• १३ साउन २०८१, आइतबार

ठेक्का लाग्न सकेन तीनलाल पार्क

blog

नवराज श्रेष्ठ

रामेछाप, भदौ २९ गते । रामेछापको मन्थली नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण गरेको तीनलाल पर्यटकीय पार्क सञ्चालनमा निजी क्षेत्रले चासो देखाएको छैन। असार अन्तिममा निर्माण सम्पन्न भएको यो पार्क सञ्चालन र व्यवस्थापनका लागि नगरपालिकाले पटक पटक बोलपत्र आह्वान गरे पनि कसैले चासो दिएका छैनन्। 

नेपाली साहित्यका प्रथम सहिद कृष्णलाल अधिकारी, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ जन्मिएको जिल्ला रामेछापको मन्थली नगरपालिका–१, गढबारीमा तीनलाल पार्क निर्माण गरिएको हो। 

वार्षिक १५ लाख रुपियाँ

नगरपालिकाले पछिल्लो पटक भदौ २६ गते तेस्रो पटक पार्क सञ्चालनका लागि सातदिने बोलपत्र आह्वानसम्बन्धी सूचना प्रकाशन गरेको छ। आर्थिक वर्ष २०८०/८१ देखि २०९०/९१ सम्म १० वर्षका लागि पार्क सञ्चालन तथा व्यवस्थापनका लागि वार्षिक १५ लाख रुपियाँ बुझाउने गरी इच्छुक व्यक्ति, संस्था, कम्पनी वा फर्मलाई सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको हो। 

यो पार्क सञ्चालनका लागि पटक पटक बोलपत्र आह्वान गर्दा पनि कोही व्यक्ति, संस्था, कम्पनी वा फर्म इच्छुक नदेखिएकाले अहिले रकम घटाएर बोलपत्र आह्वान गरिएको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले जानकारी दिनुभयो। “पार्क सञ्चालन तथा व्यवस्थापनका लागि दोस्रो पटकसम्म बोलपत्र आह्वान गर्दासमेत कोही प्रक्रियामा आएनन्,  अहिले तेस्रो पटक वार्षिक भ्याटसहित १५ लाख रुपियाँमा ठेक्का लगाउने गरी बोलपत्र आह्वान गरेका छौँ,” उहाँले भन्नुभयो। 

नगर प्रमुख श्रेष्ठका अनुसार पार्क सञ्चालन तथा व्यवस्थापनका लागि पहिलो पटक २० लाख र दोस्रो पटक १८ लाख रुपियाँमा ठेक्का लगाउने गरी बोलपत्र आह्वान गरिएको थियो। 

अस्थायी रूपमा सञ्चालन

पटक पटक बोलपत्र आह्वान गर्दा पनि ठेक्का नलागेपछि पार्क अहिले मन्थली नगरपालिका आफैँले अस्थायी रूपमा सञ्चालन गरिरहेको छ। नगरपालिकाको राजस्व उपशाखाका अनुसार पार्कबाट अन्य दिन खासै नभए पनि शनिबारका दिन भने १२ हजार रुपियाँसम्म आम्दानी भइरहेको छ। अन्य दिनभन्दा शनिबार पार्क घुम्न र स्विमिङ गर्न आउनेको सङ्ख्या बढी हुने गरेको छ।

मन्थली नगरपालिका र सङ्घीय सरकारको छ करोड ८६ लाख २१ हजार रुपियाँको लगानीमा पार्क निर्माण गरिएको हो। १७ रोपनी जमिनमा फैलिएको यो पार्कमा दुईतले प्रशासनिक भवन, ४०८ जना क्षमताको सभा हल, महिला, पुरुष बच्चासहितको ७५ देखि एक सय जना क्षमताको तीन वटा पौडी पोखरी, चेन्जिङ रुम तथा स्नान कक्षसमेत छन्। पार्कमा चमेना गृह, टिकटघर तथा शौचालय निर्माण गरिएको छ। 

नगरपालिकाको राजस्व उपशाखाका अनुसार पार्कमा प्रवेश र पौडी खेल्न नेपाली र विदेशी नागरिकलाई फरक फरक शुल्क निर्धारण गरिएको छ। बालबालिकालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपाली नागरिकलाई पार्क प्रवेश शुल्क २५ रुपियाँ तोकिएको छ भने भारतीय नागरिकलाई एक सय रुपियाँ र अन्य मुलुकका लागि दुई सय रुपियाँ तोकिएको छ। पौडीका लागि बालबालिकालाई ७५ रुपियाँ र वयस्कका लागि १५० रुपियाँ तोकिएको छ। पौडी खेल्न भारतीय बालबालिकाले तीन सय र वयस्कले पाँच सय रुपियाँ तिर्नुपर्ने छ। भारतबाहेकका मुलुकका बालबालिकाका लागि पाँच सय र वयस्कका लागि एक हजार रुपियाँ शुल्क तोकिएको छ ।