• ९ मंसिर २०८१, आइतबार

वरिष्ठ साहित्यकार प्रा डा. भट्टराई सम्मानित

blog

प्रा डा. भट्टराईलाई सम्मानित एवम् पुरस्कृत गरिँदै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, भदौ १६ गते । 
महेन्द्र पुस्तकालय नेपालगन्जको १८ औँ साधारण सभाको अवसरमा नेपालगञ्जमा साहित्यकारहरूलाई सम्मानित, पुरस्कृत र पुस्तक लोकार्पण गरिएको छ ।

यहाँस्थित महेन्द्र पुस्तकालयमा आयोजित साधारण सभामा माधुरी—बद्रीविक्रम व्याख्यान मालाको पहिलो श्रृङ्खलाअन्तर्गत प्राध्यापक वरिष्ठ साहित्यकार समालोचक डा.गोविन्दराज भट्टराईले ‘सामाजिक सद्भाव स्थापनामा साहित्यको भूमिका’ विषयमा व्याख्यान प्रस्तुत गर्नुभयो ।

उहाँले सो प्रस्तुत गर्दै साहित्य समाजको ऐना भएकाले समाजमा सद्भाव र भाइचारा कायम गर्न यसको महत्त्वपूर्ण भूमिका रहेको प्रस्ट पार्नुभयो । नेपालगन्जको सद्भावमा साहित्यको पनि अहम् भूमिका रहँदै आएको प्राध्यापक डा. भट्टराईले बताउनुभयो ।

सोही कार्यक्रममा माधुरी—बद्रीविक्रम सेवा गुठीले प्राध्यापक डा.भट्टराईलाई १५ हजार रुपियाँ राशिको माधुरी बद्रीविक्रम स्मृति साहित्य सम्मानबाट पुरस्कृत गरेको छ ।

सो सम्मान नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव वरिष्ठ कथाकार सनत कुमार रेग्मीले प्रदान गर्नुभयो । साथै सोही कार्यक्रममा महेन्द्र पुस्तकालयको मुखपत्र ‘वाङ्मय जगत्’ को पनि डा. भट्टराईले लोकार्पण गर्नुभएको जानकारी महेन्द्र पुस्तकालयका सचिव साहित्यकार मणि अर्यालले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादव, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशीराम कार्की, माधुरी बद्रीविक्रम सेवा गुठीका कोषाध्यक्ष किरण थापा लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । पुस्तकालयका सचिव मणि अर्यालले साधारण सभामा आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।