भदौ २४ गतेको मिति–तिथिमा जन्मेका मानिस त धेरै हुन्छन्, तीमध्ये कतिलाई आफ्नै जन्म मितिको हेक्का हुँदैन। केही व्यक्तिको जन्म मिति भने लाखौँ मान्छेले सम्झिरहेका हुन्छन्। हो, त्यस्तै व्यक्ति हुनुहुन्छ विश्वेश्वरप्रसाद (बिपी) कोइराला। मानिसलाई जन्मले होइन कर्मले कालजयी व्यक्तित्वका रूपमा स्मरणीय बनाउने रहेछ। बिपी त्यही कर्मले युगयुगान्तर बाँचिरहनुभएको छ। राणाकालीन नेपालमा शासकीय कोपभाजनमा खेदिएको परिवारमा जन्मी राजनीतिक चेतनामा हुर्कनुभएका बिपी कोइराला (१९७१ भदौ २४–२०३९ साउन ६ ) नेपाली राजनीतिका प्रजातान्त्रिक विचारक, नायक, योद्धा हुनुहुन्छ। अखिल भारतीय कांग्रेस, नेपाली राष्ट्रिय कांग्रेस हुँदै नेपाली कांग्रेसको स्थापना र विकासमार्फत नेपाली प्रजातान्त्रिक आन्दोलन अनि राष्ट्रिय विकासको आधार खडा गर्नमा अतुलनीय योगदान छ उहाँको। निरङ्कुशताविरुद्ध उदार लोकतान्त्रिक शासन प्रणाली, स्वतन्त्र र भयरहित समाज निर्माणको लक्ष्य थियो उहाँमा। उहाँले परिकल्पना गर्नुभएको ‘प्रजातान्त्रिक समाजवाद’ को दर्शनबाट पे्ररित संविधान मातहत अहिले नेपाली नागरिक स्वतन्त्रतापूर्वक आफ्ना अधिकारको प्रयोगमार्फत समृद्धिको बाटो खोजिरहेका छन्। बिपी भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी भएर, त्यहाँका नेतासँगको सङ्गतको लाभ लिई उतैको स्वतन्त्रता उपभोग गरी बस्न रुचाउनु भएन। उता उपनिवेशविरोधी आन्दोलनमा सहभागी हुनु भयो यता नेपालमा मौलिक सिद्धान्त विकाससहित कठोर राणा शाही व्यवस्थाको अन्त्य गरी नागरिक स्वतन्त्रतासहितको प्रजातन्त्र स्थापना गर्न क्रियाशील हुनुभयो। उहाँकै नेतृत्वमा रहेको नेपाली कांग्रेसको अगुवाइमा राणा शासन ढल्यो। निर्वाचनमार्फत राजासहितको निर्वाचित संसदीय प्रणाली र प्रजातान्त्रिक सरकार निर्माण भयो। राजनीतिक स्वतन्त्रतासहितको समाजवादी अवधारणा अङ्गीकार गरी उत्पादनमा जोड दिई आर्थिक लाभको समान अवसर र वितरणको वकालत गर्नुभयो। उहाँले छोटो समय सत्ता सञ्चालनको मौका पाउँदा प्रजातान्त्रिक समाजवादको सिद्धान्त व्यवहारमा उतार्ने यत्न गर्नुभयो। नेपालको इतिहासमा पहिलो जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्न सफल बिपीले नागरिक अधिकार गरिब, शिक्षित, अशिक्षित सबैलाई चाहिने कुरा गर्नुभयो। उहाँले सरकारका कार्यक्रम जात, भाषा, लिङ्ग, वर्ण वा क्षेत्रका आधारमा होइन, सबैको उन्नति लक्ष्यित हुनुपर्ने मान्यतामा अगाडि बढाउनुभयो। समाजवाद भनेको सर्वहारा वर्गको अधिनायकत्वमा चल्ने भाष्य विस्तारित त्यो समयमा बिपीले सबैलाई राजनीतिक स्वतन्त्रतासहित समान अवसर र वितरणको सिद्धान्तका आधारमा अगाडि बढाएका कार्य योजनाबाट राजतन्त्र त्रसित भयो। राजाले प्रजातन्त्र खोसेपछि काराबास र भारत निर्वासनमा कष्ट भोग्नुपरे पनि बिपीले राष्ट्र, जनताको प्रजातन्त्रिक अधिकार र राष्ट्रियताको पक्षमा आफू र पार्टीलाई अविचलित राख्नुभयो। त्यसैले राष्ट्रिय मेलमिलापको नीति अगाडि सार्नुभयो।
