• १५ वैशाख २०८२, सोमबार

मुलुकको स्वाधीनता पैसामा जोड्न सकिन्न : सञ्चारमन्त्री

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशभन्दा ठुलो कुनै एक संस्था नहुने बताउँदै अबको एक सातामा नेपालको कानुन अनुसार दर्ता नभए मेटालाई प्रतिबन्ध लगाउने बताउनुभएको छ । ललितपुरस्थित ग्वार्कोमा शनिबार आयोजना गरिएको नेपाली चलचित्र वितरक तथा प्रदर्शकको छाता संस्था नेपाल चलचित्र सङ्घको ५० औँ वार्षिक साधारण सभामा मन्त्री गुरुङले पटक पटक गरेर तीन पटक समय दिएको र अब नेपालको कानुन अनुसार नभए मेटाका फेसबुकलगायतका सेवा नेपालमा बन्द हुने बताउनुभयो । 

“मेटा भन्नेबित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् तर उनीहरूले नेपालको कानुन मान्दिनँ भन्न मिल्दैन, हाम्रो कानुन अनुसार दर्ता भई सञ्चालन हुनु पर्छ,” मन्त्री गुरुङले भन्नुभयो । 

मेटाले नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने मन्त्री गुरुङले बताउनुभयो । उहाँले आफ्ना लागि कुनै एउटा संस्थाभन्दा देश नै ठुलो रहेकाले कानुन अनुसार सञ्चालन नभएमा मेटाका सेवा बन्द गर्ने बताउनुभयो । 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले पदभार सम्हालेदेखि गर्ने भनिएको तीन काम लगभग अन्तिम चरणमा भएको बताउनुभयो । “चलचित्र क्षेत्रको पहिलो समस्या भनेकै नयाँ चलचित्र ऐन थियो, अब त्यो छिटै आउने सुनिश्चित भइसकेको छ । चलचित्र छायाङ्कनका लागि नेपालकै ठुलो स्टुडियो बनाउने कुरा पनि टेन्डर प्रक्रियाबाट अगाडि बढेर चाँडै शिलान्यास हुँदै छ । यसका साथै सिक्दो चाडो ‘बक्स अफिस’ मा ‘रियल टायम डाटा’ उपलब्ध हुने छ,” उहाँले भन्नुभयो । 

नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले सङ्घले नेपालमा चलचित्र हेर्ने संस्कृतिको कसरी विकास भयो भन्ने कुराको विषयमा चर्चा गर्नुभएको थियो । उहाँका अनुसार “हामीले प्रिन्ट (रिल) बोकेर पनि चलचित्र देखायौँ’, अहिले डिजिटल प्रविधि आइसकेको छ । त्यसैले पनि हामी समय अनुसार परिमार्जित भएर अगाडि बढिरहेका छौँ । ‘नेपालबाहेक अन्य देश पुगेर चलचित्र हेर्न खोज्नु हुने दर्शकका लागि उस्तै सुविधा दिने प्रयत्न गरिरहेका छौँ,” अध्यक्ष महर्जनले भन्नुभयो । 

कार्यक्रममा सङ्घमा उच्च योगदान दिनुभएका ११ जनालाई सम्मान गरिएको थियो भने अभिनेता हरिवंश आचार्य, हास्य कलाकार किरण केसी, निर्देशक पुर्नेन्दु झा, अभिनेतृ रेखा थापालगायत देशभरका चलचित्र भवन सञ्चालक (प्रदर्शक) उपस्थित रहेको थियो ।