• १३ पुस २०८१, शनिबार

मङ्गलबारको रात

blog

(कञ्चना अमिलानी १७ वर्षभन्दा बढी व्यावसायिक अनुभव बोकेकी पत्रकार हुन् । उनी लेखिका, विशेषतः एक कवि र एक ब्लगर पनि हुन् । उनको पहिलो उपन्यास ‘गुहा सटाना’ सेप्टेम्बर २०२० मा प्रकाशित भएको थियो । ‘मङ्गलबारको रात’ उनको पहिलो लघुकथा सङ्ग्रह ‘गमिरिस कुरुल्ला’ बाट लिइएको हो ।)

म मङ्गलबार राति निद्राबाट ब्युँझिएपछि यस्तो भएको हो । बानी अनुसार भान्साकोठामा दुधको एक कप कडा चिया बनाउन गएँ । त्यहाँ पुगिसकेपछि मन परिवर्तन गरेँ र पहिले आफ्नो अनुहार धुने निर्णय गरेँ ।

दिनको यस समयमा, सबै एफएम च्यानलहरूले प्रायः धार्मिक कार्यक्रम प्रसारण गर्छन् । त्यसैले बाथरुमतिर जाँदाजाँदै मैले रेडियो पनि खोलिहालेँ । अन्त्यमा मैले नुहाउने निर्णय गरेँं । काममा जाने हतारो थियो । त्यसैले चाँडै दाह्री काटेँ, छिटोछिटो नुहाएँ र हिजो रातिदेखि नै लगाएको सुती सर्ट लगाएर बाहिर निस्किएँ ।

“ऐस... के तिमी मेरा लागि एक कप बाक्लो दुधचिया बनाउन सक्छौ ?” यति अनुरोध गर्दै म भान्साकोठामा प्रवेश गरेँ । तर त्यहाँ मेरा आँखाले विश्वास गर्नै नसक्ने दृश्य थियो । ऐस भान्सामा पूरै नग्न थिई खाना पकाउनमा मस्त । उसले मतिर लम्किएर हेरी र नरिवलको खबटाको डाडुले माछाको तरकारी चलाउन थाली । 

म केहीबेर निःशब्द भएँ ।

“अभि, मैले चिया बनाउँदा तिमी सलाद बनाउन सक्छौ ? ढिलो भइसकेको भए पनि तिमीले नुहाइहाल्यौ ।”

“एस, तिमी पागल हौ... किन लुगा नलगाएकी ?”

उनले आफ्नो टाउको घुमाइन् र मलाई अनौठो नजरले हेरिन् । म भने कहिल्यै नदेखेको जस्तो गरी उनको शरीरलाई हेर्न थालेँ । पहिल त उनी मूर्ति जस्तै देखिन्थिन् । तर उनी मूर्ति नै हुन् भन्ने चाहिँ सोच्न सकिनँ । 

उनी दुधचिया बनाउँदै थिइन् । 

“अभि, अब मैले फेरि कहिल्यै लुगा लगाउने छैन । हिजो अन्तिम दिन थियो ।”

मेरो मुख सुक्यो । के यो महिला पागल भएकी छे ? मेरो टाउको विभिन्न विचारले हल्लिन थाल्यो । अन्त्यमा म एउटा प्रश्न सोध्न सफल भएँ । भनेँ “तिमीले आज घरमा काम गर्दा केही लगाउने छैनौ भन्न खोजेकी हौ ?”

“होइन, होइन, होइन । म कतै जाँदा पनि र घरमा बस्दा पनि कुनै लुगा लगाउने छैन ।”

यति भन्दै उनले पछाडिको ढोका खोलिन् र भान्सा सफा गर्दा जम्मा गरेको फोहोर बाहिर फाल्न थालिन् ।

दुई छलाङमा उनको बाटो अवरोध गर्दै म ढोकामा उभिएँ । 

“तिमी पागल हौ ? ढोका नखोल । तलको घरका बस्ने फटाहाहरू मुख आँ गरेर हेर्दै छन् । यहाँ, खै फोहोर मलाई देऊ । म फाल्छु ।”

