बाबुराम देवकोटा
चपौली (सिन्धुली), असोज ४ गते । पाँच वर्षअघि बागमती प्रदेश सरकारको सहयोगमा निर्माण सुरु गरिएको १० किलोमिटर लम्बाइको सिन्धुलीगढी–चपौली–मझुवा नागी सडक निर्माणको काम सुस्त बनेको छ ।
कालोपत्रेसहित दुई वर्षभित्र नै निर्माण पूरा गर्नेगरी २०७५ साल चैत २७ गते ठेक्का सम्झौता भइ निर्माण सुरु भएको सो सडक हालसम्म निर्माण पूरा नहुँदा स्थानीय सास्ती खेप्न बाध्य भएका छन् । सो सडक बागमती प्रदेश सरकारको २४ करोड ४० लाख ६४ हजार रुपियाँ लागतमा लुम्बिनी–आत्रेय जेभिले ठेक्का सम्झौता गरी निर्माण सुरु गरेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार सो सडक प्रस्तावित सिन्धुलीगढी–मझुवा–काफलचौर दुम्जा सडक खण्ड हो । निर्माण सुरु भएको सो सडकले हाल कमलामाई नगरपालिका –३ चपौली र सुनकोसी गाउँपालिका –७ नागीसम्मका बासिन्दालाई सुविधा पुग्छ । हालसम्म सिन्धुलीगढीदेखि चपौलीको भन्ज्याङपोखरीसम्म सडक कालोपत्रे गर्ने तयारी गरेको भए पनि अझै पूरा भएको छैन ।
सिन्धुलीगढीदेखि चपौली भन्ज्याङपोखरीसम्म करिब सात किलोमिटर लम्बाई सडकमा सबबेसको कामगरी कालोपत्रे गर्न चिप्सहरु छरिएको भए पनि काममा लापर्बाही भएको कमलामाई नगरपालिका –३ का वडाअध्यक्ष खड्गप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सडकको स्तरोन्नतिसहित कालोपत्रे गर्न पाँच वर्षअघि काम थालिएको थियो । कामको गति सुस्त र लापर्बाही उस्तै छ । भन्दाभन्दै थाकिसक्यौं ।’
सिन्धुलीगढीदेखि भन्ज्याङ्पोखरीसम्म अझै ठाउँ ठाउँमा र भन्ज्याङपोखरीदेखि नागीसम्म सडकको स्तरोन्नति अझै बाँकी रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार सडक निर्माणमा गुणस्तरहीन, कमसल निर्माण सामग्री प्रयोग गरी काम हुँदा सम्पन्न नहुँदै भत्किन थालेको छ । सडक कालोपत्रे गर्ने भन्दै ठेकेदारले असारको अन्तिम सातामा बिल भुक्तानीका लागि गुणस्तरहीन काम गरेको वडाध्यक्ष चौलागाईको भनाइ छ ।
सो सडक चपौली, मझुवा, नागी, बन्दिपुर, काफलचौरलगायतका ठाउँको बासिन्दाका लागि जिल्ला सदरमुकाम सिन्धुलीमाढी आउने–जाने सडक हो । सब बेससहित कालोपत्रेका लागि चिप्स हालिएको सडकमा अहिले जताततै पानी जमेको, गिटी उप्किएको, छरिएको अवस्था छ ।
निर्माणाधीन सो सडकको ठाउँ ठाउँमा झरेको पहिरो नियन्त्रण नभएको स्थानीय शिक्षक पुष्पराज देवकोटाले बताउनुभयो । यता प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले सो सडक निर्माण पूरा गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिरहेको जनाएको छ ।
कार्यालय प्रमुख देवनारायणप्रसाद यादवले पछिल्लो पटक म्याद थप गरिएको समय २०७९ चैतमा नै सकिएको र त्यसपछि म्याद थप नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘काम ठेकेदारको लापर्बाहीले गुणस्तरहीन भएकाले हाल भुक्तानी रोकेका छौं । एक–डेढ बर्ष अघिसम्म करिब ७० प्रतिशत रकम भुक्तानी भइसकेको छ ।’
सडक निर्माण ८० प्रतिशतभन्दा बढी सकिएको ठेकेदार कम्पनीको दाबी छ । उक्त सडक निर्माण व्यवसायीले १३ करोड घटेर २५ करोड रुपियामा ठेक्का सम्झौता गरेका थिए । निर्माण सामग्रीको भाउ बढी रहेको र हालसम्म गरेको कामको पैसा सम्बन्धित निकायबाट भुक्तानी नभएकोले काममा ढिलासुस्ती भएको ठेकेदार रबिन्द्र कुँवरले जानकारी दिनुभयो ।