• २० असोज २०८१, आइतबार

सकियो यो वर्षको हिले जात्रा

blog

चित्लाङमा लागेको हिले जात्राको पात्रको रुपमा सहभागी।

राममणि दाहाल

हेटौंडा, भदौ १७ गते। उत्तरी मकवानपुरको थाहा नगरपालिका–९ को चित्लाङमा लागेको यो वर्ष हिले जात्रा हर्षोल्लाससहित सकिएको छ।

लामो समयदेखि रोकिएको ऐतिहासिक तथा पौराणिक महत्त्वको नाच (हिले जात्रा) यो वर्ष पुनः आयोजना गरिएको हो। 

जनै पूर्णिमाको दिनबाट सुरुभएको जात्रा गुठियारको आँगनमा पुगेर नाच प्रदर्शन गर्दै आइतबार सकिएको स्थानीय राजन बलामीले जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय डबलीमा विधिपूर्वक पूजाआजा गरी समापन गरिएको थियो। 

जात्रामा खेतमा रोपाइँ गरे जस्तै गुठियारको घरको आँगनमा पुगेर नाच गान गरी मनोरञ्जन लिइएको थियो। यो रोपाइँ जात्रा जस्तै भएकोले जात्रामा गोरु एक हल, हली, बाउसे चार जना, रोपहार तीन–चार जना, राजा एक जना, रानी दुई जना, राम, लक्ष्मण र हनुमान, कात्तिक नाचमा जस्तै तीन जना जोगीलगायतका पात्र हुने गर्छन्। योसँगै कात्तिक नाचमा जस्तै बाजा बजाउनेलगायत झण्डै १५ जना गुरु रहने बलामीले बताउनुभयो।

रोपाइँ गर्ने र मनोरञ्जनका लागि राजारानी र भगवानको नाच प्रदर्शनका साथै देउसिरेमा जस्तै माग्ने गरिन्छ। जात्रामा गएकालाई रोपाइँमा जस्तै खाजा, ज्यालाका अतिरिक्त कतिपयले पूजा सामग्री र पूजा खर्च दिने प्रचलन छ। माझगाउँका १३० गुठियार रहेकामध्ये साझा आँगन भएकाको एकै ठाउँमा नाच देखाइने छ। 

श्री स्वच्छन्द भैरव धार्मिक तथा सांस्कृतिक व्यवस्थापन समितिले साबिकको चित्लाङ गाविस ५ स्थित माझगाउँमा धर्म, संस्कृतिसँगै ऐतिहासिक तथा पौराणिकको संरक्षणका लागि नाच प्रदर्शन गरेको जनाएको छ। हिले जात्रा चित्लाङसँगै थाहा नगरकै पालुङ पनि सम्पन्न भएको छ।