उनले मतिर एउटा आकर्षक मुस्कान फ्याँकिन् र काम गर्न दिइन् । बन्द झ्यालबाट छिरेर सूर्य उनको घाँटीमा चम्क्यो र उनका स्तनहरूमा फैलिएर एउटा अविश्वसनीय सुन्दर छवि सिर्जना ग¥यो । उनी एउटा मूर्तिजस्तै सुन्दर छिन्– मैले फेरि सोचेँ ।

“चिया सक पहिले । हामी दुवै आज धेरै ढिलो हुने छौँ । तिमी सामान्य रूपमा धेरै समय लिन्छ्यौ । जाऊ, लुगा लगाऊ । म खाजा प्याक गर्छु ।”

यति भन्दै ऐसले मेरो गालामा चुम्बन गरिन् । उनका ओठ अनौठो प्रकारले चिसिएका थिए । मलाई कुहिरोबाट गुज्रिए जस्तै लाग्यो । यसअघि उनीबाट यसरी चुम्बन कहिल्यै पाएको थिइनँ । मेरी श्रीमती भए पनि पहिले कहिल्यै दिएकी थिइनन् यस्तो चिसो चुम्बन । म फेरि ढोकामा रोकिएँ र उनलाई हेरेँ ।

“किन ? के हेर्दैछौ ? पूरै सेभ गर्दा तिमी केटाकेटी जस्तो देखिन्छौ । भोलि दाह्री नफाल्नू है, ठिक छ ? त्यसै छोड्नू । मलाई मन पर्ने लुक नै त्यही हो ।”

ऐस सामान्यतया यस्ता रोमान्टिक कुराहरू कहिल्यै बोल्दैनथिन् । उनी गहिरो निद्रामा परेर भर्खर उठे जस्तो अभिनय गरिरहेकी थिइन् । तर उनको बोल्ने तरिका मलाई मन प¥यो । त्यसपछि उसले भनेको कुरा याद आयो– उनी काममा जाँदा कुनै लुगा लगाउने छैनन् । म सुत्ने कोठामा गएर वार्डरोब खोलेर हेरेँे काम गर्न जाँदा लगाउने कुनै लुगामा इस्त्री लाएर राखेकी छिन् कि भनेर । त्यहाँ झुन्डिएका लुगामा मेरो खैरो प्यान्ट र नीलो धर्के स्लिम–फिट सर्ट मात्र थिए । उनले मेरा लागि टाई राख्न पनि बिर्सेकी थिइन् । मैले सामान्यभन्दा छिटो लुगा लगाएँ ।

त्यतिकैमा ऐस हिन्दी धुन गुनगुनाउँदै आइन् । उनी आफ्नो ज्यान तौलियाले पुछिरहेकी थिइन् । म र मेरा लुगाको समीकरण मिलाउन उनले मेरा लागि ओछ्यानमा बिछ्याइएका धेरै टाईबाट एउटा छान्ने प्रयास गरिरहेको देखेँ ।

“टाई नलगाऊ अभि । मलाई बन्धन मन पर्दैन । आफ्नो सर्टको माथिको बटन पनि खोल ।”

“के तिमी पागल हौ, ऐस ? म यस्तोमा कसरी काम गर्न जान सक्छु ? म कसरी मेरा कर्मचारीलाई नियन्त्रण गर्न सक्छु ? तिनीहरूले म पागल हुँ भन्ने सोच्ने छन् ।”

“हो, पक्कै पनि तिमी पागल हौ । के तिमी आफ्ना कर्मचारीलाई त्यो शीर्ष बटन र टाईले नियन्त्रण गर्छौ ?”

“त्यो मेरो कुरा हो । लुगा लगाउने होइन ? यति धेरै समय लाग्यो भने कहिले हिँड्ने ? मलाई अहिले नै ढिलो भइसक्यो । आज मेरो एउटा बैठक छ । म त्यसलाई मिस गर्न सक्दिनँ । आऊ, छिटो तयारी गर ।”

“चिन्ता नगर । मलाई जुत्ता लगाउन र मेरो ह्यान्डब्याग बोक्नु आवश्यक छ ।”

“कस्ती शैतान महिला ! मसँग धेर विवद नगर । कसरी सडकमा नाङ्गै हिँड्न सक्छौ ?”

