• १२ असार २०८२, बिहिबार

वन्यजन्तुको अस्तित्व सङ्कटमा

blog

फाइल तस्बिर ।

कुस्मा समाचारदाता

कुस्मा (पर्वत), असार १२ गते । पर्वत जिल्लालाई जैविक विविधताका दृष्टिले समृद्ध मानिए पनि संरक्षण रणनीतिको अभाव खड्किएको छ । जिल्लामा पाइने विविध प्रकृतिका वन्यजन्तुको अध्ययन र संरक्षणका लागि राज्यको ध्यान पुग्न सकेको छैन ।

पर्वतमा लोपोन्मुख प्रजातिका वन्यजन्तु चितुवा, घोरल, लङ्गुर, धुवाँ बाँदर, मृग, गिद्ध, हिमाली गिद्ध, सेतो आदि पाइन्छन् । सङ्कटापन्न सूचीमा पर्ने वन्यजन्तु प्रजातिको रेड पान्डासमेत पर्वतमा पाइन्छ । यीलगायत रातो बाँदर, वन भैँसी, वन सुँगुर, स्याल, भालु, वनबिरालो, वन कालिजलगायत प्रजातिका वन्यजन्तु जिल्लाको विभिन्न राष्ट्रिय तथा सामुदायिक वनक्षेत्रमा पाइन्छन् ।

 विभिन्न प्रजातिका जङ्गली जनावरको विस्तृत र नियमित अध्ययन नहुँदा संरक्षण, विकास र नीति निर्माणलगायतका सबै पक्षमा बाधा पुगेको जिल्ला वन डिभिजन कार्यालयको गुनासो छ । जिल्लामा पाइने कुन प्रजातिका वन्यजन्तु सङ्कटग्रस्त छन्, कति सङ्ख्या र कस्तो अवस्थामा छन् भन्नेबारेमा वैज्ञानिक अनुसन्धान र खोजी भएकै छैन । 

जिल्ला वन डिभिजन कार्यालयका वन अधिकृत राम विकका अनुसार कार्यालयसँग जिल्लामा पाइने वन्यजन्तु कुन क्षेत्रमा कति सङ्ख्यामा रहेका छन् भन्ने यकिन जानकारी नहुँदा अवैध चोरी सिकारी र तस्करीको सम्भावना छ । वन कार्यालयका प्रमुख हेमलाल न्यौपानेले जिल्लामा वन्यजन्तुको अवस्थाबारे अनुसन्धान गर्ने कार्य वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र पोखरामा भएको बताउनुभयो । 

प्रमुख न्यौपानेका अनुसार जिल्ला डिभिजन वन कार्यालयले वन्यजन्तुको अवस्थाबारे विस्तृत अध्ययन र खोजी गर्दैन । जिल्लामा वन्यजन्तुको वासस्थानमा अध्ययन, निगरानी र संरक्षणमा आवश्यक पहल नहुँदा मानव–वन्यजन्तु द्वन्द्व बढ्दो छ । वन्यजन्तुले खेतीबाली नोक्सान गर्ने, गाईवस्तुलाई आक्रमण गर्ने र वन्यजन्तुको पनि मृत्यु हुने गरेको पाइन्छ । 

आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ को असार मसान्तसम्मको अवधि हेर्दा ३३ वटा चितुवा मृत भेटिए भने पाँच वटाको उद्धार गरिएको वन डिभिजन कार्यालयको तथ्याङ्कले देखाएको छ । वन कार्यालयका अनुसार आव २०७९/८० मा मात्रै नौ वटा चितुवा मरेको अवस्थामा भेटिएका थिए । बर्सेनि मृत फेलापर्ने गरेका अन्य वन्यजन्तुमा राजवंशी लोखर्के, मलसाँप्रो, नीरबिरालो, रतुवा मृगलगायत छन् ।

जिल्लामा भएका विकास निर्माणका काम र परियोजना वातावरणमैत्री नहुँदा जीवजन्तुको वासस्थान नष्ट हुने खतरा बढ्दो छ । वन्यजन्तुको अध्ययन, अनुसन्धान र पहिचान हुन नसक्दा जैविक विविधता नष्ट हुने उत्तिकै खतरा रहेको वन अधिकृत न्यौपाने बताउनुहुन्छ । जिल्लाको उत्तरी भेग खासगरी जलजला, बुढीगाउँ, देउराली, काँफलडाँडा, ठाना, लामघुरलगायतका वनक्षेत्रमा लोपोन्मुख प्रजातिका धेरै वन्यजन्तु पाइने गरेको बताइन्छ भने लोपोन्मुख प्रजातिमा पर्ने घोरल पर्वतको बुढीगाउँ र पकुवाडाँडाको वनक्षेत्रमा पाइन्छन् ।