• १२ असार २०८२, बिहिबार

द्वन्द्वपीडित महिलाको आवाज ‘हामी एकल होइनौँ, साहसी र सक्षम हौँ’

blog

भरतपुर समाचारदाता

चितवन, असार १२ गते  । ‘हामी एकल होइनौँ, साहसी र सक्षम महिला हौँ’ सशस्त्र द्वन्द्वको समयमा आफ्ना श्रीमान् गुमाएका महिलाको आवाज हो यो । विसं २०५२ देखि २०६२ सम्म चलेको सशस्त्र द्वन्द्वको समयमा तत्कालीन सत्तापक्ष र विद्रोही पक्ष दुवैबाट हत्याका घटना भएका थिए । शान्ति प्रव्रिmयामा आइसकेपछि राजनीतिक दल अहिले सरकारमा जान चुनावदेखि सरकार गठनसम्ममा सहकार्यमा छन् । द्वन्द्वमा आफ्नो मान्छे गुमाउन पुगेका परिवारले अहिलेसम्म राहतको अनुुभूति नपाउनुु दुःखद भएको उनीहरूले आवाज उठाउँदै आएका छन् ।  

आफ्नो उमेर २५ वर्ष मात्रै हुँदा श्रीमान् गुमाउनुभएकी लालकुमारी सिलवाल (थपलिया) ले यतिबेला पुरानो पीडा बिर्सनुभएको छ । प्रहरीमा जागिरे श्रीमान्को हत्या हुँदा उहाँको काखमा दुधे बालक र दुई वर्षकी छोरी थिइन् । ‘छोराछोरी हुर्काइबढाइ गरेर छोरीको बिहे पनि गरिसक्नुभयो । अहिले द्वन्द्वपीडितको अधिकारका लागि बहस पैरवी गर्दै आउनुभएको छ । श्रीमान्को अनुपस्थितिमा आफूले जे जति गर्न सकेँ त्यो एक साहसी महिलाले मात्र गर्न सक्छन् भन्ने मान्यता राख्ने सिलवाल भन्नुहुन्छ, “श्रीमान् नहुँदाको पीडा त हुने नै भयो तर पनि काममा दत्तचित्त दिएर अगाडि बढे केही गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ । मलाई लाग्छ म एक साहसी महिला हँु ।”

विसं २०५२ देखि तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र सङ्घर्षमा सामेल श्रीमान् सविन रेग्मीको तत्कालीन सत्तापक्षबाट हत्या हुँदा सङ्गीता भट्टराई केवल २४ वर्षकी मात्र हुनुुहुन्थ्यो । माओवादी पार्टीमै लागेको जोडीका एक छोरी स्नातक तह पढ्न सुरु गरिसक्नुभयो । उहाँ भन्नुहुन्छ, “श्रीमान्को हत्या हुँदा म गर्भवती थिएँ । सेना र प्रहरीको व्यापक सर्च अभियान छल्दै भूमिगत अवस्थामै छोरीलाई जन्म दिएँ । पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै छोरीलाई हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी पूरा गरेँ ।” माओवादी केन्द्र बागमती प्रदेशकी कोषाध्यक्षसमेत रहेकी भट्टराई आफू र आफू जस्ता महिलालाई एकल भन्ने शब्दले शक्तिहीन र अर्काको भरमा बाँच्ने, दया र करुणा लाग्दो पात्रका रूपमा अथ्र्याउने ठान्नुहुन्छ । श्रीमान् नहुँदा पनि छोराछोरीलाई बाबुआमा दुवैको जिम्मेवारी निर्वाह गर्न सक्ने आमालाई दया र करुणाको पात्रका रूपमा एकल होइन, सक्षम भन्नुपर्ने धारणा राख्नुहुन्छ उहाँ ।

महिला र बालिबालिकाको क्षेत्रमा काम गर्दै आएको आदर्श नारी विकास केन्द्रले अन्तर्राष्ट्रिय एकल महिला दिवसको सन्दर्भ पारेर आयोजना गरेको कार्यव्रmममा द्वन्द्व र हिंसा प्रभावित महिलालाई एकै थलोमा उपस्थित गराएको हो । 

‘सशस्त्र द्वन्द्वपीडित एकल महिला तथा हिंसा प्रभावितसँग अन्तरसंवाद’ कार्यक्रममा महिलाले आफ्नो विगत र वर्तमानको बारेमा खुलेर भनाइ राखेका थिए ।

कालिका नगरपालिकाकी द्वन्दपीडित सपना रानाभाटले पुराना दिन फेरि नफर्कने गरी राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो । द्वन्द्व प्रभावित महिला सञ्जालकी अध्यक्ष पार्वती खड्का २०५२ देखि २०६३ ले जीवनभर सहन गर्न नसक्ने पीडा भोगेको बताउनुहुन्छ । अब यस्तो पीडा फेरि नदोहोरियोस् भन्ने कामना गर्दै खड्काले भन्नुभयो, “हत्याहिंसा जुनसुकै पक्षबाट भए पनि हामी जस्ता पीडितका बारेमा सरकारले केही गर्नु प-यो ।” 

पुनस्र्थापन, क्षतिपूर्ति र स्थानान्तरण कागजमा मात्र होइन, कार्यान्वयन हुनुपर्ने बताउनुहुन्छ । आदर्श नारी विकास केन्द्रकी सल्लाहकार मीना खरेल सङ्गठित आवाज बुलन्द भएको खण्डमा राज्यको सुनुवाइ हुन्छ भन्ने मान्यताले द्वन्द्वपीडितलाई सङ्गठित गर्ने अभियानमा लागेको बताउनुहुन्छ । संस्था निर्माणपछि भरतपुर महानगरपालिकाले पीडितको घाउमा मलम लगाउने काम गरेको बताउनुहुन्छ उहाँ । भरतपुर महानगरपालिकाले सहिद र बेपत्ता परिवारलाई प्रतिमहिना दुई हजार रुपियाँ दिँदै आएकामा आगामी आवका लागि हालै सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा एक हजार वृद्धि गरि तीन हजार रुपियाँ पु-याउने निर्णय गरेको छ ।