हाङझाउ, असोज ७ गते । १९औं एसियाड दौरान भियतनामविरुद्ध पहिलो खेलमा घाइते हुनुभएकी नेपालकी महिला फुटबल खेलाडी सरु लिम्बु चोटका कारण ६ देखि ९ महिना मैदान बाहिर रहनुपर्ने भएको छ । मिडफिल्डर सरुको आइतबार घुँडाको सफल शल्यक्रिया भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार सरुको हाङझाउस्थित लोङवान अस्पतालमा घुँडाको सफल शल्यक्रिया भएको हो । वेन्झो ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा शुक्रबार भएको भियतनामविरुद्ध पहिलो खेल खेल्ने क्रममा सरु घाइते हुनुभएको थियो ।
३५औं मिनेटमा मैदान छाड्नुभएकी सरुको मैदानको ल्यान्डिङ नमिल्दा सरुको एसिएल र मिनिस्कस टिएर भएको थियो । एसियाड महिला फुटबलमा डेब्यु गरेको नेपाल पहिलो खेलमा भियतनासँग २-० गोलले पराजित भएको थियो ।
अब सरुले एसियाडको बाँकी खेल गुमाउनुका साथै ६ देखि ९ महिना आराम गर्नुपर्ने एन्फाले जनाएको छ । महिला फुटबलमा नेपाल समूह डी मा रहेको छ । नेपालले दोस्रो खेल सोमबार जापानसँग खेल्नेछ ।