन प्रसाद कुशवाहाले १ हजार ५३७ र उपेन्द्र प्रसाद साहले १ हजार ६३२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।रौतहटबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका अन्य छ जना उम्मेदवारहरू भने पराजित भएका छन् ।
पराजित हुनेमा मधेसी (समावेशी) क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएका संविधानसभा सदस्य बबन सिंह ,मधेश प्रदेश सरकारका पुर्व राज्य मन्त्री नागेन्द्र राय यादव,मधेशी महिला क्लस्टरबाट उम्मेदवारी दिनु भएका पुर्व प्रतिनिधि सभा सदस्य रेखा कुमारी झा,समावेशी मुस्लिम क्लस्टरबाट उम्मेदवारी दिनु भएका मधेश प्रदेश सरकारका पुर्व राज्य मन्त्री मो. जैद आलम,भूगोल मधेश प्रदेश क्लस्टरबाट उम्मेदवारी दिनुभएका रौतहट–४ बाट प्रतिनिधि सभा सदस्य प्रत्यासी उद्धव प्रसाद रेग्मी र महिला खुला क्लस्टरबाट उम्मेदवारी दिनु भएका इन्सेक नेपालमा आबद्ध गौरी न्यौपाने रहेका छन् ।
संविधानसभा सदस्य सिंहले सात सय ५० मत, मधेश प्रदेशका पुर्व राज्यमन्त्री यादवले ८ सय ९ मत, पूर्व प्रतिनिधि सभा सदस्य झाले १ हजार १६७ मत, मधेश प्रदेश सरकारका पुर्व राज्यमन्त्री आलमले चार सय १५ मत,रौतहट–४ बाट प्रतिनिधि सभा सदस्य प्रत्यासी रेग्मीले छ सय ६ मत र इन्सेक नेपालमा आबद्ध न्यौपानेले ८ सय ९७ मत प्राप्त गर्नु भएको छ ।