मकवानपुर समाचारदाता
हेटौँडा, भदौ १४ गते । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएसँगै स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक झन्डै दुई महिनामा बस्ने भएको छ । बिजिनेसविहीन अवस्थामा रहेको प्रदेश सभाको बैठक प्रमुख विपक्षी दललगायत प्रदेश सभाका सदस्यको मागपछि सोमबार बस्ने भएको हो ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सोमबार दिउँसो १ः३० बजेका लागि बैठक बस्ने समय निर्धारण गर्नुभएको जानकारी दिनुभयो ।
बागमती प्रदेशको चालु आवको बजेट गत असार २१ गते पारित भएसँगै अर्को सूचना नभएसम्मका लागि बैठक स्थागित भएको थियो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा विधेयक पेस गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
तीन वटा विधेयक दर्ता
यसैबिच प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता गराएको छ । प्रदेश सभा बिजिनेसविहीन भएका कारण बस्न नसकेको अवस्थामा प्रदेश सरकारले ऐन संशोधनका लागि र नयाँ विधेयक दर्ता गराएको हो ।
प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ । गत वर्ष असोजमा ल्याइएको प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएकोमा उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक निष्व्रिmय भएको थियो ।