बिपीको व्यक्तित्व बहुआयामिक छ। राजनीतिक व्यक्तित्व जस्तै प्रखर छ, उहाँको साहित्यिक व्यक्तित्व। बिपीलाई मनोविश्लेषणवादी र अस्तित्ववादी साहित्यकारको संज्ञा दिलाएका छन्, उहाँका साहित्यिक कृतिहरूले। राजनीतिक सिद्धान्तकार भए पनि साहित्यलाई राजनीतिबाट पृथक् राखेर नेपाली साहित्य भण्डार भर्ने दक्षता उहाँमा देखिन्छ। सामाजिक यथार्थमा अराजक विचारप्रधान कृतिहरू उहाँका छन्। उदारवादी लोकतन्त्रको राजनीतिक संरचनामा समाजवादी आर्थिक–सामाजिक नीतिका पक्षधर बिपीकै सिद्धान्त अङ्गीकार गरेको नेपाली कांग्रेस र माक्र्सवादी लेनिनवादी सिद्धान्तको समाजवादमा विश्वस्त पुष्पलालले स्थापना गरेको वामशक्ति मिलेर मुलुकमा पुनः संसदीय प्रजातन्त्र स्थापना गरियो तर आधुनिक नेपाली नागरिकको चित्त त्यत्ति प्रजातन्त्रमा बुझेन र संविधान सभामार्फत निर्मित संविधानबमोजिम २०७२ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरियो। मूलतः नेपाली कांग्रेस र वामपन्थीको सहमतिमा निर्मित वर्तमान संविधानले वास्तवमा बिपीले परिकल्पना गरेको स्वतन्त्रता, समानता र अधिकार सुनिश्चित गरेको छ। सहभागितामूलक राज्य व्यवस्था छ। समाजवादउन्मुख राज्य निर्माण संविधानको मार्गदर्शन छ तर त्यहाँ बढ्ने आधारभूत संरचना भने अझै चित्तबुझ्दो गरी तयार नभएको व्यापक आलोचना हुँदो छ।
राजनेता बिपी कोइरालाको परिकल्पना साकार पार्ने संविधान बनाइए पनि पछिल्लो राजनीतिक पुस्ता सैद्धान्तिक मान्यतालाई बेवास्ता गरी भोटको राजनीतिमा रमेको देखिन्छ। स्वयम् बिपीको पार्टी नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्दा वा मुलुकको बजेट विनियोजन गर्दा समाजवादी अवधारणा आत्मसात् नगरेको उदाहरण प्रशस्तै छन्। बिपी गरिब, किसानलाई हेरेर कार्यक्रम बनाउनु पर्छ भन्नुहुन्थ्यो तर कांग्रेसले उदारवादको नाममा मध्यम तथा ठुला वर्गका मानिसले अधिक फाइदा लिने, राज्यभन्दा निजी क्षेत्र बलियो बनाउने नीति लिएको समीक्षा हुने गर्छ। यसले आर्थिक असमानता बढाएको छ, गरिब झन् परनिर्भर हुँदै गएका छन्। राजनीतिक पार्टी र सरकारले गरिब, निमुखा जनताको आवश्यकता पूरा गर्ने कार्यक्रमहरू कार्यान्वयन नगर्ने हो भने बिपीका सिद्धान्त र कर्मको ओठेभक्ति अक्षमता लुकाउने बर्को मात्र हुने जोखिमसमेत हुन सक्छ, गम्भीर हुनु जरुरी छ।