निशा राई
धरान, साउन ५ गते । साउन महिनाको पहिलो सोमबार धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा पूजा गर्न भक्तजनहरुको भीड छ । साउन महिनामा शिव मन्दिरमा गई पूजा गर्नाले मनोकांक्षा पूरा हुने हिन्दु धर्मावलम्बीमा विश्वास छ । विशेषगरी शिव मन्दिरहरुमा महिला भक्तजनको भीड हुने गर्दछ ।
साउन महिनाभर देशभरका शिव मन्दिरहरुमा गेरुवस्त्रधारी बोलबम भक्तजनहरुको भीड हुने गर्दछ । विशेषगरी साउन महिनामा विजयपुर डाँडामा रहेको धार्मिक ऐतिहासिक पिण्डेश्वर बाबाधाम मन्दिरमा सप्तकोशी नदीको जल ल्याई बेलपत्रसहित जल चढाउनाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । पिण्डेश्वर बाबाधाम मन्दिरमा पहेलो गेरुवस्त्रधारी बोलबम भक्तजनहरुको भिड हुने गरेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास कुमार बनेपालीले बताउनुभयो ।
उहाँका अनुसार पहिला–पहिला खाली खुट्टै वराहक्षेत्र नगरपालिकास्थित सप्तकोशी नदीबाट पैदल हिँडेर जल ल्याउने प्रचलन थियो, हाल धेरैजसो सवारी साधनबाट आउने गरे पनि कतिपय भक्तजन पैदल हिँडेर नै जल ल्याई बेलपत्रसहित शिवलिङ्गमा चढाउने गर्दछन् ।
यसरी साउन महिनाभरि सप्तकोशी नदीमा स्नान गरी जल भरी हजारौंको सङ्ख्यामा पिण्डेश्वरी बाबाधाममा जल चढाउने भक्तजनहरुको भिड रहेको हुन्छ । विशेषगरी साउन महिनामा महिलाहरुले हरियो, पहेलो रङका वस्त्र, चुरा र मेहेन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने प्रचलन छ । यसरी व्रत बस्दा श्रीमानको आयु लामो हुने, घरपरिवारमा शान्ति मिल्ने, मनोकांक्षा पूरा हुने विश्वास रहेकोले विवाहित तथा अविवाहित युवती महिलाले शिव मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् ।
साउन महिनामा भगवान् शिवलाई जल, बेलपत्र, लगायत शिवलिङ्गमा अर्पण गर्नाले भगवान शिव प्रसन्न हुने पनि धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ । वैदिक र पौराणिक कालमा समेत ऋषिमुनि र भगवानहरूले महादेवलाई शान्त प्रसन्न बनाउनका लागि बोलबम पदयात्रा गर्ने गरेको र बेलपत्रसहित जल अर्पण गर्ने गरेको धर्मशास्त्रीय मान्यता छ ।
साउन महिनाभरि एक महिनासम्म सञ्चालन हुने बोलबम पूजामा भक्तजनहरूको धेरै भिडभाड हुने भएकाले सोही अनुसार पिण्डेश्वर बाबाधाममा व्यवस्था मिलाइएको मन्दिरको समितिले जनाएको छ ।
भक्तजनहरूको सुविधाका लागि सुरक्षाका साथै वर्षाका बेला मन्दिरभित्र भक्तजनहरूलाई ओतको समेत व्यवस्था गरेको समितिले जनाएको छ । पिण्डेश्वर मन्दिरमा बोलबम पूजा गर्न नेपालका अधिकांश जिल्लालगायत छिमेकी देश भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।