• ८ कात्तिक २०८१, बिहिबार

देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण छैन: अर्थमन्त्री डा. महत

blog

काठमाडौँ, भदौ १६ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण नभएको बताउनुभएको छ । हिजो शुक्रबार बुटवल जेसिस स्वर्ण जयन्ती समारोह समुद्घाटन एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘आशा र निराशाका बीचबाट हामी र देश अगाडि बढ्नुपर्नेछ, निश्चय नै अहिले हामी समस्यामा छौँ, अर्थतन्त्र केही समस्यामा छ ।

‘तर धेरै निराश हुनुपर्ने कारण छैन । व्यवसायी मर्कामा छन्, उनीहरूको आत्मविश्वासमा कमी आएको छ । नकारात्मक कुरा गरिराख्यो भने हाम्रो आत्मविश्वास घटेर जान्छ । सबैले खराबै मात्र भन्ने हो भने केही गरौँ भन्ने भावनाबाट प्रेरित भएर उद्योग व्यवसाय गर्छु भन्ने व्यक्तिसमेत चुप लागेर बस्छन् । जेसिसका साथीहरूले सकारात्मक छलफलको अगुवा गर्न मन्त्री डा. महतले आग्रह गर्नुभयो ।

अर्थतन्त्रको सङ्केतलाई राम्रोसँग केलाएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै उहाँले अहिले अर्थतन्त्र सुधारका सङ्केत देखिनु आफैमा सकारात्मक भएको दाबी गन्नुभयो ।

अर्थतन्त्रमा देखिएको निराशाको सङ्केत अस्थायी भएको भन्दै उहाँले यो धेरै समय नरहने बताउनुभयो । अहिले पुँजीको परिचालन भइरहेको भन्दै मौद्रिक नीतिमा कडाइ गर्दा ब्याज दर बढेको भन्दै यो दिगो नभएको बताउनु भयो ।

जेसिजको मूल्य मान्यता र क्रियाकलाप अत्यन्तै महत्त्वपूर्ण भएको भन्दै अर्थमन्त्री डा। महतले जेसिजको भूमिका लोकतन्त्र र शान्ति स्थापना, व्यवसाय र अन्तर्राष्ट्रिय पहुँचमा विशेष भूमिका खेलेको बताउनुभयो ।