• ९ मंसिर २०८१, आइतबार

‘अँध्यारो बस्तीकी नायिका’लाई सनत रचना कथा सम्मान

blog

कथाकार दिला शाहलाई नगद राशीसहितको सम्मान प्रदान गर्नुहुँदै लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरे लगायत । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असोज ७ गते । नवोदित कथाकार दिला शाहद्वारा लिखित कथा संग्रह ‘अँध्यारो बस्तीकी नायिका’लाई ‘सनत रचना कथा सम्मान’ प्रदान गरिएको छ । वरिष्ठ कथाकार सनत रेग्मीद्वारा आफू र श्रीमतीको नाममा स्थापित उक्त सम्मान मध्यपश्चिम स्रष्टा समाजले २०७९ सालका लागि शाहद्वारा लिखित ‘अँध्यारो बस्तीकी नायिका’लाई प्रदान गरेको हो।

स्रष्टा समाजले शनिवार नेपालगन्जमा आयोजना गरेको सम्मान हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेले कथाकार शाहलाई उक्त सम्मान हस्तान्तरण गर्नुभएको हो । नगर १० हजार एक सय ११ रुपियाँ राशिसहितको सम्मान हस्तान्तरण गर्दै घिमिरेले कथाकार शाहमा राम्रो कथाकार हुने क्षमता देखिएकोले निरन्तर साधनामा लाग्न आग्रह गर्नुभयो । 

सम्मानित पुस्तकमाथि आफ्नो समीक्षकीय धारणा राख्दै समीक्षक लेकप्रसाद प्याकुरेलले कथा सङ्ग्रहमा नारी पात्र प्रमुख रहेको र बाल मनोविज्ञानका कथा पनि पठनीय रहेको धारणा राख्नुभयो । उहाँले पात्र र कथालाई थप माझ्न सकेमा शाहले उत्कृष्ट कथाकृति दिनसक्ने धारणा राख्नुभयो । सम्मानित कथाकार शाहले पुस्तकलाई सम्मान गरिँदा साहित्य लेखनमा आफूलाई हौसला थपिएको बताउनुभयो ।

वरिष्ठ कथाकार रेग्मीले विद्याकुटीर फाउण्डेसनमा रहेको कोषबाट हरेकवर्ष कथाकार वा कथाकृतिलाई उक्त सम्मान प्रदान गरिने बताउनुभयो । उक्त सम्मान हरेक वर्ष रेग्मीको जन्मोत्सवका दिन प्रदान गर्न मध्यपश्चिम स्रष्टा समाजले संयोजक र व्यवस्थापकको भूमिका खेल्ने समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंले जानकारी दिनुभयो । 

सम्मान प्रदान गर्ने कार्यक्रममा विद्याकुटीर फाउण्डेसनले नै प्रकाशित गरेको डा. एकनारायण पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली कथामा आञ्चलिकता’को विमोचन पनि गरिएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकाल र शशीराम कार्की, लुम्बिनी प्रदेश सभासदस्य माया पुन, ओलम्पियन सुरेन्द्र हमाल र कथाकार सुमित्रा न्यौपानेले बताउनुभयो।