“किन नहुने ? यदि तिमी मलाई कारमा लैजान लाज मान्छौ भने, म ट्याक्सीमा जान्छु । अब त मलाई नै पनि ढिलो भइसक्यो । आज पक्कै पनि हाकिमले गाली गर्ने छ ।”

उनले मेरो कुराको बेवास्ता गरिन् । म हतार हतार कोठाबाट बाहिर निस्किएँ र हामी सुत्ने कोठाको ढोकामा पछाडिबाट ताल्चा लगाइदिएँ । त्यसपछि म मुख्य ढोकामा ताला लगाएर गाडीतिर दौडिएँ । अलि टाढैबाट मैले ढोका ड्याम्म पारेको अलि मधुरो आवाज सुनेँ । म केहीबेर कारमा पावर अन नगरी बसेँ र अब के गर्ने भनेर सोच्न थालेँ । म यो कुरा कसलाई भन्न सक्थेँ र ? यदि मैले मेरो परिवारलाई बताएँ भने बढो अनर्थ हुने छ । म ऐसको परिवारलाई पनि भन्न सक्दिनथेँ । उसको भाइ फटाहा थियो । 

अन्त्यमा मैले मेरा दुई नजिकका साथीमध्ये एकलाई भन्ने निर्णय गरेँ । ऐस मेरो फोनमा घन्टी बजाउँदै थिई र मलाई ननस्टप टेक्स्ट गर्दै थिई । म ती सन्देश हेर्न पनि डराइरहेको थिएँ ।

“मचन, रणेश । म अलि अप्ठ्यारोमा छु । तिमीहरू कहाँ छौ?” मैले रणेशलाई सास रोकेरै सोधेँ । रणेशले अचम्मित स्वरमा जवाफ दियो, “म कामका लागि बाटोमा छु । नुगेगोडानजिक पुगेको छु । म दस मिनेटमा अफिस पुग्छु आउन चाहन्छौ भने मेरा अफिसमा आऊ । कि म तिमी जहाँ छौ त्यहीँ आऊँ ?”

“होइन, म नै आउँछु ।”

त्यो मेरो जीवनमा मैले अहिलेसम्म चलाएको सबैभन्दा छिटो कार सवारी थियो । म पत्याउनै नसकिने गरी छोटो समयमा रणेशको अफिसमा पुगेँ । अचम्मको आत्मविश्वासका साथ मैले पहिले कहिल्यै नगुडेका बाइ–रुटहरू लिएँ । 

मैले गाडी रोकेँ र बाहिर निस्किएँ । रणेश मलाई पर्खिरहेको थियो ।

“तिमीलाई के भयो? के तिमीले कसैलाई हिर्काएर मा¥यौ ?”

“होइन, यो ऐससँगको समस्या हो ।”

“के ?”

“हो, उनी नाङ्गै काममा जान खोजिरहेकी छिन् । उनी भन्छिन्, अब कहिल्यै लुगा लगाउँदिनँ । मैले उनलाई घरभित्रै बन्द गरिदिएर यहाँ आएको । उनले अहिलेसम्म केके गरिन् मलाई थाहा छैन ।”

“हे भगवान् ! यो त अविश्वसनीय कुरा भयो । यस कुराले त तिमीलाई विश्वभर प्रसिद्ध बनाउने छ ।”

“यो मजाक गर्ने समय होइन ! यस्तो भयो भने मलाई पनि बिनावस्त्र हिँडेकै जस्तो लज्जाबोध हुन्छ । पागल जस्तो नहाँस तिमी । मलाई केही सल्लाह देऊ– मैले के गर्नु पर्छ ? ऐसको अफिसले उसलाई अहिले बोलाएको हुनु पर्छ । त्यो महिला झ्याल तोडेर काममा जान भनेर निस्कन पनि सक्ने । तिमीलाई थाह छ ऊ कस्ती छ । उसले भनेपछि भनी भनी ।”

