हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असार १२ गते । ल्होमन्थाङ गाउँपालिकाले ऐतिहासिक र सांस्कृतिक ल्होमन्थाङ गाउँलाई चारैतिरबाट घेरिएको माटोको पर्खालको मर्मत गर्ने भएको छ । मुस्ताङका प्रथम राजा अमपालले विसं १४९७ मा बस्तीको चारैतिर जनताको सुरक्षाका लागि उक्त पर्खाल निर्माण गरेका थिए । सोही पर्खालका कारण माटोको सहर भनेर चिनिने ल्होमन्थाङलाई विश्वभरका पर्यटकको आकर्षणको केन्द्र बनाउने गरी मर्मत गरिने भएको हो ।
मङ्गलबार सम्पन्न २० औँ गाउँ सभाका अवसरमा समुद्री सतहदेखि सात हजार ७२० मिटरको उचाइमा अवस्थित ल्होमन्थाङ ८५६ मिटर लामो र नौ मिटरको हाराहारीमा उचाइ रहेको काँचो माटोले बनाइएका पर्खालको मर्मतसँगै पर्यटकलाई आकर्षित गरिने गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३२ करोड ६० लाख रुपियाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष छयुमी विष्ट गुरुङले चालु खर्चतर्फ ११ करोड ७४ लाख ६३ हजार र पुँजीगततर्फ २० करोड ८५ लाख ८७ हजार रुपियाँ प्रस्ताव गर्नुभएको छ । गाउँपालिकाको विषयगत समितितर्फ आर्थिक विकास दुई करोड ६३ लाख, सामाजिक विकासतर्फ चार करोड ३९ लाख ५५ हजार, पूर्वाधारतर्फ आठ करोड १२ लाख ५० हजार, सुशासनतर्फ एक करोड २८ लाख, तीन हजार र विपत्मा ४१ लाख रुपियाँ रहेको छ ।
गाउँपालिकाले जलवायु परिवर्तनका कारण माथिल्लो क्षेत्रमा फस्टाउन थालेको स्याउ खेतीमा आकर्षित गर्न माटो सुहाउँदो प्रजातिको स्याउ बिरुवा वितरणमा ३० लाख, स्थानीय स्तरमा उत्पादन हुने आलु, फापरको बजारीकरण, जाडोयाममा सहज हुने गरी एक गाउँ एक तातो कोठा बनाउनेलगायत स्थानीय स्तरमा सङ्कलन गरिएको सुझाव अनुसार बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास केसीले बताउनुभयो ।