• १३ साउन २०८१, आइतबार

धानबालीमा सेतो झिँगाको प्रकोप

blog

कावासोती १० मा सेतो झिँगाको प्रकोपले सुकेकोे धानबाली । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, भदौ २६ गते । नवलपुरमा धान बालीमा सेतो झिँगाको प्रकोप देखिएको छ । सेतो झिँगाको प्रकोपले धान खेती पहेँलो हुँदा बोट नसप्रने र पछि उत्पादनमा कमी आउने हो कि भन्ने चिन्ता किसानमा थपिएको छ । जिल्लाको राजमार्ग आसपासका क्षेत्रहरू गैँडाकोटदेखि विनयी त्रिवेणीसम्मका धान खेतीमा सेतो झिँगाको समस्या देखिएको छ। 

सेतो झिँगाका कारण धानको पात पहेँलिने समस्या कावासोती र गैँडाकोट नगरपालिकामा जटिल रूपमा फैलिरहेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । “कृषकहरूको धेरै गुनासो आइरहेको छ, सामान्यता हामी फिल्डमा जाँदा पनि सेतो झिँगाको समस्या देखिएको छ, धान खेत पहेँलो देखिन्छ” सूचना अधिकारी पौडेलले भन्नुभयो ।

कावासोती १० का कृषक कृष्ण अधिकारीले लगाएको धान बाली पहेँलो हुने, धानको जरा सुक्ने भएकाले उत्पादनमा कमी आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “धान रोप्ने समय पानी नभएर समस्या भयो, अहिले धानमा किरा लागेर समस्या भएको छ । किसान जहिले मर्कामा पर्ने गरेका छौँ ।”

कावासोती नगरपालिकाका कृषि विकास शाखाका प्रमुख शिव नारायण कुमालका अनुसार “कावासोती नगरपालिकाको वडा नं.७ देखि १७ सम्मका धान बालीमा पुतलीको प्रकोप दैनिक रूपमा बढिरहेको छ,” उहाँले भन्नुभयो, “सावित्री र हाइब्रिड जातका धानमा धेरै क्षति पाएका छौँ ।” धान बालीमा सेतो झिँगाको प्रकोप देखिन थालेपछि नगरपालिकाले व्यवस्थापन सम्बन्धी अभियान नै सञ्चालन गरेको छ । धान खेतमा पुगेर कृषकहरूलाई प्रशिक्षण र व्यवस्थापन विधि सिकाइएको कुमालले बताउनुभयो ।

जिल्लामा अहिले सुरुवाती चरणमा रहेकाले दिन प्रतिदिन धान बालीमा क्षति फैलिँदो रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष नवलपुरमा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ । जिल्लामा यो वर्ष ७६ हजार नौ सय ५६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएपनि पछिल्लो प्रकोपले उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र नवलपुरका बालीविद् मिरा चौधरीले बताउनुभयो ।

“केही ठाउँमा खाद्यतत्वको कमी पनि छ तर कृषि प्राविधिकको सल्लाह बिना युरिया मात्रै राख्दा धान हरियो बनाउन सहयोग गर्छ र किरालाई थप खानेकुरा मिल्छ, यसले किराको सङ्ख्या बढाउने हुँदा रोग फैलन सक्छ,” चौधरीले भन्नुभयो, “कृषि प्राविधिक सल्लाह लिएर उपचार गर्नुपर्छ ।”