“तिमी किन घर गएर उनीसँग मायालु कुरा गर्ने प्रयास गर्दैनौँ र यसलाई मिलाउँदैनौै ? यस मामलामा प्रहरीमा उजुरी गर्नु पनि खासै उपयुक्त देखिनँ मैले । तिमी दुई मात्र समाधान गर्न सक्छौ ।”

रणेशले भनेको कुरा सत्य हो जस्तो लाग्यो । यद्यपि मलाई अझ राम्रो सल्लाह चाहिएको थियो । तर मसँग बरालिइरहने समय थिएन । त्यसैले म घरै गएँ । बाटोमा रणेशलाई यो कुरा खुलासा गर्नु मूर्खतापूर्ण काम हो भन्ने अनुभूति भयो ।

अहिले भने ऐसले मलाई फोन गर्न छाडेकी थिई । मोबाइलमा सन्देश पठाउने व्रmम पनि रोकिएको थियो । म चिन्तित थिएँ– उसले आफैँलाई कुनै कठोर यातना त दिइनँ ? 

बढो सावधानीका साथ मैले ऐसलाई फोन गरेँ । दुई घन्टी बज्नुअघि नै उसले जवाफ दिई– “तिमी धेरै छुच्चा छौ प्रिय । तिमीले मलाई बन्द गरिदिएर गयौ । ढिलो हुँदै गएपछि मैले हाकिमको गाडी बोलाएँ र काम गर्न आएँ ।”

“एस प्रिय, तिमीले काममा जाँदा लुगा त लगायौ नि ?”

उनले उत्तेजित हाँसो जारी राखिन् । त्यो मेरिलिन मोनरो प्रकारको हाँसो थियो ।

“मैले तिमीलाई बिहानै भनेकी थिएँ नि अभि, म अब कहिल्यै लुगा लगाउने छैन भनेर । यो धेरै सहज लाग्छ प्रिय...।”

मैले सडकका बिचमा ब्रेक लगाएँ । करिब पाँच मिनेटमा मात्र के गरेछु भनेर बुझेँ, जब मेरो पछाडि रोकिएका गाडीले हर्न बजाएर कोलाहल खडा गरे । 

मलाई थाहा थियो ऐसलाई उनको कार्यस्थलमा खोज्नुको कुनै फाइदा हुने छैन । त्यसैले म अफिसतिर नगई सीधै घरतिर लागेँ । अगाडिको ढोका फराकिलो पारेर खोलिएको थियो । त्यहाँ चाबी झुन्डिएको पनि थिएन । म सावधानीपूर्वक भित्र पसेँ तर त्यहाँ कोही थिएन । कुनै चोर पसे जस्तो पनि लागेन । दुःख र एक्लोपनबाट बाहिर निकाल्न मैले टिभी अन गरेँ । टाई फुकाएँ र जुत्ता फुकालेँ । अचानक टिभीमा चलिरहेको एउटा ब्रेकिङ न्युज बुलेटिनले मलाई समात्यो । एउटी महिलाको नाङ्गो पिठ देखाइँदै थियो र ऊ ऐस जस्तै देखिन्थी । मलाई बेहोस हुन्छु जस्तै लाग्यो । समाचारका दृश्य ऐसकै अफिस अगाडिको थियो । उनले गुलाबी स्टिलेटोस र गुलाबी सनग्लासको सानदार जोडी लगाएकी थिइन् । हातको झोला पनि गुलाबी नै थियो । नङ फिक्का गुलाबी रङमा रङ्गिका थिए । उनी भने पूरै नग्न थिइन् । पृष्ठभूमिमा उनको मालिक हतारिएर सिढी ओर्लंदै गरेको देखिन्थ्यो उसको ठुलो भुँडी हल्लाउँदै । 

वरपर ट्राफिक जाम भयानक थियो । उनको वरिपरि चिच्याइएका शब्दहरू म प्रस्टै सुन्न सक्थेँ । ऐस आफ्नो नियमित गतिमा सिँढी चढ्दै थिइन् । सुन्दर हिँडाइ । उनका साहकर्मीहरू गालामा हात राखेर केही डरका साथ उनलाई हेरिरहेको थिए । सहयोगीहरू कार्यस्थलमा लाममा उभिएर यसरी घाँटी तन्काएर हेरिरहेका थिए मानौँ उनीहरू ऐसलाई निल्न चाहन्छन् । मैले टिभी एन्करले बडबड गरेको पनि सुनेँ पृष्ठभूमिमा तर उसको कुरा भने बुझ्न सकिनँ । मैले रिमोटले टिभीलाई बलपूर्वक हिर्काएँ । तर त्यो उछिट्टिएर मैतिर आयो । यस्ता चिजहरू काँचका बनाइनुु हुँदैन । सजिलै टुट्दैनन् ।

