• २३ असार २०८१, आइतबार

इन्जिनियरिङ लाइसेन्स परीक्षामा अनुत्तीर्ण बढी

blog

काठमाडौँ, असोज १० गते । नेपाल इन्जिनियरिङ परिषद्द्वारा सञ्चालित लासेन्स परीक्षाको नतिजा निकै निराशाजनक रहेको पाइएको छ । लाइसेन्स परीक्षामा स्वदेशमा भन्दा विदेशमा अध्ययन पूरा गरी फर्किएका इन्जिनियर बढी अनुत्तीर्ण हुने गरेका छन् । 

विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था थियो । गत वर्षबाट लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था सुरु भएको हो ।  

परिषद्ले दिएको जानकारी अनुसार गत चैतमा सञ्चालित पहिलो पटकको परीक्षामा दुई हजार छ सय जनाले परीक्षा दिएकोमा ५६५ जना अर्थात् २८.१६ प्रतिशत उत्तीर्ण भएका थिए । 

विदेश पढेर आएका ३७८ जनाले परीक्षा दिएकोमा जम्मा ५८ जना उत्तीर्ण हुन सके । सो परीक्षामा इन्जिनियरिङका २० विधाका इन्जिनियरहरू परीक्षामा सहभागी भएका थिए । त्यतिबेला आवेदन दिएका मध्ये त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका ४६ प्रतिशत, पूर्वाअञ्चल विश्वविद्यालयका २९.९४ प्रतिशत, पोखरा विश्वविद्यालयका ३०.९० प्रतिशत, मध्यपश्चिम विश्वविद्यालयका १७.७ प्रतिशत, काठमाडौँ विश्वविद्यालयका १५.३४ प्रतिशत र सुदूरपश्चिम विश्वविद्यालयका एक जना मात्रै उत्तीर्ण भएका थिए ।  परिषद्ले दोस्रो पटक गत असारमा परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा सहभागी दुई हजार ४६८ जनामध्ये ८०१ जना अर्थात् ३३.८७ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । त्यतिबेला विदेश पढेर आएका ४०४ जनामध्ये ४१ जना मात्रै उत्तीर्ण हुन सके । स्नातक तहको सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, आर्किटेक्चर, अटोमोबाइललगायत इन्जिनियरिङका २२ वटा विधाका लागि इन्जिनियरहरू लाइसेन्स परीक्षामा सहभागी भएका थिए । 

उत्तीर्णमध्ये काठमाडौँ विश्वविद्यालयका ६७.६८ प्रतिशत, त्रिभुवन विश्वविद्यालयका ४१.५८ प्रतिशत, पोखरा विश्वविद्यालयका ३४.९ प्रतिशत, पूर्वाञ्चलका २५.४९ प्रतिशत र मध्यपश्चिम विद्यालयका ११.६३ प्रतिशत उत्तीर्ण भएका थिए । परिषद्ले तेस्रो पटकको परीक्षा आगामी मङ्सिरमा सञ्चालन गर्दै छ । त्यसका लागि सोमबारसम्ममा दुई हजार चार सय जनाले फाराम भरिसकेका छन् । परिषद्का रजिस्ट्रार शिवमङ्गल गिरीले विगतका दुई परीक्षामा पूरक परीक्षाबाट उत्तीर्ण भएकाहरू सम्मिलित भएकाले नतिजा खस्किएको हुन सक्ने तर्क गर्नुभयो ।

इन्जिनियरिङ कलेजका सञ्चालकहरूको संस्था एसोसिएसन अफ इन्जिनियरिङ कलेजेज अफ नेपाल (एकोन) का सदस्य किशोर गौतमले विगतमा ‘ब्याक पेपर’ दिएर उत्तीर्ण गरेका मात्र लाइसेन्स परीक्षामा सम्मिलित भएको र अब चारवर्षे कोर्स पूरा गरेका नियमित विद्यार्थीले लाइसेन्स परीक्षामा सहभागिता जनाउने भएकाले उत्तीर्ण दर झन्डै दोब्बर बढ्न सक्ने दाबी गर्नुभयो । 

“परीक्षाका लागि परीक्षा सञ्चालन गर्ने नभई बजारको आवश्यकतासँग पनि परीक्षालाई जोड्न सक्नु पर्छ । प्रश्नमा पनि एकरूपता हुन नसकेको देखिएको छ । समस्या विद्यार्थीमा मात्र नभई परीक्षा पद्धतिमा पनि हुन सक्छ । परीक्षामा सुधार गर्न परिषद्लाई आग्रह गरेका छौँ,” उहाँले भन्नुभयो ।इन्जिनियरिङ परिषद्ले एक सय पूर्णङ्कमा कम्तीमा ५० अङ्क प्राप्त गर्नेलाई लाइसेन्स प्रदान गर्ने गरेको छ । परीक्षामा सबै प्रश्न वस्तुगत मात्रै हुने गरेका छन् । परीक्षमा गलत उत्तर दिएमा अङ्क घटाउने प्रावधान छैन । हाल नेपालमा ७८ हजार आठ सय इन्जिनियरले लाइसेन्स लिइसकेका छन् । 

  

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।