• ७ जेठ २०८१, सोमबार

पथरीशनिश्चरे प्रिमियर लिगको अक्सनमा २३२ खेलाडी

blog

हरि कोइराला

उर्लाबारी, भदौ २५ गते । चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको अक्सनका लागि २३२ खेलाडी दर्ता भएका छन् । विभिन्न ३ ‘क्याटोगरी’ मा खेलाडी दर्ता भएका हुन् । पथरीशनिश्चरे प्रिमियर लिग आयोजक समितिका अनुसार असोज ६ गते हुने अक्सनबाट ७ क्लबले कम्तीमा १४ खेलाडी अनुबन्धन गर्नुपर्नेछ ।

लिगको चौथो संस्करण यस वर्ष कात्तिक १० बाट सुरु हुने भएको छ । आयोजकले अक्सनका लागि प्रकाशित गरेको खेलाडी ‘ड्राफ्ट’मा पहिलो ‘क्याटोगरी’मा ५१ जना खेलाडी ‘ए क्याटोगरी’मा दर्ता भएका छन् । ३३ जना ‘वि’ मा र १४९ जना ‘सी क्याटोगरी’मा दर्ता भएका छन् । 

‘क्याटोगरी ए’ मा दर्ता भएका खेलाडीको ३ हजार ‘वेस प्राइज’ तोकिएको छ भने ‘वि’ को २ हजार र ‘सी’ को १ हजार ‘वेस प्राइज’ तोकिएको छ । प्रत्येक टिमका लागी  ५० हजार रुपियाँ ‘वालेट’ राखिएको छ ।

यस संस्करणमा २ जना खेलाडीलाई मात्र ‘रिर्टन’ गर्न पाउने छन् भने अरू खेलाडी ‘रिलिज’ गर्नुपर्ने आयोजक समितिका अध्यक्ष विरोज मगरले जानकारी दिनुभयो । पथरीशनिश्चरे भित्रका खेलाडीलाई मात्रै सहभागी गराउँदै आएको प्रतियोगिताको चौथो संस्करणबाट नगर बाहिरका चार खेलाडीलाई क्लबले अनुबन्धन गर्न पाउने भएको छ । बाहिरका खेलाडी पनि सहभागी गराएर प्रतियोगिताको स्तरवृद्धि गर्न लागेको पनि अध्यक्ष मगरले  बताउनुभयो । 

यस वर्ष हुने प्रतियोगिताको अक्सन ड्राफ्टमा उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनु भएका दिपेश कडेलदेखि प्रदेशको टोलीबाट विभिन्न कपमा सहभागिता जनाएका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।  

खेलाडीको ड्राफ्टमा प्रदेशको टिमबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका फिरदोस अन्सारी, सोनु मण्डल, श्रवण यादव, ज्ञानेन्द्र श्रेष्ठ, सुजन थपलिया लगायतका खेलाडीलाई ड्राफ्टमा समेटिएको छ ।

आयोजकका सचिव राकेश राईका अनुसार प्रतियोगिताको आकर्षण बिस्तारै बढ्दैछ । खेलाडीहरूको आकर्षणकै कारण प्रतियोगीताकलाई निरन्तरता दिन सकिएको हो । पथरीशनिश्चरेमा मात्र क्रिकेटका प्रदेश स्तरीय ३ वटा प्रतियोगिता आयोजना हुने गरेको विगत भएपनि हाल ती प्रतियोगिताले  निरन्तरता पाउन सकेका छैनन् ।  

यस पटक सबैभन्दा कम १० वर्षका खेलाडी समेत अक्सनको लिष्टमा समेटिएका छन् भने ४३ वर्षका खेलाडी राज बस्नेतको समेत नाम अक्सन लिष्टमा रहेको छ । अघिल्लो संस्करणमा भन्दा यस संस्करणको अक्सनमा धेरै खेलाडी दर्ता भएका छन् । 

पहिलो संस्करणमा १३६ जना खेलाडी अक्सनमा सहभागी भएका थिए भने अघिल्लो संस्करणमा १३५ खेलाडीलाई अक्सनमा सहभागी गराएर टिमले खरिद गरेका थिए । 

स्थानीय क्रिकेट खेलाडीको उत्पादन गर्न र क्रिकेट प्रतिभा पहिचान गर्न चौथो संस्करणको क्रिकेट लिग प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष विरोज मगरले बताउनुभयो । 

पथरीशनिश्चरे नगरभित्रका क्रिकेट खेलाडीको खेल स्तरवृद्धि गर्न र नगरभित्रबाट क्रिकेट प्रतिभा खोज्न पनि लिगको महत्त्वपूर्ण भूमिका रहने मगर बताउनुहुन्छ । चौथो संस्करणमा सात क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो संस्करणबाट सहभागी मङ्गलबारे लिजेण्ड र हिसाब किताब ट्राइडेन्सले चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताबाट बाहिरिने निर्णय गरेपछि नयाँ क्लबका रूपमा गोर्खा लिजेण्डले पहिलो पटक सहभागिता जनाउँदैछ ।

पहिलो संस्करणको विजेता रोयल किङ, दोस्रो र तेस्रो संस्करणको विजेता सात बाघसँगै आइतबारे अस्त्र, वीरेन्द्रनगर स्टिल टाइगर, बुद्ध युनाइटेड, क्लासिक एलाभेन हसन्दह र नव प्रवेशी गोर्खा लिजेण्डले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको छ ।  

पथरीको जाँते मोडमा रहेको पथरी रङ्गशालामा प्रतियोगिताका सबै खेल हुने छन् । क्रिकेट मैदान अभावका कारण नियमित फुटबल प्रशिक्षण र प्रतियोगिता हुँदै आएको पथरी रङ्गशालालाई केही मर्मत गरेर प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।