असल नेतृत्वमा इमानदारी र सत्य हुनु पर्छ । उसले साहसी र विवेकपूर्ण निर्णय गर्न सक्नु पर्छ । नेताहरू भरोसायोग्य र निष्ठावान् हुनु पर्छ । भरोसालायक नहुनेले अरूको भरोसा जित्न सक्दैनन् । चिनियाँ दार्शनिक कन्फुसियसले भनेका छन् – स्पष्ट रूपमा हेर्ने, सुन्दा विवेकी हुने, अभिव्यक्तिमा मिलनसार र इमानदार, आचरणमा सम्मानजनक हुने । रिसाउँदा नकारात्मक परिणामबारे सोच्ने, फाइदा के सही हो भन्ने विचार गर्ने । यी गुण असल मानिसका लागि आवश्यक गुण हुन्, झन् अगुवा (नेता/व्यवस्थापक) का लागि त अपरिहार्य गुण हुन् । हो, यिनै गुणवत्ता राजनीतिज्ञ, संविधान सभा अध्यक्ष एवं विधायक सुवास नेम्वाङ कीर्तिशेष हुनुभयो । परिपक्व, शालीन, समन्वयकारी भरोसायोग्य छवि बनाउनुभएका संविधान सभा अध्यक्ष नेम्वाङको निधनले समकालीन राजनीतिमा अपूरणीय क्षति पुगेको छ ।
विसं २००९ मा जन्मनुभएका नेम्वाङको २०८० भदौ २६ को सबेरै हृदयाघातका कारण भएको असामयिक निधनले वर्तमान संविधानलाई आत्मसात् गरिरहेका आमनेपालीलाई मर्माहत पारेको छ । नेपालको राजनीति र संवैधानिक क्षेत्रका सुपरिचित व्यक्तित्व उहाँले राष्ट्रिय सभा सदस्य, गृह जिल्ला इलामबाट निर्वाचित प्रतिनिधि सभा सदस्य भई प्रतिनिधि सभा र अन्तरिम व्यवस्थापिकाको सभामुख तथा संविधान सभा अध्यक्ष, नेकपा (एमाले) को उपाध्यक्ष र संसदीय दलको उपनेताको जिम्मेवारी सम्हाल्नुभयो । प्राध्यापन, कानुन व्यवसाय र राजनीतिलाई सँगसँगै बढाउनुभएका वामपन्थी व्यक्तित्व नेम्वाङ निष्ठामा अडिग रहँदारहँदै पनि सबैलाई मिलाएर लैजान सक्ने समन्वयकारी क्षमताले सबै विचार समूहका भरोसायोग्य बन्नुभएको थियो ।
विसं २०५६ देखिका संसदीय चुनावमा इलाम निर्वाचन क्षेत्र नं २ बाट विजयी नेम्वाङले नेपालको संसदीय लोकतान्त्रिक अभ्यासमा आफूलाई परिपक्व जनप्रतिनिधिको रूपमा प्रमाणित गराउनुभयो । अपराध शास्त्रका ज्ञाता, राजनीतिमा संविधान र कानुन प्रयोग मामिलाका जानकार, मृदुभाषी नेम्वाङ सहमति र सहकार्यको वकालतकर्ता हुनुहुन्थ्यो । तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी माओवादी शान्ति प्रक्रियामा आएपछिको चरम द्वन्द्व, संशयपूर्ण राजनीतिक परिस्थितिलाई सम्हाल्ने सहमतिका दस्ताबेजहरूको मस्यौदादेखि संविधान सभाबाट संविधानको अन्तिम मस्यौदा तयार पार्नेसम्मका प्रक्रियामा उहाँको ज्ञान, विवेक र समन्वयकारी योगदान इतिहासमा अजर रहने छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण क्रममा संविधान सभाका नेता (अध्यक्ष) को हैसियतमा उहाँले देखाउनुभएको समन्वयकारी, विवेकशील नेतृत्व क्षमताकै कारण दोस्रो प्रयासमा संविधान जारी हुने वातावरण बनेको थियो । नेपाली विविधता अनुरूपको त्यो ‘बहुरङ्गी’ संविधान सभामा नेपालका आन्तरिक सबाल मात्र उठेका थिएनन्, ‘अक्टोपस’ हरू चलायमान थिए, बाह्य स्वार्थ समूहबाट निर्देशित अनेक कार्यसूची स्थापित गर्न खोजिएका थिए । हजारौँ वर्षको स्वाधीन, स्वाभिमानी राष्ट्रको अस्तित्व नामेट गर्न देशको नाम र राष्ट्रिय झन्डा नै फेर्नेदेखि जातीय राजनीति स्थापित गरी मुलुकलाई चरम सङ्कटमा पु¥याउने एजेन्डाहरू घुसाउने यत्न थिए । शासकीय प्रणाली, न्याय प्रणाली, निर्वाचन क्षेत्रलगायत लोकतन्त्रका मूलभूत विषयमा चर्को मतभेद थियो । संविधान सभा असफल पार्ने दुर्नियतको सामना गर्न उहाँ प्रमुख राजनीतिक दलबिच सहमति र सहकार्यको विकल्प नरहेको वकालत गरी मुलुकलाई एक ढिक्का राख्न अविचलित रहनुभयो । जस्तोसुकै विवाद र असहमति भए पनि राजनीतिक नेताहरू एक ठाउँमा बसी छलफल गर्ने र सहमतिमा पुग्ने नेपाली राजनीतिक संस्कृति स्थापित गर्न उहाँको भूमिकाले आधारभूत संस्कार निर्माण गरेको छ । राजनीतिमा समन्वय र सहकार्य मुलुकको राजनीतिक व्यवस्था अनि राष्ट्रिय हितका लागि अति महत्वपूर्ण छ भन्ने उहाँले संसद्मा सत्तापक्ष र प्रतिपक्षबिचको सम्बन्धबारे पनि स्पष्ट दृष्टिकोणसहित गतिरोधहरू अन्त्य गराउने गर्नु हुन्थ्यो । यो उहाँको सन्तुलनकारी व्यक्तित्वकै कारण सम्भव भएको हो ।
नेपाल सबै नेपालीको हो, संविधानले सबैलाई समेट्नु पर्छ भन्ने अडानका सभाध्यक्ष नेम्वाङ जीवनको अन्तिम दिनसम्म पनि नेकपा एमाले उपाध्यक्ष, संसदीय दलको उपनेताका हैसियतमा मुलुकको न्याय, सुशासन प्रवर्धन, शासकीय सुधारका निम्ति कानुन निर्माणका क्षेत्रमा सक्रिय रहनुभयो । जातीय, धार्मिक, सांस्कृतिक सद्भाव बिथोल्न चाहनेहरूको धम्कीबाट नतर्सी समन्वयकारी नेपाली मूल संस्कृति रक्षामा अडिग उहाँ नेकपा एमालेको त ‘मणि’ नै हुनुहुन्थ्यो साथै आफ्नो समुदायको ‘रानो’ र भिन्न वैचारिक बहसहरूका ‘मियो’ को रूपमा सुपरिचित देखिनुहुन्थ्यो । त्यसैले पनि राष्ट्रिय सम्मानका हकदार बन्नुभयो । शिक्षक, कानुन व्यवसायी, जनप्रतिनिधि र नेताका हैसियतमा असल छवि स्थापित गर्नुभएका नेम्वाङको कीर्ति स्तम्भका रूपमा मान्न सकिन्छ वर्तमान संविधान । यसको रक्षा र विकास नै उहाँप्रति सञ्चा श्रद्धाञ्जली र सम्मान हुने छ ।