“ए छोरी ! ए छोरा ! कहाँ हो ? खाना पाकिसक्यो, खान आऊ । झट्टै आओ । झट्टै आओ ।”
रजनीले छोरा र छोरीलाई बोलाउँदै रहिन् । रजनी १३ वर्षीया छोरी सपना र १५ वर्षीय छोरा राहुलकी आमा हुन् । तिनले आफ्ना छोरा र छोरीको खाना तयार पारिन् । तिनले धेरै बेरसम्म उनीहरू आउने प्रतीक्षा गरिरहिन् तर दुवै जनाको अत्तोपत्तो छैन ।
तिनलाई मनमनै रिस पनि उठ्यो । तिनी आफैँसँग कुरा गर्न थालिन् कहिले सुध्रिने होला मेरा छोराछोरी ? यसो केही भन्न खोज्यो रिसाएर खानै नखाई हिँडिहाल्छन् । नभनम् भनेको एउटा पनि टेर्दैनन् ।
रजनीले आफ्नो टाउकोमा ठोक्दै फेरि भन्न थालिन्– “यो मेरो अभागी पुर्पुरो, भाग्य भएको भए आज मैले विधुवा जीवन बिताउनै पर्दैनथ्यो होला ।” उनकै बाबाले राम्रोसँग फकाई फकाई असल बाटोतिर डोर्याउँदै लिएर जानुहुन्थ्यो होला । यो बेला छोराछोरीलाई बाबाको आवश्यकता पर्ने रहेछ । मलाई त टेर्ने जो होइनन् । त्यसपछि तिनले खुइय.. गरेर सास तानिन् ।
त्यही बेला सपना र राहुल भान्छाको ढोकामा देखा पर्दै दुवैले एकै पटक भन्न थाले– “आमा भोक लाग्यो । भात पाकेन भन्या । यो आमाले जहिले पनि यस्तै गर्नुहुन्छ ।”
रजनीले आफ्ना दुवै आँखालाई फैलाउँदै आफ्ना छोराछोरीलाई हेर्दै सोचिन्– “मैले नै जन्माएर म आफैँलाई शङ्का गर्नुपर्ने भयो । के गर्नु कस्तो भाग्य होला मेरो ? यी दुवै सन्तान साँच्चै मेरा हुन त ? म र यिनका बाबा यस्तो स्वभावका त थिएनन् ।”
तिनले मनमनै फेरि सोच्न थालिन्– यिनका बाबा मेरा बाबा र बाबाका बाबा । मेरी आमा, मेरी बजै यताका हजुरआमा उताका हजुरआमा । हजुरआमाका हजुरआमाहरू हजुरबाबाका हजुरहजुरबाबाहरू । रजनीले सबैलाई सम्झँदै टाउको हल्लाउँदै औँला गन्दै गरेको देखेर राहुलले नजिक आएर तिनको टाउको आफ्नो हातले समायो र भन्यो– “आमा ! टाउको हल्लाउन बन्द गर्नुहोस् र माम पस्किदिनुस् ।” उसले सपनालाई हेर्दै आफ्नो पेट मुसा-यो र फेरि भन्यो, “बहिनी ! तिमीलाई भोक लागेको छैन ? आज शनिबार विद्यालय बन्द छ । माम खाएर आज दिनभरि साथीको घरमा मोबाइलमा गेम खेल्न जानु छ ।”
त्यो सुनेर सपनाले भनिन्, “नाइँ नाइँ म पनि जान्छु नि दादा । म पनि जान्छु नि दादा । म पनि मोबाइलमा गेम खेल्छु ।”
सपनाले पनि रजनीलाई हेर्दै भनिन्, “आमा छिटो छिटो पस्किदिनुस् न । साह्रै भोक लाग्यो ।”
रजनीले उनीहरूलाई केही नभनी खाना पस्कन थालिन् ।
रजनीले दुवै जनाको अगाडि खानाको थाल राखिदिइन् । दुवै जनाले आ–आफ्नो थालमा हेर्दै भन्न थाले– “आमा आज शनिबारको दिन पनि मासु छैन । यही दाल र भातसँग खाली आलुको टुक्रा मात्रै । मलाई त खानै मन लागेन । भोक सबै म-यो ।”
दुवै जनाले रिसाउँदै आमालाई हेर्न थाले । त्यो देखेर रजनीले केही भनिनँ, मात्र आँखाबाट दुई थोपा आँसु खसालिन् तप्प तप्प ! रजनीले साडीको सप्कोले आँखा पुछिन् र सकी नसकी फिस्स हाँसिन् र करुवाको पानीले आफ्नो मनको दुःखलाई भिजाइन् । त्यसरी रिसाउँदा पनि केही नलागेको देखेर दाजुबहिनीले एकआपसमा आँखा जुधाएर मौन प्रश्न गर्न थाले ।
