• ३० वैशाख २०८२, मङ्गलबार

प्राविधिक विश्वविद्यालयले बढायो भर्ना अवधि

blog

खजुरा समाचारदाता

खजुरा, असोज ९ गते । नेपालगन्जमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले स्नातक तहमा आइटी कोर्स अध्ययनका लागि प्रवेश परीक्षा आवेदन म्याद बढाएको छ । इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानमा शैक्षिक सत्र २०८०–०८१ का लागि स्नातक तहमा सञ्चालन हुने कार्यक्रम ‘बी टेक इन सिएस एन्ड एआई’ र ‘बी टेक इन आइटी’ मा भर्नाका लागि आवेदन म्याद थप गरिएको कुलसचिव रेगबहादुर भण्डारीले जानकारी दिनुभयो ।

गत भदौ ६ गतेदेखि एक महिनाको म्याद राखेर भर्नाका लागि प्रवेश परीक्षा आवेदन माग गरेको थियो । विश्वविद्यालयले पुनः असोज ४ गते सूचना प्रकाशित गर्दै असोज १४ गतेसम्मका लागि समय बढाएको हो । “हामीले गत भदौ ६ गते सूचना प्रकाशित गरेर एक महिनाको समयसीमा राखेर प्रवेश परीक्षा आवेदन माग गरेका थियौँ, यो बिचमा ५५ जनाभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षाका लागि आफ्नो नाम दर्ता गराइसकेका छन्,” कुलसचिव भण्डारीले भन्नुभयो । 

कुलसचिव भण्डारीका अनुसार असोज १४ गतेसम्म आवेदन फारामका लागि एक हजार पाँच सय शुल्क र असोज २१ गतेसम्म विलम्ब शुल्क दुई हजार पाँच सय तिरेर विद्यार्थीले अनलाइन फाराम भर्न सक्ने छन् । विश्वविद्यालयले स्थापनाको यो पहिलो वर्ष इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानमा दुई वटा कार्यक्रम सञ्चालन गर्न लागेको हो । बी टेक इन सिएस एन्ड एआई विषयमा भर्ना हुनका लागि कक्षा ११ र १२ मा फिजिक्स, कमेस्ट्री र म्याथ विषय लिई न्यूनतम ‘सी’ ग्रेड अथवा द्वितीय श्रेणी ल्याएको हुनुपर्ने छ । 

बी टेक इन आइटीमा भर्ना हुन भने कक्षा ११ र १२ मा जुनसुकै विषय लिए पनि न्यूनतम ‘डी’ ग्रेड प्राप्त गरेको हुनुपर्ने छ । दुवै कार्यक्रमका लागि विद्यार्थी कोटा सङ्ख्या ४८–४८ जना रहेको छ । 

विश्वविद्यालयले छ जनालाई पूर्ण निःशुल्क, १२ जनालाई पूर्ण शुल्कमा ७५ प्रतिशत छुट, छ जनालाई स्थानीय तहबाट सिफारिस भई आएबमोजिम र २४ जनालाई पूर्ण शुल्क तिर्नुपर्ने गरी विद्यार्थीका लागि शुल्क कोटा पनि निर्धारण गरेको जनाएको छ ।