• २० असोज २०८१, आइतबार

थारू समुदायले ‘बडकी अतवारी’ पर्व मनाउँदै

blog

छविलाल पाण्डे  

बुटवल, असोज ७ गते । पश्चिम तराईका रूपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तु जिल्लाका थारु समुदायले मनाउने ‘बडकी अतवारी’ पर्व आज धुमधामका साथ मनाउँदै छन् । बडकी अतवारीमा थारु समुदायले भीम भगवानको पूजा गर्छन् भने सूर्यको दर्शन गर्छन् । भीम जस्तै बलवान अर्थात् कहिल्यै पनि कुनै पनि प्रकारको रोग नलागोस् भनेर भीम भगवानको पूजा गर्ने चलन थारु समुदायमा छ । 

त्यसका साथै यो पर्वमा छोरी चेली, दिदी बहिनी तथा भाञ्जाभाञ्जी बोलाएर चिनी रोटी खाने र खुवाउने वर्षौदेखिको परम्परा छ । पश्चिम तराईका दाङ, बाँके र बर्दिया क्षेत्रका थारु समुदायले तीजपछिको पहिलो आइतबार यो पर्व मनाउँछन् भने रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रका थारु समुदायले तीजको ६ दिनभित्रै आइतवार पर्‍याे भने त्यसपछिको आइतबार मात्र यो पर्व मनाउने गर्छन् । 

त्यसैकारण दाङ, बाँके र बर्दिया क्षेत्रका थारु समुदायले बडकी अतवारी गत हप्ता मनाइसकेका छन् । 

थारु कल्याणकारी सभा रुपन्देही सैनामैना नगरपालिकाका सभापति दुलबहादुर चौधरीले आज आइतबार थारू समुदायले अतवारी पर्व मनाउँदै गरेको बताउनुभयो । थारु समुदायका अभियन्ता केवलप्रसाद थारुले थारु समुदायको सबैभन्दा ठूलो पर्वका रुपमा बडकी अतवारी रहेको बताउनुभयो । 

रुपन्देहीको सैनामैना ४ कुस्माहाकी सरस्वती थारुले यो वर्ष भने थारु समुदाय भेला भएर नाचगान गरी मनाउन लागेको बताउनुभयो । बडकी अतवारीको अवसरमा आज रूपन्देहीको अधिकांश पालिकाहरुले सार्वजनिक बिदा दिएका छन् ।