• १५ वैशाख २०८२, सोमबार

जलवायु परिवर्तनले पाकिस्तानमा मलेरिया रोगमा वृद्धि

blog

इस्लामाबाद, वैशाख १४ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र पाकिस्तानको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले देशभर मलेरियाका मामिलाहरूमा तीव्र वृद्धिबारे चेतावनी दिएको डन समाचारले बताएको छ । उनीहरूले मलेरियाको यो वृद्धिलाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनको प्रभावसँग जोडेका छन् ।

वार्षिक २० लाखभन्दा बढी सङ्क्रमित दर्ता भएपछि अधिकारीहरूले पाकिस्तान र व्यापक क्षेत्रका लागि बढ्दो खतरालाई नियन्त्रण गर्न तत्काल कडा कारबाही आवश्यक रहेको चेतावनी दिएका छन् ।

विश्व मलेरिया दिवसको अवसरमा जारी गरिएको यो चेतावनीमा डब्लुएचओ र पाकिस्तानी अधिकारीहरू दुवैले रोगसँग लड्न सामूहिक प्रयासको आह्वान गरेका छन् ।

“मलेरिया एक प्रमुख विश्वव्यापी खतरा हो र हामी प्रत्यक्ष रूपमा देखिरहेका छौँ कि जलवायु परिवर्तनले हाम्रो देशमा जोखिम र मामिलाहरू दुवै बढाइरहेको छ”, सङ्घीय स्वास्थ्यमन्त्री सैयद मुस्तफा कमलले भन्नुभयो ।

उहाँले मलेरियालाई अन्त्य गर्नु स्वास्थ्य प्राथमिकता मात्र नभई सबै देशका लागि सुरक्षित, स्वस्थ र अधिक समतामूलक भविष्यमा एउटा लगानी पनि भएको जोड दिनुभयो ।

‘पुनः लगानी, पुनः कल्पना, पुनः प्रज्वलन’ भन्ने अन्तर्राष्ट्रिय विषय वस्तुअन्तर्गत डब्लुएचओले सरकारहरू, सङ्गठनहरू र समुदायहरूलाई मलेरिया उन्मूलन प्रयासहरूका लागि समर्थन बढाउन आग्रह गरेको छ ।

पाकिस्तानको मलेरियाविरुद्धको लडाइँ सन् २०२२ को विनाशकारी बाढीबाट गम्भीर रूपमा प्रभावित भएको थियो । उक्त बाढीले सन् २०२२–२०२४ अवधिमा थप ६६ लाख मामिला निम्त्याएको डनले बताएको छ ।

सन् २०२१ मा रिपोर्ट गरिएको तीन लाख ९९ हजार ९७ को तुलनामा मामिलाहरू सन् २०२३ मा २७ लाखमा पुगेको थियो । परिणामस्वरूप डब्लुएचओको पूर्वी भूमध्य क्षेत्रमा मलेरियाका मामिलाहरू सन् २०२३ मा अनुमानित एक करोड दुई लाखमा वृद्धि भएको थियो । यो सन् २०१५ देखि एक सय ३७ प्रतिशत वृद्धि हो ।

बढ्दो वृद्धिका बावजुद पाकिस्तानले विगत एक दशकमा मलेरियाको रोकथाम र उपचारमा उल्लेखनीय प्रगति गरेको छ । डब्लुएचओसँग काम गर्दै र एड्स, क्षयरोग र मलेरियाविरुद्ध लड्न ग्लोबल कोषको सहयोगमा पाकिस्तानले सन् २०२४ मा मात्र एक करोड १४ लाखभन्दा बढी संदिग्ध मामिला जाँच गरेको छ र २० लाख पुष्टि भएका मलेरियाका बिरामीहरूको उपचार गरेको छ ।

पाकिस्तानले २२ उच्च–भारित जिल्लामा ७८ लाख कीटनाशक–उपचारित जालीहरू पनि वितरण गरेको छ । यसले सन् २०२३ मा २७ लाखबाट गत वर्ष २० लाखमा मामिलाहरू घट्नमा योगदान पुर्‍याएको थियो ।

“मलेरियाको रोकथाम र उपचार गरेर जीवन बचाउन पाकिस्तानसँग साझेदारी गर्न पाउँदा डब्लुएचओ गर्व गर्दछ”, पाकिस्तानमा डब्लुएचओका प्रतिनिधि डापेङ लुओले भन्नुभयो ।

यद्यपि उहाँले जलवायु परिवर्तनले कडा परिश्रमबाट प्राप्त लाभलाई कमजोर बनाउँदै पाकिस्तानका लागि मात्र नभई सम्पूर्ण क्षेत्रका लागि खतरा निम्त्याइरहेको चेतावनी दिनुभयो ।

“मलेरियालाई कसरी अन्त्य गर्ने भन्ने हामीलाई थाहा छ । यदि सबै सरोकारवालाहरूले लगानी गर्छन् र प्रतिक्रियालाई सुदृढ गर्न र जलवायु परिवर्तनले निम्त्याएको नयाँ जोखिमहरूसँग अनुकुलन गर्न एकसाथ काम गर्छन् भने हामी यो गर्न सक्छौँ”, उहाँले भन्नुभयो ।

असी स्थानीय जिल्लामा पाँच हजार पाँच सय ७५ चिकित्सा सुविधाबाट सङ्कलन गरिएको तथ्याङ्कले बढ्दो तापक्रम र बारम्बार बाढीसँग सम्बन्धित मलेरियाका मामिलाहरूमा स्पष्ट वृद्धि भएको प्रवृत्ति देखाउँछ ।

अन्य योगदान कारकहरूमा गहिरिँदो गरिबी, गुणस्तरीय निदान र उपचारमा सीमित पहुँच, बलुचिस्तान, आदिवासी क्षेत्र र खैबर पख्तुनख्वामा सुरक्षा चुनौतीहरूका साथै सिन्धका केही भागमा स्वास्थ्य सेवामा पहुँचको कमी समावेश छन् ।

मलेरिया नियन्त्रण प्रयासहरू प्रभावकारी साबित भए पनि विशेषज्ञहरूले जलवायु परिवर्तनको प्रभावहरू पार गर्न, जीवन रक्षा गर्न र पाकिस्तानको स्वस्थ भविष्य सुरक्षित गर्न दिगो र समन्वित कार्य महत्त्वपूर्ण हुने कुरामा जोड दिएका छन् । रासस/एएनआई