• २७ वैशाख २०८१, बिहिबार

राष्ट्रिय एकता कायम गर्नुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

blog

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ।

काठमाडौं, असोज ३ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले मार्गदर्शन गरेका मूलभूत विषय र मर्मलाई समातेर कार्यान्वयनको पक्षमा जानुपर्ने बताउनुभएको छ । 

अहिलेको राष्ट्रको आवश्यकतालाई व्यवस्थापन गर्ने गरी नेपालको संविधान निर्माण भएको उल्लेख गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बहुजातिय बहुभाषिक, बहुसांस्कृतिक साथै भौगोलिक विविधताले पनि भरिपूर्ण भएकाले स्नेह, सद्भाव र सहिष्णुतालाई ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले समाजमा अराजक गतिविधि बढ्न थालेको उल्लेख गर्दै यो देशकै लागि समस्याको विषय बनेको बताउनु भयो । उहाँले देशमा युवाशक्तिको पलायन बढिरहेको भन्दै यस्ता समस्यालाई समाधान गर्न पहल, प्रयत्न र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्व राष्ट्रपति भण्डारीले देशको राष्ट्रिय अर्थतन्त्र कमजोर भएको उल्लेख गर्नुभयो ।

उहाँले शिक्षा प्रणालीमा भएका कतिपय कमजोरीका कारणले पनि समस्या निम्त्याइरहेको बताउनु भयो । उहाँले सुशासनमा सत्तारुढ दलहरूको उदासीनता र ठुला राजनीतिक दलहरूले गर्नुपर्ने काम कमजोर रहेको भन्दै यस्ता समस्या समाधानका लागि सबै बिच एकता आवश्यक भएको बताउनुभयो । 

पूर्व राष्ट्रपति भण्डारीले राजनीतिक अस्थिरताका कारणले पनि मुलुकमा केही समस्या देखापरेको र केही स्वार्थ समूहहरू पनि अस्थिरता निम्त्याउन हाबी भएको उल्लेख गर्नुभयो । 

उहाँले राष्ट्रिय हित, राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर नेपालका जिम्मेवार राजनीतिक दलहरू, मूलधारका राजनीतिक दलहरू अघि बढ्ने हो भने कुनै पनि समस्या हल गर्न सकिने जिकिर गर्नुभयो । 

पूर्वराष्ट्रपति भण्डारीले कृषि, जलश्रोत, पर्यटन, भौगोलिक विविधता, सांस्कृतिक विविधता, उर्वर जमिन र संस्कृतिको जगेर्ना र संरक्षण गरी जनताको विकासको आधारको रूपमा लैजानसके छोटो समयमा देश विकास गर्न सकिने उल्लेख गर्नुभयो ।

जनताको खुसी भनेको राष्ट्रको समृद्धिसँग जोडिएको हुने भन्दै उहाँले राष्ट्रको समृद्धिको लागि तत्सम्बन्धित धेरै कामहरू गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय क्षमता र शक्तिको सही सदुपयोग गर्नसके जनतामा खुसी र जनताको सुख अभिवृद्धि गर्न सकिने बताउनुभयो ।