त्यही बेला रजनीले आफ्ना दुवै हातलाई छोराछोरीको टाउकोमा राख्दै भनिन्– “मेरा प्यारा छोराछोरी ! तिमीहरूले भनेकै जस्तो मैले ख्वाउन सकिनँ । मलाई माफ गर । अर्को पटक मैले जसरी भए पनि मासुभात खुवाउँछु । अहिलेलाई मेरा ज्ञानी छोराछोरीले भोक मिठो भन्दै खाऊ । बाबा राजा, रानी राजकुमारी । मेरो राजकुमार । ल ल हेरौँ त तिमीहरूले खाएको हेर्न मन लाग्यो मलाई ।
रजनीले हाँस्दै राहुलको थाल आफूतिर तान्दै भनिन्, “अँ मैले बुझेँ, तिमीहरूलाई आज मेरो हातबाट खान मन लागेको होला हैन ?” रजनीले थालमा भात मुछ्दै फेरि भनिन्, “आफ्नो हातले खाँदा वाक्क भयो होला हगि ? आमाको हातको गाँस मुखमा राख्दा त्यत्तिकै पनि निल्न सजिलो हुन्छ ।”
साँच्चिकै, रजनीले थालको एक गाँस हातमा लिइन् र राहुलको मुखमा लग्दै भनिन्, “आँ गर छोरा ।” राहुलले नाइँ भन्न सकेन । हातको गाँस देखेपछि उसले आँ आँ आँ गर्यो । रजनीले राहुललाई सानो हुँदा यसरी नै ख्वाएको याद आयो । राहुलले पनि आमाको हातबाट खाएको मामको स्वाद हिजो अस्तिको भन्दा मिठो मान्यो ।
उसले मुखभित्रको माम चपाउँदै आमालाई हेर्न थाल्यो । त्यो बेला आमा उसका लागि स्वर्गकी परी जस्तै लागेको थियो । छोराछोरीले जे भने पनि मुस्कुराइरहने देवी जस्तै लाग्यो । कहिल्यै नरिसाउने, सधैँ काम मात्रै गरिरहने देवी जस्तै लाग्यो । सधैँ उनीहरूको मात्र चिन्ता गर्ने परी जस्तै लाग्यो ।
यही कल्पना गर्दै उसको आँखामा आँसु टल्पलाउन थाल्यो । आँसु आमाले देख्लिन् भनेर उसले टाउको अर्कातिर फर्कायो । रजनीले प्यारो छोराको आँखामा आँसु देखिसकेकी थिइन् तर तिनले थाहा नपाएको जस्तै गरिन् र भनिन्, “अब एकचोटि आँ गर छोरा ।”
तिनले छोराको चिउँडो समातेर आफूतिर फर्काउँदै भनिन्, “छोरा । मेरो हातको माम मिठो लागेन ?” राहुलले केही बोल्न सकेन । उसले मात्र मिठो छ भनेर सोधेको जवाफमा टाउको हल्लायो र मुख भित्र रहेको माम निल्यो ।
यो सबै दृश्य उसकी बहिनी सपनाले हेरिरहेकी थिई । सपनाले पनि आफ्ना दुवै हात चलाउँदै नाइँ नाइँमा भन्न थालिन्, “मलाई पनि ख्वाउनु होस्, दादालाई मात्र ख्वाएर हुँदैन ।”
यो सुनेर राहुलले भन्यो, “काली । आमाले तिमीलाई चाहिँ ख्वाउनु हुन्न र ?”
रजनीले दुवैको कुरा सुनेर हाँस्दै भनिन्, “मेरा लागि तिमीहरू दुवै जना दुवै आँखाका नानी जस्तै हौ । तिमी दुई जना नै मेरो बाँच्ने आधार हो ।” त्यसपछि दाजुबहिनी दुवैले आमालाई अँगाल्दै भने, “मेरी आमा हाम्रो शक्ति । मेरी आमा हाम्रो शक्ति ।”
रजनीले पालैपालो छोरा र छोरीलाई हातले नै माम ख्वाइन् भनिन्, “अब त तिमीहरू ठुला भइसकेका छौ । धेरै कुरा बुझ्न सक्नु पर्दछ । मैले भन्नै नपर्ने गरेर बुझ्नु पर्दछ ।” रजनीले पानीको गिलास हातमा दिँदै फेरि भनिन्, “अब पानी पिऊ र मुख चुठ्न जाऊ ।”