• ३० वैशाख २०८२, मङ्गलबार

छाडा चौपाया व्यवस्थापन गर्न आदेश

blog

कपिलबस्तु अदालतको प्रशासनिक भवन । तस्विर : नारद कोहार

नारद कोहार

तौलिहवा, भदौ १७ गते । कपिलवस्तु अदालतले छाडा चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गरी राजमार्गलाई निर्बाध आगमनको व्यवस्था मिलाउन जिल्लाका १० वटै स्थानीय तहलाई आदेश दिएको छ । 

छाडा चौपायाको नियन्त्रणका लागि पालिकालाई अदालतले पहिलो पटक आदेश दिएको हो । गत साउन ४ गते मध्यरातमा बसले ठक्करबाट बुद्धभुमि नगरपालिका –२ पानीपोखरीमा एकै पटक १० वटा गाईगोरु मरेका थिए । 

गाईगोरु मरेपछि चालक दाङ तुलसीपुर उपमहानगरपालिका –३ का भूपबहादुर विकविरुद्ध प्रहरीले पशुपन्क्षीसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । सोही मुद्दाको फैसलाका क्रममा चालक विकलाई ३ लाख धरौटी लिई तारेखमा छाड्ने अदालतले आदेश दिँदै छाडा चौपायाको नियन्त्रण गर्न १० वटै पालिकालाई निर्देशन दिएको  हो । 

अदालतका श्रेस्तेदार सुमन पाण्डेकाअनुसार जिल्ला न्यायाधीश तेजनारायण पौडेलको एकल इजलासले सो आदेश गरेको बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७७ को दफा ११ (२) ञ अनुसार छाडा चौपायाको नियन्त्रण गर्ने जिम्मा पालिकाको रहेकाले पालिकाले आफ्नो कर्तव्य निर्वाह नगरी छाडा गाईबस्तुलाई राजमार्गका छाडी दुर्घटनाको स्थिति उत्पन्न भएको देखिएको आदेशमा उल्लेख छ । 

स्थानीय तहले आफ्नो क्षेत्रभित्रका राजमार्गमा कानुनले निर्धारण गरेका कार्य सम्पादन गरी राजमार्गलाई खुला रूपमा आवागमनको व्यवस्था मिलाउन भनी निर्देशन दिइएको श्रेस्तेदार पाण्डेले बताउनुभयो । 

दाङबाट काठमाडौँतर्फ जानेक्रममा बागमती प्रदेश ०१–००६ ख ५१७१ नम्बरको बसले बाटोमा बसेको गाईगोरुलाई ठक्कर दिएको थियो । घटनामा १० जिउ गाईगोरु मरेको र ४ वटा घाइते भएका थिए । 

चालकले ३ लाख धरौटी जम्मा गरेर तारेखमा छुटेको श्रेस्तेदार पाण्डेले बताउनुभयो । शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीका अनुसार गाउँपालिकाले छाडा चौपायाको व्यवस्थापनको काम सुरु गरेको बताउनुभयो ।