लीलाधर वली
घोराही, असोज ८ गते । घोराहीमा मासु पसललाई व्यवस्थितसँगै एकद्वार प्रणालीबाट स्वच्छ र सफा मासु बिक्री वितरण गर्ने उद्देश्यले निर्माण सुरु भएको बधशाला अलपत्र परेको छ ।
आर्थिक २०७६–७७ मा गुरुयोजना बनेर अर्थिक बर्ष २०७७–७८ बाट निर्माण सुरु भएको वधशाला बजेट अभावका कारण निर्माणको काम ठप्प छ । घोराही उपमानगरपालिका –१४ कपासीस्थित २२ कट्ठा जग्गामा निर्माण गर्न थालिएको वधशालाको काम अघि बढ्न नसकेको कपासी टोल विकास संस्थाका सचिव चन्द्र केसीले बताउनुभयो ।
वधशालासँगै टोल विकास संस्थाका लागि कार्यालय, खानेपानी लगायतका पूर्वाधारहरु निर्माण गरिदिने सहमति भए पनि अहिले वधशाला निर्माणको काम नै अलपत्र परेको सचिव केसीले बताउनुभयो ।
सचिव केसीले भन्नुभयो, ‘वधशाला निर्माणसँगै कपासी टोललाई खानेपानीको व्यवस्था गर्ने, संस्थाका लागि भवन निर्माण गरिदिनेलगायतका सहमति भएका थिए, तर अहिले वधशाला निर्माणकै काम हुन सकेको छैन । दुई वर्षदेखि वधशाला निर्माणको काम अलपत्र परेको छ ।’
बजारमा छरिएर रहेका मासु पसललाई व्यवस्थित गर्ने र उपभोक्तालाई स्वच्छ र सफा मासुको व्यवस्था गर्ने उद्देश्यअनुसार प्रदेश सरकारले घोराही उपमहानगरपालिकासँगको सहकार्यमा आव २०७७–७८ बाट वधशाला निर्माणको काम अघि बढेको थियो ।
जसअन्तर्गत वधशालाका लागि प्रशासनिक भवन, पशु चेकजाँच कक्ष र मासु बिक्रीका लागि १० वटा सटर निर्माण गरिए पनि बाँकी संरचनाहरु निर्माण हुन नसक्दा अलपत्र परेको छ । गुरुयोजनाअनुसार वधशाला निर्माणका लागि करिब दश करोड रुपिँयाको स्टिमेट भए पनि अहिलेसम्म करिब तीन करोड रुपियाँ बराबरको मात्र काम भएको घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले बताउनुभयो ।
उहाँका अनुसार उक्त रकम प्रशासनिक भवन, पशु चेकजाँच कक्ष, मासु विक्री कक्षसँगै डीपीआर बनाउनमा खर्च भएको बताउनुभयो । वधशाला निर्माणका लागि बजेट अभाव हुँदा दुई वर्षदेखि निर्माणको काम अघि बढ्न नसकेको महाशाखा प्रमुख पौडेलले बताउनुभयो ।
महाशाखा प्रमुख पौडेलले भन्नुभयो, ‘प्रदेश सरकारले तीन करोड रुपियाँ दिएपछि प्रशासनिक भवन, सटरलगायतका भवनहरु निर्माण भए, तर पानीका लागि डिप बोरिङ, ओभरहेड ट्याङ्की, खसी, बाख्रा, कुखुरा, राँगालगायतका राख्ने ठाउँ र अन्य संरचना बनाउन बाँकी नै छ ।’
प्रदेश सरकारबाट पहिलो वर्ष बजेट विनियोजन भए पनि गत बर्ष र यो वर्ष बजेट नै बिनियोजन हुन नसकेको महाशाखा प्रमुख पौडेलको भनाइ छ । घोराही उपमहानगरपालिका वडा १४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगी भने स्वामित्व लिएको उपमहानगरले बजेट व्यवस्थापन गरेर वधशाला निर्माणको कामलाई अघि बढाउने बताएको छ ।
डाँगीले भन्नुभयो, ‘आफ्नो क्षेत्रमा निर्माण हुन थालेको वधशालाप्रति उपमहानगरपालिकाले चासो दिने र बजेटको व्यवस्था गरेर निर्माणलाई अघि बढाउनुपर्छ, बजेटको अभाव भनेर निर्माणको कामलाई अलपत्र पार्ने काम गर्नुहुँदैन ।’
दैनिक दुई हजारदेखि २५ सय केजीसम्म मासु खपत हुने घोराही बजारमा वधशाला नहुँदा मासुको बजार व्यवस्थित हुन नसकेको व्यवसायीहरुको भनाइ छ । व्यवसायीहरुले जहाँ पायो त्यँही राँगा र खसीबाख्रा काट्ने र विक्री गर्दा मासु बजार व्यवस्थित हुन नसकेको महाशाखा प्रमुख पौडेलले बताउनुभयो । बधशाला निर्माणको काम रोल्पा निर्माण सेवा र लक्ष्मीपूजा कन्स्ट्रक्सनले गर्दैआएका छन् ।
वधशाला निर्माणका लागि चालु आर्थिक वर्षमा घोराही उपमहानगरपालिकाले १५ लाख रुपियाँ विनियोजन गरेको घोराही उपमहानगरपालिकाले जनाएको छ ।