• १३ पुस २०८१, शनिबार

विचित्र चित्र (कविता)

blog


समाजभित्र चित्र छन् अपूर्व देख्न पाइने

निसर्गको विचित्रता अनन्त लेख्न पाइने !

छ जीवभित्र अस्मिता अनन्य भाव सिर्जिने

र जीवको स्वतन्त्रता सदावहार झैँ हुने !

‘अदम्य चाहना अहो दबाउँदै हिँडुँ किन ?

दबेर हिँड्न सक्छ के मभित्रको दरो मन ?

स्वतन्त्रता छ बाहिरी, छ भित्र खै खुलापन ?

युगीन दास झैँ कहाँ भजूँ परावलम्बन !

कला त पुज्न खोज्दछौ गरी निकृष्ट नाटक

पुजिन्छ खै कला कहाँ गरेर बन्द फाटक !

खुला कला, खुला गला, व्रिmयाकलाप होस् खुला

अपारदर्शिता रची नगर्नु रे कुरा ठुला !

नचाउँदै म नेत्रले तरङ्ग सिर्जना गरूँ

छचल्किँदै बगाउने सलल्ल भावना भरूँ

बसेर चल्मलाउँदा उठाइदिन्छु कम्पन

तरङ्ग चल्छ देहमा चली सयौँ प्रकम्पन !

बटारिएर उफ्रिने तरङ्गपूर्ण चालको

समुद्रमा मडारिँदै छचल्किने छ छाल जो

गतिप्रवाह रोकिने उपाय गर्न सक्छ को ?

प्रवाहशील प्रेमको प्रपात रोक्न सक्छ को ?

निखार्न खोज्छु जोसिँदै मभित्रको खरोपन

तिखार्न खोज्छु रौसिँदै मनुष्यको दरोपन

दरो–खरो, हराभरा गरी समस्त जीवनी

जलाउँदैछु जोसको प्रकाशपुञ्ज रोशनी !’

सदा हकार्न तम्सिने अभूतपूर्त अङ्गना

समाजमा सुनाउँछिन् रहस्यपूर्ण चाहना

सुनेर भावना नयाँ तरङ्ग उठ्छ बेसरी

रहस्यपूर्ण रागको निदान हुन्छ के गरी ?   

‘म पान गर्छु नेत्रले मनुष्यभित्रको रस

उठान हुन्छ गाउँदै उमङ्ग–गीत ‘कोरस’

कहाँ कताकता हुने सुषुप्त गुप्त भावना

मुहारमा छचल्किँदै उदाङ्ग हुन्छ चाहना

म चित्र खिच्छु चित्तले नचल्मलाउने तन

म पढ्न सक्छु भावना सधैँ छचल्किने मन !

सुरम्य चित्र खिच्नमा अकार्थ रोक्न सक्छ को ?

विलुप्त भाव पढ्न नै तुरुन्त छेक्न सक्छ को ?’ 

१०

धरी प्रचण्ड एषणा, गरी विचित्र घोषणा

अनन्य नागिनी बनी उनी उठाउँछिन् फणा !

स्वरूप भिन्न दृश्यको भएर आज दर्शन

मडारिएर चित्त यो छचल्किँदो छ यौवन !