• १२ साउन २०८१, शनिबार

बेवारिसे कुकुर व्यवस्थापनमा युवाको सराहनीय पहल

blog

काठमाडौं, असोज २ गते । सडकका बेवारिसे कुकुरको व्यवस्थापनमा सायदै थोरैको ध्यान जाने गर्दछ । एकातिर बजारबाट कुकुर किनेर घरमा पाल्ने सौख बढ्दै गएको छ । तर आकर्षण नभएका तथा बिरामी भए, मन नपरेमा कुकुरलाई सडकमा छाडिदिने विभिन्न घटना पनि छन् । सडकमै जन्मेका, हुर्केका बेवारिसे कतिपय कुकुर मान्छेको कुटाइ, पिटाइदेखि, एसिड छ्याप्ने, सडक दुर्घटनाको शिकार बनेका छन् ।  

सडकका बेवारिसे जनावरलाई उचित खानपान, स्याहारसुसारमा ध्यान दिन सके मिलनसार हुन सक्छ भन्ने एक उदाहरणीय काम गर्दै आएको छ, पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपालले । संस्थाका व्यवस्थापक पार्वती थापाले सडकका जनावरलाई माया गर्न नसके उनीहरुलाई कुनै हानि हुने काम पनि नगर्न अनुरोध गर्नुभयो । 

थापाले भन्नुभयो, “कुकुर मन पर्दैन भने पिट्ने, एसिड छ्याप्ने, पोइजन खुवाएर मार्ने, रडले, गाडीले हान्ने नगर्दिनुस् । एउटा कुकुरले सात, आठ वटाभन्दा बढी बच्चा जन्माउने हुनाले सङ्ख्या धेरै बढ्छ । कतिपय मान्छेलाई पनि बन्ध्याकरणको ज्ञान छैन । नजिक भएको संस्थामा सम्पर्क गर्नुस् । बचेको खाना दिनुहोस् ।” 

सडकका बेवारिसे कुकुरबारे सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टेलिफोन आदिबाट पनि सूचना प्राप्त हुने गरेको उहाँको भनाइ छ । हाल यस संस्थामा ९० भन्दा बढी बेवारिसे कुकुरले उपचार एवम् आश्रय पाएका छन् । 

स्वभावकै कारण पनि विभिन्न ठाउँकाे कुकुर एकै ठाउँमा राख्ने कार्य नै सर्वप्रथम चुनौतीपूर्ण हुन्छ । बाटोको कुकुरमा विभिन्न स्वास्थ्यसम्बन्धी सङ्क्रमण हुने हुँदा यो अरु कुकुरमा सर्ने अर्को जोखिम रहन्छ । उनीहरु सुरुमा झगडा गरे पनि सामान्य अवस्थामा फर्काउने, घुलमिल गराउने, उपचार गर्ने र आश्रय दिने काम संस्थाले गर्दै आएको उहाँको भनाइ छ । 

यसै एसपीसीए नेपालमा पशु सेवा प्राविधिकको कार्य गर्दै आउनुभएका सुजन तिमल्सिना  उद्धार गर्ने क्रममा कुकुरले टोक्ने, आक्रमण गर्ने गरेको बताउनुहुन्छ । घाउ सफा गर्ने र स्वास्थ्य परीक्षण लगायत संस्थामा सामान्य उपचार गर्ने व्यवस्था छ । तर किड्नी फेल, एक्सरे तथा रगत जाँचका लागि अन्यत्र लानुपर्ने हुँदा उपचार खर्च बढी लाग्ने उहाँले बताउनुभयो ।

बेवारिसे कतिपय कुकुरको सडकमा नै उपचार सम्भव हुन्छ त कतिलाई शेल्टरमा नै ल्याउनुपर्ने अवस्था हुन्छ ।  थापाका अनुसार जनावरलाई माया गर्ने युवा स्वयंसेकको पहलमा यो कार्य सुरु भएको थियो । स्थानीय सरकार र कुनै सङ्घ, संस्थाबाट आर्थिक सहायता उपलब्ध नभएकोले व्यवस्थापनमा चुनौती रहेको उहाँको भनाइ छ ।


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।