“म बर्बाद भएँ । पूर्ण रूपमा समाप्त भएँ । मेरी श्रीमती नाङ्गै अफिस गइरहेकी छे र यो खबरमा जताततै फैलिएको छ ।”

एक्कासि मेरो मोबाइल र घरको फोन एकै पटक बज्न थाले । मैले टाउको समाएँ र सोफामा डुब्दै के गर्न सक्छु भनेर सोच्ने प्रयास गरेँ । तर मेरो दिमागमा केही आएन ।

मोबाइल उठाएँ ।

“अभि, काममै जाने लुगा लगाएर किन सुतिरहेका छौ प्रिय ?”

ऐसले मेरो गालामा हानेको महसुस गरेँ र उठेँ । एक क्षणका लागि मलाई यो सबै सपना जस्तो लाग्यो ।

“यो महिला अझै पनि पूर्ण नग्न छे... ।”

“मबाट टाढा जाऊ । तिमीलाई लाज छैन ? कि मलाई अहिले घाँटी थिचेर मार । तिमी नाङ्गै घुमेको हेर्नुभन्दा त्यो राम्रो हुन्छ ।”

“अभि, तिमी मसँग त्यस्तो स्वरमा किन कुरा गर्छौ ? पहिले त मसँग यसरी बोल्दैनथ्यौ त ।”

उनी मलाई लगातार चुम्बन गर्न थालिन् । यो एक आपत्कालीन स्थिति थियो । मैले मेरो आव्रmोश समाप्त गर्ने मौकै पाइनँ र मिनेटमै नरम हुन थालेँ ।

उनी मूर्ति जस्तै थिइन् । उनको शरीरमा सावधानीपूर्वक मूर्तिकला गरिएको जस्तो देखिन्थ्यो । ममाथि घोप्टिएको बेला उनको शरीर निद्रामा परेको जस्तो देखिन्थ्यो । उनका कच्चा स्तनहरू पसिनाका केही दानाले सजिएका जस्ता देखिन्थे । उसका फिक्का गुलाबी नङहरू मेरो काँधमा टाँसिए । उनका घुमाउरा तिघ्रा मेरा खुट्टासँगै टाँसिएका थिए । म होसमा आएँ– यो मेरी श्रीमती हो । ऊ नाङ्गो हुनुमा कुनै आपित्त छैन... ।

“ऐस... उठ, प्रिया... ।”

उनी झसङ्ग भइन् । उनका फिक्का गुलाबी ओठहरू काँपिरहेका थिए । उनका गोलाकार आँखाले मलाई प्रश्न गर्दैथिए, “अभि... किन ?”

“तिमीले कुनै पनि लुगा लगाउँदिनौ भने, त्यो ठिक छ । काममा जाँदा पनि केही लाउँदिनौँ भने पनि ठिक छ । म पनि अबदेखि कुनै लुगा लगाउने छैन । आज मेरो पनि लुगा लगाउने अन्तिम दिन हो ।”

“एई.. के तिमी पागल हौ ? नाङ्गै काम गर्न जाने ? मानिसहरूले हामीलाई ढुङ्गा हान्ने छन् । हामी टिभीमा देखाइने छौँ । धत् म यो चाहन्नँ । यो सोच्दा पनि मलाई रिस उठ्छ । तिमी कसरी यति निष्ठुरी बन्यौ ?”

उनले मलाई सोफाबाट धकेलिन् र तिघ्रा हल्लाउँदै हाम्रो कोठामा गइन् ।

“अभि, जाऊ । अलिकति लुगा लगाऊ... ।”

मैले टाढाबाट उनको आवाज सुनेँ । 

अनुवाद ; महेश पौड्याल